काठमाडौं – अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले समाजवादउन्मुख अर्थतन्त्रका लागि ‘प्रगतिशील कर प्रणाली’ लागु गर्नुपर्नेमा जोड दिएका छन् ।


ADVERTISEMENT


साथै उनले आगामी बजेटमार्फत कर नीतिमा आमूल परिवर्तन गर्ने बताएका छन् । व्यक्तिको कमाइका आधारमा कर संकलन गर्नुपर्ने भन्दै अर्थमन्त्रीले अब सोहीअनुसार प्रगतिशील कर प्रणाली लागू गरिने बताएका हुन् । आइतबार राजस्व प्रशासनसम्बन्धी अधिकृतस्तरीय सेवाकालीन तालिमको उद्घाटन गर्दै यस्तो बताएका  हुन् ।


ADVERTISEMENT

# # #


कतिपय धनी र धेरै कमाउने व्यक्तिले थोरै कर तिरेको, तर थोरै कमाउनेले धेरै कर तिर्ने गरेको गुनासो सुनिएको भन्दै उनले त्यसमा सुधार गर्नुपर्ने आवश्यकता औँल्याए । यस विषयमा प्रतिस्थापन विधेयकमार्फत व्यवस्था गर्न नसके पनि आगामी बजेटमार्फत कर नीतिमा आमूल परिवर्तन गरिने उनले बताए । ‘आगामी बजेटमार्फत कर नीतिमा आमूल परिवर्तन हुन्छ,’ मन्त्री शर्माले भने, ‘हामीले कर बुझाउनलाई ताकेता गरिरहनुपर्ने अवस्था नहोस् । कर बुझाउन स्वयं व्यक्ति आउने वातावरण र सजिलो व्यवस्था बनाउनुस् ।’

अर्थमन्त्री शर्माले समाजवादउन्मुख अर्थतन्त्रबारे कर्मचारीले जान्नुपर्ने बताए । कस्तो राजस्व नीतिले समाजवादउन्मुख अर्थतन्त्र हुन्छ, सो कुरा कर्मचारीले जान्नैपर्ने बताएका हुन् । ‘नेपालको संविधानले समाजवादउन्मुख अर्थतन्त्र भनेको छ । समाजवादको कुरा गरेको छ । तपाईंहरूले के हो समाजवाद भनेर पढ्नुपर्‍यो, थाहा पाउनुपर्‍यो ।’

मन्त्री शर्माले तालिममा सहभागी अधिकृत कर्मचारीहरूलाई भने, ‘समाजवादउन्मुख अर्थतन्त्रको विकास कसरी गर्न सकिन्छ भन्ने कुरा जान्नुपर्छ । कस्तो कर प्रणाली, कस्तो राजस्व नीति, कस्तो उत्पादनले समाजवादउन्मुख अर्थतन्त्र विकास हुन्छ रु त्यो कुरा कर्मचारीहरूले जान्नुपर्छ । यो विषय पनि तालिममा सिकाइयोस् ।’ संविधानले निर्दिष्ट गरेको समाजवादउन्मुख अर्थतन्त्र कार्यान्वयनका लागि मन्त्री शर्माले जोड दिए ।