काठमाडौँ – भारत भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेसँग भेटवार्ता गरेका छन् ।


ADVERTISEMENT


भेटमा आपसी हित र पारस्परिक सम्बन्धका विषयमा द्विपक्षीय कुराकानी भएको बताइएको छ । उक्त छलफलपश्चात प्रधान सेनापति महारथी शर्मालाई “भारतको सुरक्षा दृष्टिकोण” को बारेमा प्रस्तुतिकरण समेत गरीएको थियो ।


ADVERTISEMENT

# # #


त्यसअघि उनले राष्ट्रिय समर स्मारकमा वीर शहिदहरुको सम्मानमा पुष्प गुच्छा अर्पण गरे । त्यसै गरी उनको सम्मानमा ‘साउथ ब्लक लाउन’ मा भारतीय सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

नरवणेको निमन्त्रणामा भारतको चार दिवसीय औपचारिक भ्रमणका लागि प्रधानसेनापति शर्मा मंगलबार अपरान्ह नेपाली सेनाको जहाजमार्फत नयाँ दिल्ली प्रस्थान गरेका थिए ।

प्रधानसेनापतिको नियुक्ति भएपछिको उनको यो पहिलो विदेश भ्रमण हो । प्रधानसेनापति शर्मालाई भारतका राष्ट्रपति रामनाथ कोविन्दबाट भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दज्र्यानी चिह्नबाट सुशोभन गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रधानसेनापतिको भ्रमण दल श्रीमती सुनिता शर्मासहित नौ सदस्यीय रहेको छ । महारथी शर्मा यही कात्तिक २६ गते स्वदेश फर्किने छन् ।

तस्बिर : नेपाली सेना