काठमाडौं – युएइमा जारी टी–२० विश्वकपले यो पटक नयाँ च्याम्पियन पाउने भएको छ।


ADVERTISEMENT


टी–२० विश्वकपमा  न्युजिल्यान्ड र अष्ट्रेलिया दुईमध्ये जसले उपाधि जिते पनि पहिलो पटक यो छोटो संस्करणको नयाँ च्याम्पियनका रुपमा रहनेछन्  ।


ADVERTISEMENT

# # #


प्रतियोगिताको पहिलो सेमिफाइनलमा न्युजिल्यान्डले इंग्ल्यान्डलाई ५ विकेटले हराउँदै फाइनमा स्थान बनाएको थियो भने दोस्रो सेमिफाइनलमा अष्ट्रेलियाले पाकिस्तानलाई ५ विकेटलेनै हराएर फाइनलमा स्थान पक्का गरेको थियो ।

न्युजिल्यान्ड पहिलो पटक टी–२० विश्वकपको फाइनलमा पुगेको हो भने अस्ट्रेलियाको ११ वर्षपछि फाइनलमा पुनरागमन हो ।  यसअघि सन् २०१० को टी–२० विश्वकप फाइनलमा अस्ट्रेलिया इंग्ल्यान्डसँग ७ विकेटले पराजित भएको थियो ।

अहिलेसम्म ६ संस्करण सकिँदा पाँच टोली च्याम्पियन बनेका छन् । जसमा वेस्टइन्डिजले २०१२ र २०१६ गरी दुई पटक उपाधि जितेको थियो। त्यस्तै २००७ मा भारतले पाकिस्तानलाई ५ रनले हराउँदै उपाधि जितेको थियो ।

२००९ मा पाकिस्तानले श्रीलंकालाई ८ विकेटले हराउँदै विश्व च्याम्पियन बनेको थियो। २०१० मा इंग्ल्यान्डले अष्ट्रेलियालाई ७ विकेटले हराउँदै च्याम्पियन बनेको थियो। त्यस्तै २०१२ मा वेस्टइन्डिजले श्रीलंकालाई ३६ रनले पराजित गरेको थियो ।

२०१४ मा श्रीलंकाले भारतलाई ६ विकेटले हराएको थियो। पछिल्लो पटक २०१६ मा भएको टी–२० विश्वकपमा वेस्टइन्डिजले इंग्ल्यान्डलाई ४ विकेटले हराउँदै उपाधि जितेको थियो।