काठमाडौँ – महिला टी–२० विश्वकपको एशिया क्षेत्र छनोटमा नेपालले दोस्रो जित हात पारेको छ । नेपालले बिहीबार कुवेतको महिला क्रिकेट टोलीलाई ९ विकेटले हराएको हो ।


ADVERTISEMENT


नेपाली बलरले कसिलो बलिङ गर्दा दुबईस्थित आईसीसी क्रिकेट एकेडेमीको मैदानमा टस जितेर पहिले ब्याटिङ थालेको कुवेत १५.४ ओभरमा सबै विकेट गुमाउँदै २७ रनमै समेटियो । २८ रनको सामान्य चुनौती पाएको नेपालले ३.३ ओभरमा १ विकेट गुमाउँदै जित हासिल गरेको हो ।


ADVERTISEMENT

# # #


नेपालको जितका लागि इन्दु बर्मा र रुबिना क्षेत्रीले समान १–१ चौकाको मदतमा क्रमशः १३ र १२ रन बनाए । कुवेतका लागि मारिया जस्बीले १ विकेट लिइन् ।

यसअघि पहिले ब्याटिङ थालेको कुवेतका लागि प्रियदा मुरलीले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अंक छुन सकेनन् । कुवेतका ७ जना ब्याटर शून्य रनमै आउट भए । नेपालका लागि कप्तान क्षेत्री र संगीता राईले शानदार बलिङ गरे ।

संगीताले २.४ ओभरमा ३ रन मात्रै दिएर ३ विकेट चट्काइन् । यस्तै रुबिना तथा करुणा भण्डारीले दुई विकेट लिइन् भने सरस्वती कुमारी चौधरीले १ विकेट हात पारिन् ।

महिला टी–२० विश्वकपको एशियाली छनोटमा नेपालसँगै हङकङ, भुटान, घरेलु टोली युएर्इ, कुवेत र मलेसियासँग भिड्दैछन् । प्रतियोगिताको विजेता टोलीले सन् २०२३ मा दक्षिण अफ्रिकामा आयोजना हुने विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छ ।