काठमाडौं – मंसिर २४ देखि २६ सम्म हुने नेपाली कांग्रेसको १४औं महाधिवेशनको भोजन तथा आवास व्यवस्थापन समितिको नेतृत्व केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेलाई दिइएको छ ।


ADVERTISEMENT


यो समितिले देशभरबाट महाधिवेशनमा भाग लिन आउने झन्डै ४ हजार ५ सय प्रतिनिधिलाई कम्तीमा पनि तीन दिनसम्म राजधानीमा व्यवस्थित भोजन र आवासको व्यवस्था गर्नेछ । प्रतिनिधिबाहेक महाधिवेशनमा सयौंको संख्यामा आउने पाहुनाका लागि पनि भोजन र आवासको व्यवस्था गर्नुपर्नेछ ।


ADVERTISEMENT

# # #


महाधिवेशनका लागि भोजन र आवास मूल समितिको संयोजकको जिम्मेवारी पाएलगत्तै केन्द्रीय सदस्य पाण्डे देशभरबाट आउने महाधिवेशन प्रतिनिधिलाई कसरी व्यवस्थित तरिकाले राख्ने र खुवाउने भन्नेबारेमा छलफल गरिरहेको बताए । महाधिवेशनमा भाग लिन आउने प्रतिनिधिलाई सुन्धारा, बागबजार, गौशाला र ठमेल एरियामा रहेको होटलहरुमा बस्ने र खाने व्यवस्था मिलाउने भन्दै पाण्डेले भने,  ‘मैले आवास तथा भोजन व्यवस्थापनको मूल समितिको नेतृत्व पाएलगत्तै कसरी व्यवस्थापन गर्ने भन्नेबारेमा छलफल गरिरहेको छु ।’ अघिल्लो अधिवेशनमा यसै समितिमा बसेर काम गरेका साथीहरु र केन्द्रीय कार्यालयका कर्मचारीका साथै होटल एसोसियसन र क्याटरिङ सञ्चालकसँग पनि छलफल गरेको संयोजक पाण्डेले बताए ।

‘महाधिवेशन प्रतिनिधिलाई मंसिर २४ गते बेलुकीदेखि २६ गतेसम्म त राख्नै पर्‍यो’, संयोजक पाण्डेले  भने, ‘महाधिवेशन केही दिन लम्बियो भने अझ खाने बस्ने दिन बढाउनुपर्ने हुन्छ ।’ महाधिवेशन प्रतिनिधिलाई राजधानीमा व्यवस्थित तरिकाले राख्न र खुवाउन आवासको मात्र हेर्ने गरी छुट्टै उपसमिति र खानाको मात्र हेर्ने गरी छुट्टै उपसमिति बनाउने मूल समितिका संयोजक पाण्डेको भनाइ थियो ।