काठमाडौं – संयुक्त राज्य अमेरिकाले रसियाको एक खतरनाक र गैर जिम्मेवारीपूर्ण क्षेप्यास्त्र परीक्षणको आलोचना गरेको छ । यस परीक्षणबाट अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र  (आईएसएस) मा रहेका अन्तरिक्ष यात्रुहरूलाई खतरा पुर्‍याएको अमेरिकाको आरोप रहेको छ ।


ADVERTISEMENT


रसियाको यस भू–उपग्रह भेदक क्षेप्यास्त्र प्रक्षेपणका कारण रसियाको आफ्नै एउटा भू–उपग्रह ध्वस्त हुँदा आईएसएसको अन्तरिक्ष टोलीले क्याप्सुलमा आश्रय लिन बाध्य भएको छ । हाल अन्तरिक्ष केन्द्रमा चारजना अमेरिकी, एकजना जर्मन र दुई रसियाली गरी सातजना अन्तरिक्ष टोलीका सदस्य रहेका छन् ।


ADVERTISEMENT

# # #


अमेरिकी विदेश विभागका प्रवक्ता नेड प्राइसका अनुसार रुसी क्षेप्यास्त्रको कारण ध्वस्त भएको भू–उपग्रहका देख्न सक्ने १ हजार ५ सय टुक्रा भग्नावशेष र अन्य हजारौं स–साना टुक्रा अन्तरिक्षमा छरिएका अवस्थामा रहेको र यसले सम्पूर्ण मुलुकको हितलाई खतरामा पार्ने बताएका छन् ।

अमेरिकी राष्ट्रिय अन्तरिक्ष तथा उड्डयन निकाय नासाका प्रशासक विल नेल्सनले रुसको यस कार्यप्रति आक्रोश व्यक्त गरेका छन् । यसैगरी बेलायती रक्षामन्त्री बेन वाल्लासले यस परीक्षणले अन्तरिक्षको सुरक्षा, बचावट र दिगोपनाको पूर्ण रूपमा वेवास्ता गरेको प्रतिक्रिया दिएका छन् ।