काठमाण्डौं-सगरमाथा क्षेत्रमा आउन सक्ने आकस्मिक स्वास्थ्य समस्याबारे अब प्रत्यक्ष रुपमा परामर्श सेवा उपलब्ध हुने भएको छ ।


ADVERTISEMENT


सगरमाथा क्षेत्रमा इन्टरनेट सेवा दिइरहेको एभरेष्ट लिंकले सगरमाथा क्षेत्रबाटै चिकित्सकसँग प्रत्यक्ष सम्पर्क गर्न सकिने गरी हेलो डाक्टर सेवा प्रारम्भ गर्न लागेको हो । बुधबारबाट सेवा प्रारम्भ गर्ने यो कार्यक्रमको सोलुखुम्बुको नाम्चेमा आयोजित कार्यक्रममा विश्वचर्चित आरोही कान्छा शेर्पाले उद्घाटन गरे ।


ADVERTISEMENT

# # #


एभरेष्ट लिंकका प्रमुख कार्यकारी अधिकृत छिरिङ ग्याल्जेङ शेर्पाले सगरमाथा क्षेत्र सबै पर्यटकका लागि सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्न यो सेवा प्रभावकारी हुने अपेक्षा गरिएको बताए ।

सगरमाथा क्षेत्रमा एभरेष्ट लिंकले सन् २०१४ बाट इन्टरनेट सेवा प्रवाह शुरु गरेको थियो । सोही माध्यमबाट आकस्मिक अवस्थामा चिकित्सकसँग सम्पर्क स्थापित गरी परामर्श उपलब्ध गराउन लागिएको सीईओ शेर्पाले जानकारी दिए ।

एभरेष्ट लिंकका प्राविधिक निर्देशक चेहेन लामाका अनुसार एभरेष्ट लिंकको सेवा नलिएका पर्यटक र स्थानीयले यो सेवा उपयोग गर्न सक्ने बताए । प्रविधिको माध्यमबाट पर्यटकलाई सेवा दिने उद्देश्यले हेलो डाक्टर सेवा प्रारम्भ गरिएको लामाले बताए ।

कम्पनीले स्वयंसेवी चिकित्सकको सञ्जाल स्थापित गरी यस सेवा प्रभावकारी बनाउने जनाएको छ । यस क्रममा पहिलो पटक ग्रिनसीटी हस्पिटल काठमाडौं, स्वाकोन हस्पिटल काठमाडौं र खुन्दे हस्पिटलका डाक्टरहरु यस सञ्जालमा जोडिएका छन् ।

पहिलो चरणमा ५ जना डाक्टरलाई सहभागि गराइएको र क्रमश विस्तार गर्दै लगिने आयोजकको भनाई छ । नाम्चेदेखि सगरमाथा आधार शिविरसम्म आकस्मिक सुविधा उपलब्ध नहुने अवस्थामा यो सेवा प्रभावकारी हुने कम्पनीका प्रेस संयोजक चक्र कार्कीले जानकारी दिए ।