काठमाडौँ– ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकहरुलाई कारबाही गर्ने क्रममा आर्थिक प्रलोभनमा पार्न खोज्ने सवारी चालकहरुलाई कानुनी दायरामा ल्याउने ३३ जना ट्राफिक प्रहरी आज सम्मानित भएका छन् ।


ADVERTISEMENT


महानगरीय ट्राफिक प्रहरी महाशाखाले ति ट्राफिक प्रहरीलाई आज एक कार्यक्रमबीच पुरस्कृत एवं खादा ओढाएर सम्मान गरेको हो ।


ADVERTISEMENT

# # #


सम्मानित हुनेहरु मध्ये २० जना ट्राफिक प्रहरीलाई नगद सहित बृद्धि विकासमा सहयोग पुग्ने गरि रेकर्डमा जनिने पुरस्कार दिइएको छ भने अन्यलाई खादा ओढाएर प्रशंसापत्र सहित सम्मान गरेको महाशाखाले जनाएको छ ।

यस्तो कार्यले अन्य ट्राफिक प्रहरी कर्मचारीहरूमा समेत सकारात्मक उत्प्रेरणा जगाउने, अझ बढी जिम्मेवार तथा कामप्रति उत्तरदायी बनाउने महाशाखाको विश्वास छ ।

प्रहरी सङ्गठनले अख्तियार गरेको आर्थिक शून्य सहनशीलतालाई अक्षरशः पालना गर्न विगतदेखि नै महाशाखाले उक्त अभियान चलाएको छ । प्रलोभनमा पार्न खोज्ने चालकलाई कानुनअनुसार मुद्दा चलाइएको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए । पुरस्कृत हुने ट्राफिक प्रहरीले प्रलोभनमा पार्न खोज्ने ३२ जना चालकहरुलाई पक्राउ गरि कारबाहीको दायरामा ल्याएको एसएसपी भट्टराईको भनाई छ ।

उनले प्रहरी संगठनले अख्तियार गरेको आर्थिक शुद्धिकरणको अभियानलाई थप उचाईमा पुर्‍याउन बफादार एव निष्ठावाट भइ आफ्नो जिम्मेवारी निर्बाह गरेकोमा धन्यबाद व्यक्त गर्दै थप शसक्त भई कर्तब्य पालनामा अग्रसर हुन शुभकामना सहित निर्देशन समेत दिएका छन् । त्यस्ता खराब प्रवृत्ति बोकेका, घुस दिन खोज्ने चालकहरुलाई दैनिक जसो पक्राउ गर्दै आएको छ, त्यस्ता चालकहरुलाई कुनै पनि बाहानामा छुट नहुने बरु यसलाई अझै कडाईको साथ लग्दै जाने उनले प्रतिबद्धता जनाएका छन् ।

गत आ.व.मा आर्थिक प्रलोभनमा पार्न खोज्ने १६६ जना सवारी चालकहरुलाई पक्राउ गरि कानूनी दायरामा ल्याउने ११३ जना प्रहरी कर्मचारीलाई महाशाखाले पुरस्कार एव प्रशंसापत्रद्वारा सम्मान गरेको थियो । सोही अभियानलाई थप प्रभावकारी बनाई चालु आ.व.को छ महिनामा १०९ जना चालकहरुलाई पक्राउ गर्ने ८३ जना ट्राफिक प्रहरीलाई पुरस्कार एव प्रशंसापत्रद्वारा सम्मान गरेको महाशाखाले जनाएको छ ।