काठमाडौं – जसपा संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले नेपालमा विकास नहोस् भन्ने तत्वहरुले  एमसीसीबारे भ्रम छरेको बताएका छन् । भट्टराईले नेपालका कतिपय नेता र भारत र चीनले नेपालमा एमसीसीबारे नचाहिँदो हल्ला फिँजाएको पनि आरोप लगाएका छन् ।


ADVERTISEMENT


गोरखाका जनताले एमसीसीबारे प्रश्न गर्दा भट्टराईले  यस्तो बताएका हुन् । जसपाको सुज (पार्टी संगठन सुदृढीकरण तथा जनपरिचालन) अभियान लिएर गोरखा गण्डकी गाउँपालिकाका वडा ३ र ८ नम्बर पुगेका बेला बाबुरामले जनताको जिज्ञासाको जवाफ दिँदै एमसीसीबारे विकासका विरोधीहरुले अनावश्यक भ्रम छरेको ‌औंल्याए।


ADVERTISEMENT

# # #


संसदमा उठेका एमसीसीबारे पक्षविपक्षका सवालरजवाफलाई उदाहरण दिँदै उनीसँग गण्डकी गाउँपालिकाका जनताले ‘एमसीसी पास गरे देश खान्छ भन्छन् के हो’ भनेर सोधेको बाबुरामको सचिवालयले जनाएको छ।

जबाफमा भट्टराईले  यसमा भारत र चीनसमेत भ्रम छर्न लागेको आरोप लगाए । एमसीसी सहयोग लिएर देश विकास गर्नुपर्ने उनको तर्क थियो ।

उनले एमसीसीबारे शंका नगर्नसमेत आग्रह गरे। एमसीसी पास गरे यहाँ अमेरिकी सेना नेपाल आउँछ, नेपाल खान्छ भन्छन् । यी सबै भ्रम हुन् । के त्यस्तो भए, नेपाली सुरक्षाकर्मी के हेरेर बस्छ ?  हामी चुप लागेर बस्दैनौं नि, पूर्वप्रधानमन्त्रीसमेत रहेका बाबुरामले भने, ‘अहिले त हामी सहयोग लिने हो, विकास र समृद्धिमा लाग्ने हो, अहिले कसैसँग निहुँ खोज्ने अवस्थामा हामी छैनौं । पहिले हामी बलियो बन्ने हो अनि पो कसैले हेप्न सक्दैन। अहिले एउटाले सहयोग दिन लाग्दा अर्को देशले भ्रम छर्ने काम गरेको छ, यो गलत काम हो,’

सुज अभियानको पहिलो दिनमै भट्टराईले आफू भोट माग्न नभई जनताको वास्तविकता हेर्न र समस्या समाधानको पहल गर्न घर–घरमा आएको स्पष्टीकरण दिए । उनले सही राजनीति नभएसम्म देश नबन्ने ठोकुवासमेत गरे ।

अहिलेको राजनीतिक पार्टी र नेतृत्वले देशको विकास हुन नसक्ने उनको दाबी थियो । तत्कालीन एमाले र माओवादी मिलेर बनेको नेकपा  विभाजनलाई उदाहरण दिएर भट्टराईले पुरानो पार्टीबाट अब विकास र समृद्धि सम्भव नहुने विश्लेषण गरे। साम्यवादको अमूर्त कुरालाई छाडेर सबै राजनीतिक पार्टीलाई समाजवादी धारमा लाग्नसमेत उनले आग्रह गरे। ’पुराना पार्टीबाट देशको विकास र समृद्धि सम्भव छैन । विकासको लागि सबैभन्दा पहिले राजनीति ठीक ठाउँमा आउनुपर्छ,’ भेटघाटको क्रममा उनले भने, ’जात र गोत्र त परिवर्तन हुन्छ । विकासको लागि पुरानै पार्टीमा बस्नुपर्छ भन्ने छैन। हाम्रो सोच बदल्न जरुरी छ।’