काठमाडौं – पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उनकाे कार्यकालमा गरेका गलत कामहरुको भुक्तानी अहिले बहालमा रहेका प्रहरीहरुले समेत भोगिरहेका छन् । यस्तो दुख पाउनेहरुकाे लिष्ट लामो भए पनि त्यसकाे ज्वलन्त उदाहरण हुन् एआइजी हरि पाल । एआइजी पाल हाल सर्वेन्द्र खनालको समयमा भएको गलत नजिरका कारण तनावमा रहेका छन् ।


ADVERTISEMENT


 कानूनी कारबाहीभन्दा पहिले नै गोली हानेर अपराधी सक्ने खनालको नीतिका कारण तात्कालीन समयमा प्रहरीको ठूलो बदनामसमेत भएको थियो । त्यसले कतिपय प्रहरीको त जागिर नै धरापमासमेत परेको छ ।


ADVERTISEMENT

# # #


एआइजी पाललाई अहिले नखाएको विष लागेको छ । कुमार पौडेल इन्काउन्टर प्रकरण ( सर्लाहीमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेताको) मा एआइजी पालविरुद्ध समेत जाहेरी दर्ता भएको छ । उतिबेला पाल सर्लाहीमा  रहेका भए पनि पौडेलको इन्काउन्टर भने काठमाडौंबाट खटिएको टोलीले गरेको थियो । सर्लाही प्रहरीको यसमा संलग्नता नभएको प्रहरी स्रोत नै बताउँछ ।   घटनामा पालको कुनै संलग्नता नभए पनि उनी यसमा फसेका छन् ।

तत्कालीन प्रहरी महानिरीक्षक खनालले काठमाडौंबाट आफ्नो बिशेष टोली पठाएर पौडेललाई गोली हान्न लगाएका थिए । इन्सपेक्टर केडी शाह नेतृत्वको टोलीले पौडेललाई गोली हानेको थियो । इन्काउन्टर भनिए पनि  पौडेललाई नियन्त्रणमा लिएर गोली हानिएको खुलेपछि त्यसमा संलग्नविरुद्ध कारबाही सिफारस भएको हो ।

सुरुमा गोली प्रहारमा संलग्नलाई मात्र कारबाहीको सिफारिस भएको थियो । तर, पीडितले आदेश दिनेविरुद्ध समेत जाहेरी दिएपछि यो प्रकरण पेचिलो बनेको छ । सो घटना हुँदा पाल प्रदेश प्रहरी प्रमुखका रुपमा कार्यरत थिए । तर, पछि मात्र उनले सो घटनाबारे जानकारी पाएका थिए । तर पनि चेन अफ कमाण्डका हिसाबले उनलाई समेत विपक्षी बनाएर सर्वोच्च अदालतको आदेशमा किटानी जाहेरी दर्ता भएको हो ।

जाहेरी दर्ता भएपछि जुनसुकै बेला पक्राउ पूर्जी जारी हुन सक्छ । बहालवाला प्रहरीविरुद्ध पक्राउ पूर्जी जारी भए पनि बहालवाला प्रहरी अधिकृत निलम्बनमा पर्दछन् । एआइजी पालको पछिल्लो समय गृहमन्त्री बालकृष्ण खाणसँग विवाद बढेको छ । जसकारण गृहमन्त्रीले पक्राउ पूर्जी जारी गराउन निर्देशन दिन सक्ने भएकाले उनी तनावमा रहेको स्रोत बताउँछ ।

उनीसहित सर्लाहीका तत्कालीन एसपी गोपालचन्द्र भट्टराई, सिडिओ रहेका सहसचिव कृष्ण राउत लगायतलाई समेत तनाव बढेको छ । सो प्रकरणमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादल र प्रहरी प्रमुख खनालमाथि समेत कारबाहीको माग गरी जाहेरी दिइएको छ ।