काठमाण्डौं-बहुप्रतिक्षित अमलेखगञ्ज–रक्सौल पेट्रोलियम पाइपलाइनको निर्माण कार्य आगामी जनवरीबाट सुरु हुने भएको छ । डिसेम्बर देखि पाइपलाइनका लागि आवश्यक सामाग्री भारतबाट ल्याइने र जनवरीबाट पाइप बिछ्याउने कार्य सुरु हुने नेपाल आयल निगमका प्रवक्ता विरेन्द्र गोइतले बताए ।


ADVERTISEMENT


निगमका अनुसार पाइपलाइन बिछ्याउन भारतीय ओयल कर्पोरेशन आइओसीले सम्पूर्ण तयारी गरीसकेको छ भने पाइपका लागि टेण्डर आह्वान गरेर कम्पनी समेत छनौट भइसकेको छ । यसअघि हिजो नेपाल आयल निगम र आईओसी पाइपलाइनका निर्देशक अनिश अग्रवाल नेतृत्वको टोलीले पाइपलाइन निर्माण स्थलको निरीक्षण गरेको थियो ।


ADVERTISEMENT

# # #


टोलीले त्यस क्षेत्रमा भइरहेको सडक विस्तारले पाइपलाइन बिछ्याउन सहज हुने भए पनि वरपरका ३ सय २४ घरटहरा भत्काउनुपर्ने, विद्युत खम्बा तथा ट्रान्सफर्मर हटाउनुपर्ने निष्कर्ष निकालेको छ । सो बारे स्थानीय प्रशासनसँग छलफल गरी छिट्टै काम अघि बढाउने प्रवक्ता गोइतले बताए ।

तीन दिने भ्रमणका लागि बिहिबार नेपाल आएको आइओसीको टोलीले निगमका पदाधिकारीसँग सो आयोजनाका विविध पक्षका बारेमा छलफल समेत गरेको थियो । आयोजना निर्माण पछि प्रतिघण्टा २ लाख लिटर इन्धन अमलेखगञ्जको डिपोमा ल्याउने निगमको लक्ष्य छ ।

यसअघि रक्सौल–अमलेखगञ्जसम्म ४१ किलोमिटर तय गरिएको पाइपलाइन निर्माण क्षेत्र अहिले भने बिहारको मोतिहारी देखि अमलेखगञ्जसम्मको ६८ दशमलव ९६ किलोमिटर निर्माण क्षेत्र तोकिएको छ । ४ अर्ब ४० करोड रूपैयाँ लागत अनुमान गरिएको आयोजनामा ३ अर्ब २० करोड रूपैयाँ भारत सरकारले बेहोर्ने छ भने बाँकी १ अर्ब २० करोड रूपैयाँ नेपालले बेहोर्ने निगमले जनाएको छ ।