डोटी– जिल्ला प्रशासन कार्यालयमा लामो समयदेखि दरबन्दीअनुसारका कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भएको छ ।


ADVERTISEMENT


दरबन्दीका कर्मचारी नभएका कारण पछिल्लो समय सेवाग्राही समस्या भएको दिपायल सिलगढी नगरपालिका–२ का स्थानीयवासी रमेशबहादुर नेपालीले बताउँछन् । उनी भन्छन्, ‘प्रशासनमा शाखा अधिकृत पनि छैनन्, नागरिक लिन जाँदा पनि खाली हात फर्किनुपर्ने वा दुई/तीन दिन कुर्नुपर्ने अवस्था आएको छ ।’


ADVERTISEMENT

# # #


कर्मचारी पठाउन गृह मन्त्रालयमा पटक–पटक पत्राचार गरे पनि हालसम्म कर्मचारी नपठाएकाले समस्या उत्पन्न भएको प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले जानकारी दिए । ‘तोकिएको दरबन्दीअनुसारका कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भएको छ, कर्मचारी पठाउन पत्राचार गरेका छौँ, तर अहिलेसम्म पठाएका छैनन्, सेवाग्राहीलाई समस्या भयो’, उनले भने ।

पछिल्लो समय जिप्रकाबाट नागरिकता लिने सेवाग्राहीको भीड बढेपछि कर्मचारी अभावमा सेवा प्रवाहमा दिनहुँ समस्या हुँदै आएको छ । कार्यालयमा प्रजिअसहित २१ जनाको दरबन्दी रहेकामा हाल १७ मात्र कार्यरत छन् । कार्यरत कर्मचारीमा केही कारागारमा पठाइएका कारण पनि सेवाग्राहीका काममा समस्या उत्पन्न भएको बताइएको छ ।

कार्यालयमा महिनौँयतादेखि कर्मचारी अभावले सेवाग्राहीले सास्ती झेल्न बाध्य भएको अर्का स्थानीयवासी दीर्घबहादुर केसीले जानकारी दिनुभयो । उहाँका अनुसार लामो लाइन बस्दा पनि समयमा काम नहुँदा सेवाग्राहीले सास्ती झेल्न बाध्य हुँदै आएको र खाली हात घर फर्किनुपर्ने अवस्था आएको छ । नागरिकता फाँटका एक प्रशासकीय अधिकृत, नायबसुब्बा सातमध्ये दुई र खरिदार चारमध्ये दुई तथा एक चालकको दरबन्दी महिनौँदेखि खाली रहेको छ ।

प्रशासनमा अहिले नागरिकतासहित अन्य सेवा लिन आउने सेवाग्राहीको भीड रहेको जनाइएको छ । रासस