चितवन– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेको महाधिवेशन चितवनमा हुने भएपछि विपक्ष पार्टीले  अब प्रचण्ड भाग्छ र कालीकोट या बर्दिया जान्छ भन्ने भित्रभित्रै प्रचार गरिएको बताएका छन् ।


ADVERTISEMENT


उम्क्त भनाईको खण्डन गर्दे उनले  माओवादीले नै देशको भविष्य निर्माण गर्ने भएकाले आफू कतै पनि नभाग्ने बताएका छन् ।


ADVERTISEMENT

# # #


माओवादी केन्द्र भरतपुर महानगर समितिले आज यहाँ आयोजना गरेको चियापान एवं शुभकामना आदानप्रदान कार्यक्रममा सो भाव व्यक्त गरेका हुन् ।

उक्त कार्यक्रममा बोल्दै उनले भने, ‘तपाईहरुलाई अब माओवादी सिद्धियो–सिद्धियो भन्ने लाग्यो होला । तर, त्यस्तो होइन फेरि एक पटक माओवादी पार्टीनै यो देशको भविष्य निर्माता बनेर आउँछ ।’ माओवादीले मात्र देशको रक्षा र जनताको हितमा काम गर्ने उनको भनाइ छ ।

आगामी आमनिर्वाचनबाट माओवादी देशको नेतृत्व गर्ने पार्टीको रुपमा आउने भन्दै उनले सबै कार्यकर्तालाई हृदयदेखि सहयोग गर्न आग्रह गर्दै उनले भने, ‘म त हाम फालेकै छु हाम फालिराख्छु । तपाईहरु लाग्नुस् ।’

उनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको टिप्पणीप्रति इङ्गित गर्दै भने, ‘प्रचण्ड भाग्छ भनेर आत्मरतिमा नरमाउनुस् । मैले अस्ति यहाँ आएर भनिसकेको छु, म कतै जान्न अब । म चितवन छोड्दिन र विकासका काममा थाक्दिन पनि’ दोहोर्‍याउँदै उनले भने ।

माओवादी सरकारमा हुँदा वा नहुँदा जुनसुकै समयमा पनि जनताकै बीचमा रहेर जनअपेक्षाअनुसार काम गरेको उनको दाबी छ । उनले आफू राजनीति र जनताको कामबाट नथाक्ने र कहिल्यै नभाग्ने एवम् आफू चितवनबाट कतै नभाग्ने प्रतिबद्धता समेत जनाएका छन् ।

माओवादी केन्द्रका महानगर इञ्चार्ज रेनु दाहालको अध्यक्षमा सम्पन्न कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी केन्द्रमा प्रवेश गर्नेलाई अध्यक्ष दाहालले स्वागत गरेका थिए । रासस