हरिकृष्ण खतिवडा ‘अपरुष’


ADVERTISEMENT


आँखा शरीरधारी प्राणीको एक शक्तिशाली अंगका रुपमा परिचित भए पनि यसको रक्षा र सुरक्षाका कुरा बहुआायामिक रहिआएको छ ।


ADVERTISEMENT

# # #


धेरै पहिलेको कुरा हो । मेरो एकजना साथीको आँखामा समस्या आएको थियो । आँखामा समस्या देखिएपछि जाँच गर्नु अनिवार्य थियो । तिनताका हामी सात -आठ कक्षामा पढ्दै थियौं । सानै उमेरमा आँखामा अलि बढी नै समस्या आएपछि मेरो साथीले आँखा जाँच गरेको थियो । उसले अब चस्मा लगाउनुपर्ने भएछ । डाक्टरले आँखा जाँच गर्दैगर्दा लामो टुप्पी पालेका मेरो साथीलाई सोधेछन्, ‘तपाईं माछामासु खानुहुन्छ कि खानुहुन्न ?’

मेरो साथीको उत्तर थियो, ‘खाँदिन ।’

डाक्टरले भनेछन्, ‘ठिक छ तपाईं माछामासु खानुहुन्न हिंसा गर्नुहुन्न । तर, तपाईंले आफ्नै इन्द्रियको हिंसा गर्नुभयो ।’

यो कुरा सुन्दा सामान्य लागे पनि तर्कचाँहि गम्भीर लाग्यो । हिंसा प्रतिहिंसा त हामीले आफ्नै शरीरमाथि पनि त गरिरहेका हुन्छौं । अहिंसाको मार्गमा हिंड्नेहरुले पनि आफ्नो शरीरका अंगहरुमाथि हिंसा गरिरहेका छन् । यसलाई खोतल्दै जाने हो भने हिंसाका परिभाषाहरु पनि पल्टिन सक्छन् । प्राणी हिंसा नगर्नुमात्र हिंसा नभएर आफ्नै शरीरमाथि कुनै कुराले बलपूर्वक सजाय गर्नु पनि हिंसा नै हुन आउँछ ।  यति हुँदा हुँदै पनि तर्क र व्यवहारको पाटो भने फरक छ ।

साथीले हामीलाई यो कुरा सुनाउँदा मलाई के लागेको थियो भने डाक्टरले साह्रै गम्भीर कुरा भनेका हुन् । यिनी सामान्य डाक्टरचाँहि होइनन् । तर्कमा दम थियो ।  माछामासु नखानु निश्चय पनि अहिंसा हो । तर, आँखालाई जबरजस्ती तनाव दिनुचाँहि आफ्नै इन्द्रियको हिंसा जरुर थियो । डाक्टरले आँखामा चस्मा पहिराउँदै तपाईं हिंसावादी हो है भनेर उसलाई आँखाको रक्षा गर्न  अर्थ्याए ।

तिनताक किसोर अवस्थामा रहेको मेरो मगजमा यो कुराले बढो प्रभाव पारेको थियो । यो कुरालाई मैले पछिसम्म दिमागमा राखिराखें । हाल  फेरि त्यही कुरा धेरैपछि सम्झिँदै गर्दा अनेक तर्कहरु आए । हिंसा, प्रतिहिंसा, आँखा, इन्द्रिय डाक्टर, साथी, तर्क र व्यवहार शब्दहरु एकपछि अर्को नााचिरहे । डाक्टरलाई साथीले मांसाहार गर्नु नगर्नुसँग कुनै मतलब थियो त ? निश्चय पनि थिएन । यो त उसको सम्झाउने तरिका थियो । उसले  साथीलाई मांसाहार गर्न उक्साएको  पनि त होइन । यो एक सम्झाउने रीति मात्र नै हो ।

मलााई अहिले लाग्छ के अरु सामान्य मान्छेलाई पनि डाक्टरको यही उत्तर हुने थियो त ? डाक्टरले आँखा जँचाउन दैनिक आउने भीडलाई एकै किसिमको उत्तर त निश्चय पनि दिँदैनन् होला !

मलाई आज लाग्छ, यदि त्यसबेला मेरो साथीले माछामासु खान्छु भनेको थियो भने डाक्टरको उत्तर हुने थियो, ‘ठिक छ तपाईंले माछामासु त खानुभयो । एकतिरको हिंसाले नपुगेर तपाईंले आफ्नै इन्द्रियको पनि हिंसा गर्न थाल्नुभयो ?’

यो उत्तर पनि त त्यत्तिकै सान्दर्भिक हुने थियो ।

यदि कुनै ब्रह्मचारी उसकहाँ आँखा जाँच गर्न आउँदथ्यो भने उसको उत्तर हुने थियो, ‘तपाईंले आफ्नो जननेन्द्रियलाई पनि जबरजस्ती दबाउनु भयो । त्यतिले पनि नपुगेर अब चक्षुरिन्द्रियलाई पनि दबाब दिन सुरु गर्नुभयो ? तपाईं आफ्नै इन्द्रियहरुलाई दबाब दिएर कस्तो धर्म आर्जन गर्नुहोला ?’

ब्रत, दबाब, जननेन्द्रिय, चक्षुरिन्द्रिय र धर्म  यी डाक्टरले सँधै प्रयोग गर्ने शब्दहरु पक्कै होइनन् । यी त ब्रह्मचारीका प्रयोगमा आउने शब्द हुन् ।

यदि कुनै सन्यासी उसँग आँखा जँचाउन आउँदथ्यो भने उसको उत्तर सायद यस्तो हुने थियो, ‘तपाईंले संसारका सबै सुखहरुलाई तिलाञ्जली दिएर जीवन र जगतलाई त निरस बनाउनुभएकै थियो, अब आफ्नो आँखा पनि देख्न नसक्ने भएर परजीवी भएर बाँच्ने इच्छा छ ? तपाईंको ब्रतको अर्थ डामाडोल भएन र ?’

संसार, सुख, तिलाञ्जली, परजीवी, निरस, जीवन र जगत सायद् डाक्टर सन्यासीलाई सन्यासीकै भाषामा सम्झाउन चाहन्छन् ।

यदि कुनै हिरोइन उसकहाँ आँखा जँचाउन आउँदथिन् भने सायद् डाक्टरले भन्ने थिए, ‘तपाईंले जीवनमा रङ्गीन  चमकधमकको दृश्य क्यामेरामा कैद भए नएका यसरी चाख्नुभयो कि सायद् भविष्यमा अब तपाईंको आँखाको पर्दाले कुनै पनि रङ्गीन चमकधमक देख्न नपरोस् । तपाईं ब्ल्याक एन्ड ह्वाइट दृश्यमा पुग्ने बेला भयो ।  तपाईंको आँखाले देख्नुपर्ने चमकधमक सायद् सबै देखिसकेको छ र अब यो चल चित्रमय हुँदैन ।’

ब्ल्याक एन्ड ह्वाइट एन्ड ह्वाइट, रङ्गीन, क्यामेरा, पर्दा  चमकधमक, दृश्य यी चलचित्रकर्मीका शब्दहरु डाक्टरले सापटी लिए होला ।

आजकलका साना नानीहरु जो ग्याजेटहरुमा भुल्दा आँखाका ज्योति गुम्ने अवस्थामा पुगेका छन् उनीहरुलाई सायद् डाक्टरको उत्तर यस्तो हुनेथियो, ‘तिमीले दुश्मनसँग पार्टनरसिप गर्यौ । भिडियो, कार्टुन र गेम यी तिम्रा दुश्मनका गोलीहरु हुन् ।  तिमी ग्याजेटको लतबाट आँखा त गुमाउने अवस्थामा पुगिसकेका छौ अब छिटै तिम्रा आँखाले ग्याजेट मात्र होइन संसार नै देख्न बिर्सनेछ ।’

दुश्मन, पार्टनरसिप, भिडियो, कार्टुन, ग्याजेट र गेम यी मोबाइलका कुरा होलान् ।

कुनै चर्चको पादरी आँखा गुम्ने अवस्थामा पुग्दा सायद् डाक्टरको उत्तर हुने थियो, ‘प्रभू परमात्मा ईश्वरले एकपटक मात्र आँखा प्रसादकारुपमा दिन्छन् । पादरीजी ! तपाईंले बाइबल पढ्नुभएन ? प्रभूले दिएको प्रसादको पनि यति अपहेलना गर्ने ? तपाईंलाई ईश्वरले माफ गर्लान् ?’

प्रभू, परमात्मा, ईश्वर, प्रसाद, बाइबल, अपहेलना र माफ सायद् यी पादरीका भाषा हुनन् ।