काठमाडौं– राष्ट्रिय सुस्त मनस्थिति कल्याण संघको २४ औं केन्द्रीय सभाले लम्बोदर कायस्थको अध्यक्षतामा १२ सदस्यीय कार्य समिति सर्वसम्मतिले चयन गरेको छ ।


ADVERTISEMENT


शनिवार काठमाडौंमा भएको केन्द्रीय सभापछि भएको निर्वाचनमा सर्वसम्मति जुटेको नवनिर्वाचित महासचिव रविन्द्र केसीले जानकारी दिएका हुन् ।


ADVERTISEMENT

# # #


कायस्थको नेतृत्व रहेको नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा निर्मलकुमार श्रेष्ठ, महासचिवमा रविन्द्र के.सी कोषाध्यक्षमा उर्गादेवी श्रेष्ठ, सचिवमा अगमकुमार पालिखे र सहकोषाध्यक्षमा विष्णुबहादुर श्रेष्ठ चयन भएका छन् । त्यस्तै सदस्यहरुमा संझना श्रेष्ठ,विश्वनाथ ओझा,गोपालप्रसाद निरौला,सपना बादे, राम श्रेष्ठ र निवर्तमान अध्यक्ष मुक्तिनाथ अधिकारी रहेका छन् ।

नवनिर्वाचित अध्यक्ष कायस्थले शनिवार नै जिम्मेवारी सम्हाल्दै सुस्त मनस्थितिका नागरिकहरुको कल्याणको विषय राज्यको प्राथमिकतामा पर्न नसकेको बताएका छन् । उनले आफ्ना कुराहरु अभिव्यक्त गर्न नसक्ने यो समूहको कल्याणको लागि गैरसरकारी पहलमात्र पर्याप्त नभएकोउल्लेख गरे । कायस्थले दिवा विद्यालयको गुणस्तर सुधार गर्नुपर्ने, छात्रवृत्ति रकम बढाउनुपर्ने र विशेष भत्ताको व्यवस्था गर्नुपर्ने आवश्यकतातर्फ समेत औल्याएका रहेका छन् ।

जिम्मेवारी हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका निवर्तमान अध्यक्ष मुक्तिनाथ अधिकारीले बौद्धिक अपांगताको क्षेत्रमा थुप्रै सुधारका कार्यक्रम गर्नुपर्ने खाँचो रहेको उल्लेख गरे । उनले संस्थासंग उचित कार्यक्रमहरु रहेको भए पनि दीगो आर्थिक स्रोतको जोहो हुन नसक्दा ती कार्यक्रमहरु सञ्चालन गर्न कठिनाई भएको बताए ।

उनले आफ्नो कार्यकालमा २०७६ सालमा नेपालमा एशियाली सुस्त मनस्थिति महासंघको २४ औं सम्मेलन सफलतापूर्वक आयोजना गरी सीमित स्रोत र साधनका बीचमा थालिएका बौद्धिक अपांग नागरिकहरुको कल्याणका कार्यक्रमप्रति एशियाली राष्ट्रको ध्यानाकर्षण गर्न सफल भएको पनि उल्लेख गरे ।

उनकै कार्यकालमा सुस्त मनःस्थिति भएका छात्रछात्राहरुलाई विशेष शिक्षा तथा तालिमको अलावा कृषिमा आधारित पशुपालन कार्यक्रममा प्रोत्साहित गर्न थालिएको टेवा कार्यक्रमलाई एशियाली स्रोत केन्द्र जापानले काओरु स्टार राफ्ट अवार्ड प्रदान गरेको थियो ।

२०४० सालमा स्थापित सुस्त मनः स्थिति कल्याण संघले देशका २६ जिल्लाहरुमा ३७ वटा विशेष विद्यालय, श्रोत केन्द्र, जनचेतना,सीप तथा आयमूलक व्यवसायिक कार्यक्रम,तालिम र पारिवारिक परामर्श केन्द्रमार्फत झण्डै १० हजार ५ सय जना बौद्धिक अपांगता भएका व्यक्तिहरुलाई सेवा पुर्‍याउँदै आएको छ ।

आयोडिनको कमी, अस्वस्थ्यकर बच्चाको जन्म, कुपोषण,चोटपटक, अज्ञानता र गरिबीका कारण नेपालका सुस्तमनस्थिति (बौद्धिक अपाङ्गता) देखा परेको बताइन्छ ।

केन्द्रीय सभाले हाल भैरहेको जनगणनामा बौद्धिक अपांगता भएका नागरिकहरुको यथार्थ विवरण संकलन गर्न सरकारसंग अनुरोध गर्ने निर्णयसमेत गरेको छ । यस्तै, केन्द्रीय सभाको उद्घाटन राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. दिनेशचन्द्र देवकोटा र बौद्धिक अपाङ्ग सिम्रिका लामाले संयुक्त रुपमा गरेका थिए ।

आफ्नो समुद्घाटन मन्तव्यमा प्रमुख अतिथि देवकोटाले बौद्धिक अपांगता भएका नागरिकहरुको कल्याण गर्ने संस्थाहरुलाई सरकारले नै नियमित बजेट बिनियोजन गरी सहयोग गर्न आवश्यक भएको बताएका थिए । उनले बौद्धिक अपांगता भएका व्यक्तिहरुले परिवारबाट पाउने पैतृक सम्पति पनि ट्रष्ट बनाएर राखी तिनको कल्याणमा लगाउनु उचित हुने धारणा व्यक्त गरे ।

उनीहरुको अंश अन्य दाजुभाइबाट सुरक्षित गरी संबन्धित व्यक्तिले नै उपयोग र उपभोग गर्ने अवस्था सिर्जना गर्न पनि आवश्यक भएको उनले बताएका छन् । संस्थाको केन्द्रीय सभाले महासचिवको प्रतिवेदन र भावि कार्यक्रमहरु पनि पारित गरेको छ ।