पाल्पा- ढाका कपडाको राजधानीका रूपमा जिल्लालाई विकास गर्न सरोकारवाला निकायसँग छलफल थालिएको छ ।


ADVERTISEMENT


पाल्पाली ढाका सङ्घले ढाकाको राजधानीका रूपमा विकास गर्न लुम्बिनी प्रदेशका मन्त्री, प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख तथा प्रतिनिधिसँग छलफल जुटेको हो । तानद्वारा उत्पादित ढाका कपडा ब्रान्डिङ गरी पछिल्लो समय बजार पठाउन थालिएको हो ।


ADVERTISEMENT

# # #


कार्यक्रममा ढाका कपडाको गुणस्तर कायम गर्न मापदण्डअनुसार उत्पादन गर्नुपर्ने सरोकारवाला निकायको धारणा थियो । प्रदेशका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वीरबहादुर रानाले लुम्बिनी प्रदेशको पहिचानकै रूपमा ढाका कपडालाई विकास गरी स्वरोजगार तथा रोजगारका अवसर सिर्जना गर्न सकिने बताए ।

उनले भने, ‘ढाका कपडा मागअनुसार आपूर्ति हुन सकिरहेको छैन , यसतर्फ सङ्घको ध्यान जानुपर्छ ।’ प्रदेशका कानुन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रमा घर्तीले महिलाको सीप विकास गरी उद्यमशीलता विकासमा प्रदेश सरकारले सहयोग गर्ने जनाए । महिला आर्थिक, सामाजिक रूपमा सक्षम भएमा सुखी परिवार निर्माण हुने भएकाले महिलाहरूलाई उद्यमशील बनाउन आवश्यक रहेको उनले बताए ।

श्रम रोजगार तथा यातायात व्यवस्थामन्त्री पूमर्ती ढेगाले पाल्पाली ढाकाको विकासका लागि आफूले पहल गर्ने जानकारी दिँदै यसले जिल्लामा रोजगारीसमेत सिर्जना गरेकाले यस्ता उद्योग अझ फस्टाउन आवश्यक रहेको बताए ।

सङ्घका अध्यक्ष पूर्णमाया महर्जनले पाल्पामा वि.सं २०१५ देखि ढाका कपडाका रूपमा पहिचान बोकेको र महिला तथा विपन्न वर्गका नागरिकलाई रोजगारीसमेत दिन सफल भएको बताइन्। सचिव मनोज पौड्यालले हस्तकलाद्वारा उत्पादित ढाका कपडा उत्पादनमा वृद्धि भएको जनाए । रासस