काठमाडौं – अर्थमन्त्री जनार्दन  शर्माले दुर्गम गाउँका जग्गा पनि धितो राखेर ऋण लिन/ दिन बैंकहरुलाई निर्देशन दिएका छन् । शुक्रबार मन्त्री शर्माले बै‌कका सिइओहरुसँग अन्तर्क्रिया गर्दै यस्तो निर्देशन दिएका हुन् ।


ADVERTISEMENT


साथै मन्त्री शर्माले तरलता अभावसँग नडराउन र निडर भएर काम गर्न पनि बै‌ंकका सिइओहरुलाई निर्देशन दिएका छन् ।


ADVERTISEMENT

# # #


व्यवस्था बैंकहरूले कर्जा प्रवाह गर्दा मोटर बाटो पुगेको जग्गालाई मात्र धितोको रूपमा लिनाले गरिब किसानहरूले बैंकको ऋण नपाइरहेको मन्त्री शर्माले बताए । ‘ऋण दिन बैंकहरूलाई १० फिटे ठूलो मोटर बाटो चाहिन्छ’, उनले भने, ‘तपाईंहरू ओखर फल्ने जग्गासमेत धितो लिन मान्नुहुन्न । तपाईंहरूले कृषिमा आधारित जग्गा पनि धितो लिन सक्नुपर्‍यो ।’

ऋणीले कुन क्षेत्रमा कति लगानी गरेको छ भनेर बैंक आफैले पनि अनुगमन गर्ने र त्यसको तथ्याङ्क अद्यावधिक गर्नुपर्ने मन्त्री शर्माको भनाइ छ । बैंकहरूले ऋणीको तथ्याङ्कलाई अद्यावधिक गरेमा ऋण प्रवाहमा समेत सहज हुने उनले बताए । पछिल्लो समय बजारमा तरलता अभाव हुनुपर्ने गम्भीर र विशिष्ट कारण नभएको भन्दै मन्त्री शर्माले अहिले आत्तिनुपर्ने अवस्था नरहेको बताए । हाल देखिएको तरलतालाई अल्पकालीन रूपमा सरकारी पुँजीगत खर्च बढाउने तथा वैदेशिक स्रोतको व्यवस्थापन गरेर समाधान गर्न सकिने उनको दावी छ ।

‘उत्पादन क्षेत्रमा पुँजी परिचालन गर्नेबित्तिकै धेरै समस्या समाधान हुन्छ’, उनले भने ‘बैंकहरूले अनुत्पादक क्षेत्रहरूमा लोन दिन कडाइ गर्नुपर्‍यो । हामीले अहिले आयातमा केही कडाइ गरेका छौं । त्यस्तै गरेर बैंकहरूले पनि कडाइ गरिदिनुपर्‍यो ।’

छलफलमा अर्थसचिव मधुकुमार मरासिनीले बैंकहरूले भनेजसरी स्थानीय तहको सबै रकम वाणिज्य बैंकमा स्थानान्तरण गरेर तरलता कम नहुने बताए । ‘पैसा एकैचोटि जाादैन, तपाईंहरूले भनेजस्तो ठूलो रकम त्यहाँ छैन’, उनले भने ‘तपाईंहरूले अनुत्पादक क्षेत्रमा दिने ऋण बन्द गरेर सहयोग गर्नुहोस्, तरलता समस्या कम भएर जान्छ ।’

यसैगरी नेपाल बैंकर्स संघका अध्यक्ष तथा कृषि विकास बैंकका सीईओ अनिलकुमार उपाध्यायले सरकारको पुँजीगत खर्च बढाएर बजारमा आएको तरलता अभावलाई समाधान गर्न सकिने सुझाव दिए । त्यस्तै उनले हुन्डी नियन्त्रण, वैदेशिक ऋण वा अनुदान चाँडो ल्याउने, स्थानीय तह तथा संस्थानहरूको रकम वाणिज्य बैंकमा शतप्रतिशत राख्नेलगायतका व्यवस्था गरे तत्काल तरलताको समस्या समाधान हुने दावी गरे।

नबिल बैंकका सीईओ अनिल शाहले अनावश्यक वस्तुको आयात बन्द गरेर विदेशी मुद्रा सञ्चिति बढाउनुपर्नेमा जोड दिए । उनले चकलेट लगायतका वस्तुको आयात बन्द गरेर एउटै धारणा बनाई अगाडि बढ्नुपर्ने सुझाव दिए ।