काठमाडौँ– अखिल नेपाल किसान युनियनले महँगी र भष्ट्रचारको को अन्त्य गरी राजनीतिक स्थिरता कायम गर्नुपर्ने माग गरेको छ ।


ADVERTISEMENT


युनियनले सार्वजनिक वितरण प्रणाली लागू गर्नुपर्ने, किसान र आम उपभोक्तालाई न्यायोचित मूल्यमा दैनिक उपभोग्य खाद्य पदार्थलगायतका आवश्यक सामग्री उपलब्ध गराउनुपर्ने र मूल्य स्थिर राख्न ठोस् उपाय अपनाउन समेत माग गरेको हो ।


ADVERTISEMENT

# # #


युनियनले आज विज्ञप्ति जारी गरी किसानले उब्जाएको प्रमुख अन्नबालीको न्यायोचित मूल्य तोक्न र खरिद गर्न ठोस् व्यवस्था गर्न अनुरोध गरेको छ ।

‘किसानले उचित मूल्य नपाउने र ठगिने, उपभोक्ताले बढी मूल्य तिर्नुपर्ने तथा विचौलियाबाट किसान र उपभोक्ता ठगिने निरन्तरको विद्यमान स्थिति अन्त्य गरियोस्’, युनियनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । चाडबाडको मुखमा समेत खाना पकाउने ग्यासको मूल्य बढाइएको, दुई–दुई पटक पेट्रोलियम पदार्थको मूल्य बढाइएको, खाने तेल, दाल, चामललगायतको मूल्य आकासिँदा उपभोक्ता मारमा परेको युनियनले जनाएको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बितेका तीन महिनामा घ्यू तथा तेलमा ३१.६८ प्रतिशत, माछा मासुमा १२.९३ प्रतिशत तथा दाल र गेडागुडीमा १०.७१ प्रतिशत मूल्य बढेको विज्ञप्तिमा उल्लेख छ । सम्पूर्ण बोझ किसान र आम उपभोक्ताको टाउकोमा थोपार्ने गरेकोप्रति युनियनले आपत्ति जनाएको छ । रासस