काठमाडौँ – गठबन्धनको समन्वय समितिको बैठकले आसन्न राष्ट्रियसभा, प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पाँच दलीय गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ ।


ADVERTISEMENT


मंगलबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको समितिको बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । यस्तै बैठकले न्यायापालिकामा देखिएको विवाद र समस्याले छिटो भन्दा छिटो निकास पाउने आशा व्यक्त गरेको उनले बताए ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री एवम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उपस्थितिमा समितिका संयोजक कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा पाँच दलीय गठबन्धनका शीर्षनेताको बैठक बसेको हो । बैठकले राष्ट्रिय राजनीतिक घटनाक्रमको समीक्षा तथा विश्लेषण गर्दै संविधानको प्रभावकारी कार्यान्वयन, राष्ट्रियता र लोकतन्त्रको संवद्र्धनमा जोड दिने निर्णय गरेको मन्त्री कार्कीले जानकारी दिए ।

मन्त्री कार्कीले पाँच दलीय गठबन्धनद्वारा जारी विज्ञप्ति पढेर सुनाउँदै राष्ट्रियसभा, प्रतिनिधिसभा तथा प्रदेशसभाको आसन्न उपनिर्वाचनमा पाँच दलीय गठबन्धनको सहकार्यलाई अगाडि बढाइने जानकारी दिए । “पाँच दलीय गठबन्धनको निर्माणसँगै जटिल सङ्क्रमण अन्त्य भएर मुलुकको राजनीति सही दिशामा फर्किएको तथा लगभग भताभुङ्ग पारिएको राज्य संयन्त्र र भत्काइएको राज्य पद्धतिलाई लिकमा ल्याउने महत्वपूर्ण प्रयास भएको छ । लोकतन्त्र र संविधान सुरक्षित भएको छ भने नागरिक हक सुनिश्चित भएको छ”, विज्ञप्तिमा उल्लेख छ ।

उनले भने, ‘सर्वोच्चमा हालै देखिएको गतिरोध र समस्याप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । राज्यको महत्वपूर्ण अंगका रुपमा रहेको न्यायापालिकाको स्वतन्त्रता, गरिमा, विश्वसनियता र स्वच्छतालाई ध्यानमा राख्दै यथाशीघ्र निकास हुनु पर्छ भन्ने हाम्रो धारणा छ ।’ उनले अघि थपे, ‘सम्बन्धित सबैबाट छिटो निकास दिने दिशामा पहल हुनेछ भन्ने हामी आशा गर्दछौँ ।

कोभिड–१९ रोकथामलाई पहिलो प्राथमिकतामा राखेर खोप अभियानलाई युद्धस्तरमा अघि बढाइएको, कोभिडको त्रास र लकडाउन शृङ्खला अन्त्य भएर मुलुक सहज अवस्थातिर फर्किएको तथा कोभिडले थलिएको अर्थतन्त्रले गति लिन लागेको विज्ञप्तिमा उल्लेख छ । स्थिर सरकारको निर्माण तथा राजनीतिक स्थिरताको आशासँगै स्वदेशी तथा विदेशी लगानीकर्ता र उद्यमीहरू उत्साहित भएको गठबन्धनको ठहर छ ।

पाँच दलीय गठबन्धन जनतालाई छिटो र सहजरूपमा सेवा–सुविधा उपलब्ध गराई जनताको विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न क्रियाशील रहेको तथा बाढीपहिरो र अन्य प्राकृतिक प्रकोपबाट प्रभावित जनतालाई राहत तथा उनीहरुको पुनःस्थापनाका लागि प्रभावकारीरूपमा काम अघि बढाइएको विज्ञप्तिमार्फत् समितिले जानकारी गराएको छ ।

विज्ञप्तिमा प्रधानमन्त्री एवम कांग्रेस सभापति देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका नेता अशोककुमार राई र राष्ट्रिय जनमोर्चाका नेता दुर्गा पौडेलले हस्ताक्षर गरेका छन् ।