अनुसा थापा


ADVERTISEMENT


काठमाडाैं – नेपाल जलस्रोतको धनी देश हो । हरेक जिल्लामा प्रशस्त खोलानाला, नदी र कुवाहरु छन् । जलस्रोतको धनी देश भएपनि हाम्रो समाज पानीको अभावले ग्रस्त छ । पानी लिनको लागि टाढाटाढा जानुपर्ने बाध्यता छ । उपत्यकामा नै पानी लिनको हप्तादिन कुर्नुपर्ने अवस्था छ ।


ADVERTISEMENT

# # #


उपत्यकामा भएको खोलानाला सबै मासिसकेको छ । मानिसहरुले खोलानाला मिचेर घर बनाएको छन् । जनसंख्या तीव्र रुपले बढेको कारण पनि फोहोर व्यवस्थापन हुन सकेको छैन । भएका जति फोहोर सबै खोलानालामा फ्याँक्ने प्रवृत्तिले गर्दा खोला  प्रदूषित बनेको छ । सरकारले २०७० सालमा देशभर बग्ने खोला र नदीनाला सफा गर्ने निर्णग गरेको थियो । जसमध्ये उपत्यकाभित्र पर्ने बाग्मती, विष्णुमती, धोबीखोला, मनोहरा परेका थिए । काठमाडौंमा मात्र नभई भक्तपुर र ललितपुरका खोलाहरु पनि सफा गर्ने निर्णय भएको थियो ।

खोला मिचेर घर बनाउने, नदीनालामा उद्योगका फोहोर ल्याएर मिसाउनेलाई कारबाही गर्ने भनिएको थियो । त्यस्तै, हरेक हप्ता प्रत्येक घरको एकजना खोला सफा गर्न जानैपर्ने नियमको पनि निर्माण भयो । चाहे त्यो सरकारी कर्मचारी वा हाकिम नै होस् सफा गर्न नजानेलाई जरिवाना गर्ने घोषणा गरेको थियो । राजनितिक पार्टीका सदस्यले पनि सरसफाइबाट पछि हट्न पाउँदैन थिए । खोला सफा गर्ने त भनियो तर यसमा पनि आर्थिक चलखेलले पिछा छोडेन । सरसफाइ गर्न गएकाहरुले जनताले तिरेको करबाटै मास्क, बुट र पञ्जा लगाए । सफा गर्न कुचो र डोकोसमेत जनताले तिरेको करबाटै ल्याइयो ।

कतिपय संघसंस्थाले पनि सो कार्यको लागि आर्थिक सहयोग गरेका थिए । हामी पनि सरसफाइ गर्छौं, देश सफा बनाउछौं भनेर प्रधानमन्त्री र राष्ट्रपतिले हाइफुइ गरे तर आखिरी नतिजा उही नै आयो । सबैले सरसफाइको नाममा पैसा कुम्ल्याउने काम मात्र गरे । भूपू प्रधानमन्त्रीदेखि लिएर भूपू राष्ट्रपतिले समेत कत्रो रबाफ छाडे । खोला सफा गर्ने भन्दैमा करौडौं जनताले तिरेको कर वालुवामा पानी मिसाए जत्तिकै भयो । जनताले तिरेको कर नसिध्यााउञ्जेल खोला सफा गरेको नाटक गरे तर उपलब्धि शून्य ।

जनताले खुट्टामा चप्पल नलगाई तिरेको कर भ्रष्टाचारीहरुले भ्रष्ट्राचार गरेर सके । खोला भने जस्ताको तस्तै । पाँच वर्षअघि बग्ने बागमती खोला अहिले पनि उस्तै छ । सेनादेखि लिएर मुख्यसचिव र स्थानीय बासिन्दाहरु हरेक हप्ताको शनिबार खोलाको वरिपरि जम्मा हुन्थे । अलिअलि फोहोर उठाउने काम पनि भयो । कति मान्छेहरुलाई खोलामा फोहोर फाल्न हुँदैन भनेर चेत पनि आइसकेको थियो । केही हदसम्म उपत्यकाका खोला हेर्न हुने भए । आफैंले सफा गर्न परेपछि कतिले खोलानालाको छेउछाउ फोहोर फाल्न बन्द गरिसकेको पनि थिए ।

नेपाल सरकारको मुख्यसचिव लिलामणि पोखरेलले २०७० साल जेठमा खोला सफा गर्ने नीति बनाएका थिए । केही महिनासम्म खोला सफा गर्ने कामले निरन्तरता पायो । खोला सफा गर्ने भन्दै अर्बौं रुपैयाँ सकियो । देशको बजेटले मात्र नपुगेर विदेशी दाताहरुसँग पनि सहयोग माग्ने काम भयो । विभिन्न संघसंस्थाले राम्रो काम हो भन्दै आर्थिक सहयोग गरे । अर्बौं रुपैयाँ बजेटमा सञ्चालित उक्त सरसफाइ कार्यक्रमले पनि केही सुधार आएन । सहयोग गरिएको हिसाबकिताब समेत जनताले देख्न पाएनन् । अर्को शब्दमा भन्ने हो भने रकम हिनामिना गरियो र हिसाबकिताब लुकाइयो ।

ककसले कमिशन खाए भन्ने कुरा जनताले थाहा पाएनन् । हामी सर्वसाधारणहरुको गैरजिम्मेवारी पुर्ण कामले गर्दा पनि आज खोलानालाको यस्तो हालत बन्यो । घरधनीले घर बनाए तर फोहोर व्यवस्थापन गर्ने ठाँउ बनाएनन् । मानिसहरु  सोखीन भएकाले खोलाहरु अभागी बनेका छन् । देशको सौन्दर्यमाथि आँच आएको छ । उपत्यका देख्दै कुरुप र घिनलाग्दो बनेको छ । खोलामा फोहोर फाल्नेलाई कारबाहीसमेत भएन । चौपायाहरुले पानी खान पाएका छैनन् । मान्छेहरुलाई समेत पिउने पानीको अभाव भइरहेको छ ।

खोलानाला सरकारको सम्पत्ति हो भने जनताको जीवन जिउने आधार हो । भूमाफियाहरुले खोला मासेर घर बनाए । एकदुई आनामा घर बनेका छन् । सरकारले फोहोर व्यवस्थापन गर्नसक्ने स्थिति छैन। अनि राजधानीको जनताको यत्रो फोहोर जाओस् कँहा ?

सरकारको कमीकमजोरी, जनताको लापरबाही अरु के नै चाहिएला ?  लाजिमपाट उत्तर ढोकाबाट जय नेपाल हल हुँदै कमलादी बग्ने खोला बागबजारको दुकुचा, भृकृटीमण्डप हुँदै बग्थ्यो । तर यी सब खोलाको अहिले नामोनिसान छैन । यी सबै खोलाहरु मिचेर घर बनिसकेको छ । जग्गा दलाली र घरधनीले गर्दा हाम्रो देशको खोलानाला सबै मासिए । खोलानाला नेपालीहरुको शान र सम्मान दुवै हो । पानीविना कुनै पनि प्राणी बाँच्न सक्दैनन्। तर पनि खोलानाला बचाउनको लागि किन उचित कदम चालिएन ? सरकारलाई यसबारे खबर त छ तर पनि सरकार काम गर्ने सुरमा आइसकेको छैन ।

काम गर्नुपर्छ, खर्च गर्नपर्छ तर त्यसको उपलब्धी पनि हासिल हुनुपर्छ । उपलब्धी बिनाको विकास केही काम छैन। अब सरकारको महत्वपूर्ण जिम्मेवारी भनेकै भएका खोलानालाको संरक्षण गर्नु हो । खोलानाला मासेर जथाभावी घर बनाउन दिदाँ भोलि त्यही खोलाले ठूलो क्षति पुर्याउन सक्छ । प्राकृतिक स्रोत साधनलाई आवश्यकता भन्दा बढी चलाउनु राम्रो होइन । किनकि भोलिका दिनमा त्यसको नतिजा पनि हामीले नै पाउने हो । खोलानाला मासेर घर बनाउनेहरुको स्थिति हामीले नै देखेका छौं ।

ठूलो वर्षा आँउदा घर बगाएर लान पनि बेर लगाउँदैन । खोलाको धार मासिएर यस्तो समस्या परिरहेको छ । पानी जाने ठाँउ नभएपछि खोला मानवीय बस्तीमा पस्छ । खोला मासेर आफू घर बनाउँछन् । गल्तीचाँहि वर्षालाई दिने ?
प्राकृतिक स्रोत साधनको सही तरिकाले उपयोग गर्दा मात्रै यसले मानवीय जीवनमा असर गर्दैन । होइन भने भन्न सकिन्न । खोलानाला मासेर व्यक्तिको नाममा जग्गा पास गरेको छन् । जति पनि खोलानाला छन् ती सबै सरकारी सम्पत्ति हुन् जुसलाई सरकारले आफ्नो नाममा ल्याउन सकेको छैन । खोला, कुवा, पार्टीपौवा राजनितिक आडबिना चलाउन सक्ने हिम्मत कसैमा छैन ।

राजनितिक पार्टीका झोलेहरुले खोलानाला सिद्धयाएर छाडे । देशको शानलाई कतैको नछोड्ने सत्यनाशीहरुलाई कानुनको दायरामा ल्याउनैपर्छ । अहिले उपत्यकामा भएका खोलानालाहरुमा पानी नै छैन । खोलाको वरिपरि मानिसहरुले फोहोरको थुप्रो लगाएको छन् । महानगरपालिकाले फोहोर व्यवस्थापन गर्न सक्दैन जनताले फोहोर लगेर खोलामा फाल्छन् । यसमा पनि खोला नै दोषी ! पदमा बसेका छन् तर काम भने थोपो पनि छैन। खोलानाला दुर्गन्धित नभएर हेर्नै नसकिने भइसकियो । बाटो हिँड्नेलाई मास्क लगाउदाँ पनि ओहोरदोहोर गर्न धौधौ छ ।
भक्तपुर