चितवन – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले ओली प्रवृत्तिलाई निरङ्कुश प्रतिगमनकारी प्रवृत्तिको संज्ञा दिएका छन् ।


ADVERTISEMENT


हिजो शुक्रवार चितवनमा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले ओली प्रवृत्तिलाई निरङ्कुश प्रतिगमनकारी प्रवृत्तिको संज्ञा दिएका हुन् । उनले ओली प्रवृत्ति नेपाल र नेपाली नागरिकका लागि घातक हो भन्ने कुरा स्थापित भएपछि नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली बालुवाटारबाट बालकोट जानुपरेको बताए ।


ADVERTISEMENT

# # #


अध्यक्ष दाहालले ओली बालुवाटारबाट बालकोट जानु भनेको ठूलो पराजय भएको बताए । अध्यक्ष दाहालले मातम  छाएको नदेखाउनका लागि नै मलामी जाँदा बाजा बजाएर नाच्दै गाउँदै गएको आरोप लगाए । उनले ओली प्रवृत्तिलाई मलामी जाँदा हाँस्ने प्रवृत्ति भएको तर्क गरे ।

अध्यक्ष दाहालले भने, ‘ओली प्रवृत्ति भनेको एउटा निरङ्कुश, एकाधिकार, प्रतिगमनकारी प्रवृत्ति हो । नेपाल र नेपाली नागरिकका निम्ति घातक प्रवृत्ति हो भन्ने कुरा स्थापित भयो, स्थापित भएपछि ओली बालुवाटारबाट बालकोट जानुपर्ने बाध्यता आइलाग्यो, तर विचित्रको प्रवृत्ति भएको हुनाले बालुवाटारबाट बालकोट जानु भनेको वास्तवमा ठूलो पराजय हो, मातम छाएको हो, त्यो नदेखाउन, बाजा बजाएर मलामी जाँदा नाच्दै गाउँदै गए, कोही मान्छे मलामी जाँदा नाच्छ गाउँछ भने त्यो ओली हो ।’

अध्यक्ष दाहालले राजनीतिलाई स्थिरता दिनुपर्ने बेलामा ओली प्रवृत्तिले त्यो हुन नदिएको बताए । समाज र देश विकासका लागि वाम गठबन्धन भए पनि त्योअनुसार काम हुन नसकेको बताउँदै अध्यक्ष दाहालले भने, ‘देशको राजनीति विशिष्ट अवस्थामा छ, मैले चितवनबाट चुनावमा प्रतिस्पर्धा गर्दै गर्दा र पार्टीको तर्फबाट यहाँको नागरिकलाई सम्बोधन गर्दै गर्दा, सकारात्मक परिस्थिति थियो । संविधान बनिसकेपछि, राजनीतिक अस्थिरतालाई हटाउन, समाज र विकासको उद्देश्यका साथ वाम गठबन्धनबाट चुनाव लडिएको थियो, कम्युनिस्टहरूलाई एकताबद्ध गर्ने उद्देश्य राखिएको थियो, त्यसले चितवन जिल्ला र देशभर नै सम्पूर्ण वामपन्थी र जनवादी शक्तिहरूमा नागरिकबाट प्राप्त भएको थियो ।’

अध्यक्ष दाहालले राजनीतिक अस्थिरता देशले थेग्न सक्दैन भनेर स्थिरताको प्रस्ताव गर्दा ओली प्रवृत्तिले सफल बनाउन नदिएको आरोप लगाए ।