काठमाडौँ– नेकपा (एमाले)ले आगामी मङ्सिर १० देखि १२ गतेसम्म हुने दशौँ राष्ट्रिय महाधिवेशनका लागि लाग्ने खर्च पार्टीका सङ्गठित सदस्यबाट उठाउने भएको छ ।
एमालेले पार्टी सङ्ठगित सदस्यबाट न्यूनतम एक सय रुपैँया लेबी उठाउने भएको हो ।
एमाले कार्यालय सचिव शेरबहादुर तामाङ्ले महाधिवेशनमा लाग्ने खर्च पार्टी सङ्गठित सदस्यबाट न्यूनतम १०० रुपैयाँका दरले उठाइने जानकारी दिए । ‘महाधिवेशनमा लाग्ने खर्च यसपटक हामीले पार्टीका नेता तथा कार्यकर्ताबाट उठाउने निर्णय गरेका छौ’, उनले भने, ‘सङ्गठित सदस्यबाट न्यूनतम १०० रुपैयाँ र स्वैच्छिक १०० भन्दा बढी जति पनि दिन पाउने गरी सङ्गठित सदस्यबाट पैसा उठाउँछौ ।’ एमालेका करिब सात लाख ३० हजार पार्टीका सङ्गठित सदस्य रहेको बताइएको छ ।
पार्टी मातहतका सबै कमिटीलाई सर्कुलर जारी गर्दै बैंकमा पैसा जम्मा गर्न लगाइने सचिव तामाङले बताए । एमालेको महाधिवेशन आगामी मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । पार्टीले स्वतः हुने प्रतिनिधिबाट रु तीन हजार र निर्वाचनबाट छनोट गरिने प्रतिनिधिबाट दुई हजार रुपैँयाका दरले महाधिवेशन शुल्क तोकेको छ । रासस