– कुसुम भट्टराई


ADVERTISEMENT


प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा महाधिवेशन प्रतिनिधिमा भारी मतले निर्वाचित भएको खबर अनलाइन मिडियामा भंगेरे होइन गिद्धे अक्षरमै प्रकाशित भएको छ । अहो ! कत्रो ठूलो समाचार । मानौं, सभापति देउवाले डडेल्धुरातिरको चट्टाने भीरमै चढेर शिलाजित संकलन गरेका हुन् ।


ADVERTISEMENT

# # #


देउवा पत्नी डा. आरजु राणा महाविधेशन प्रतिनिधि सर्वसम्मत चयन भएको खबर पनि करिबकरिब भाइरल छ । कांग्रेस केन्द्रीय सदस्यहरु विधान बमोजिम स्वतः महाधिवेशन प्रतिनिधि हुने जान्दाजान्दै देउवा दम्पती महाधिवेशन प्रतिनिधि भएको खबर महत्वका साथ प्रकाशित हुनुको अर्थ के ? के उनीहरु महाधिवेशन प्रतिनिधि हुने स्थितिसमेत नभएका कमजोर पात्र हुन् ? त्यसैले महाधिवेशन प्रतिनिधि भएर तिनले बाजी मारे भन्ने अर्थमा यो समाचार आएको हो ?

जे होस्, हाम्रा नेताहरुले अचेल यो देशमा समाचार नै बनाउनुपर्ने स्तरको कुनै युगान्तकारी काम त गर्न सकेका छैनन् । मिडियालाई समाचार चाहिन्छ, त्यसैले तिनले शीर्ष नेता र तिनका पत्नीसमेतका झिना मसिना गतिविधिलाई शीर्षक समाचार बनाउनु कुनै अनौठो हैन । नेपाली कांग्रेसको महाधिवेशनमा यसपाली पनि शेरबहादुर देउवा नै सभापति चुनिनेमा अब शंका रहेन । देउवा इतर भन्दै सभापतिमा दाबी गरिरहेका नेताहरु आपसमै विभाजित छन् । कसले कतिबेला कता कित्ता बदल्छ, त्यो निश्चित छैन ।

देउवालाई चुनौती दिँदै सभापतिको दाबी गरिरहेकाहरुको अनुहार नियालौं । विमलेन्द्र नीधि पिता महेन्द्रनारायण नीधिको उत्तराधिकारीको आधारमा कांग्रेस राजनीतिमा हुर्र्किएका हुन् । मधेशको सेन्टिमेन्ट यिनको साथमा छ । तर, समग्र कांग्रेसलाई नेतृत्व दिने हिसाबको व्यक्तित्व यिनको अझै निर्माण भइसकेको छैन । विपी कोइराला, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवापछि यही स्तरको उच्च व्यक्तित्व निधि होइनन् । यसो भनौं, उनी पार्टीभित्रका विभिन्न गुटलाई समन्वय गरेर लैजानसक्ने निर्विकल्प र सर्वसम्मत उम्मेदवार होइनन् ।

अब शशांक कोइरालाको कुरा गरौं । पहिलो त उनको जिवनशैली सौखीन छ, जसले गर्दा पार्टीमा अहोरात्र खट्न उनी समर्थ छैनन् । जननेता विपी कोइरालाको पुत्र हुनु मात्र आजको कांग्रेसमा कुनै विशेषता हैन । विपीको उत्तराधिकारी बोक्ने हो भने विपीको विचार, चिन्तन, चेतना र प्रतिभाको ओज पनि त हुनुपर्छ । २०४६ सालको आन्दोलनपछिको खुला परिवेशमा मात्र उनी कांग्रेसको राजनीतिमा ह्वात्तै चर्चामा आएका हुन् । नेत्र विशेषज्ञ डा. साबले कोइराला परिवारको उत्तराधिकारी दाबी गर्न सक्छन् । तर, कांग्रेसमा अहिले देउवाको विकल्प खोजिएको हो । देउवाको विकल्प हुनसक्ने व्यक्तित्व चाहिँ डा. शशांकको पनि निर्माण भइसकको छैन ।

सर्वोच्च नेता गणेशमान सिंहका पुत्र प्रकाशमान सिंहको राजनीतिको आधार भनेको काठमाडौं हो । उनी उपत्यकाका निर्विकल्प नेता हुन् । खाँटी कांग्रेसमा हुनुपर्ने सम्पूर्ण गुण उनमा छ । तर, समग्र देशभरिका कांग्रेस नेता–कार्यकर्तालाई समेटेर नेतृत्व दिने मामिलामा उनमा पनि पूर्णता छैन । मान्छे इमानदार र हकी स्वभावका छन् । मनमा लागेको प्वाक्कै बोली हाल्छन् । वाणीमा संयम धारण नगर्ने भएकाले प्रकाशमान आफ्नै भनाइबाट विवादमा पनि आउने गर्छन् ।

बेलाबेलामा गणेशमान सिंहको उत्तराधिकारीको चर्चा गर्ने गरेकाले उनलाई परिवारवादको आरोप पनि लाग्ने गर्छ । यसैगरी वैचारिक र कार्यक्रमिक दिशा दिनसक्ने वौद्धिक क्षमता पनि उनमा प्रखर देखिँदैन । अतः प्रकाशमान सभापति हुने संभावना यो महाधिवेशनमा देखिँदैन ।

केही समय यता डा. शेखर कोइरालाले आफूलाई वैचारिक, सांगठनिक र सबैलाई मिलाएर लैजानसक्ने क्षमता देखाएकै हुन् । तर, उनको अपूर्णता के हो भने कांग्रेसमा उनको पृष्ठभूमि धेरै लामो छैन । सभापतिको हाकाहाकी दाबी नगरेका अर्जुन नरसिंह केसीभन्दा डा. शेखर पार्टीमा कनिष्ट नै हुन् । उनी पनि कोइराला परिवारकै उत्तराधिकारीको भरमा सभापतिको दाबी गर्दैछन् ।

हो, देउवा इतरलाई एकढिक्का बनाउन सकेको खण्डमा उनको संभावना बढ्न सक्छ । तर, उनमा पनि वैचारिक चेत र ‘करिश्म्याटीक’ व्यक्तित्वको अभाव छ । उदाहरणका लागि गगन थापा या विश्वप्रकाश शर्माजस्ता नेतामा जुन ‘करिस्म्याटीक’ र मासलाई जुरुक्क उचाल्नसक्ने क्षमता छ, त्यो डा. शेखरमा छैन । कम्युनिष्ट ‘करीश्म्याटीक’ दबदबा भएको मुलुकमा लोकतान्त्रिक दलको सभापतिमा यदि विपी, किसुनजी या गिरिजाबाबुमा जस्तो मास प्रभावित गर्नसक्ने  क्षमता भएन भने, कांग्रेसको नेतृत्व रुखो हुनजान्छ ।

भारतमा प्रधानमन्त्री मनमोहन सिंहको निष्क्रिय र शिथिल व्यक्तित्वले कांग्रेस आइलाई ठूलो क्षति भएको निकट अतितको उदाहरण काफी छ । त्यहाँ नरेन्द्र मोदीजस्ता नेताको ओजपूर्ण भाषण र सम्मोहक शक्तिले नै भाजपालाई दुईदुई पटक बहुमत दिलाएको हो । डा. शेखरमा यसखालको ओजपूर्ण भाषण शैली र सम्मोहन क्षमता देखिँदैन । कम्युनिष्ट दबदबालाई चिर्नसक्ने आक्रामक र ओजपूर्ण व्यक्तित्व नभएकाले नयाँ युगको नयाँ नेतृत्वमा डा. शेखरको अनुहार के कति फिट होला, भन्न सकिन्न ।

विपी कोइरालाकै पालादेखि कांग्रेसमा होमिएका रामचन्द्र पौडेल पार्टीभित्र सर्वसम्मत छैनन् । तनहुँको राजनीतिमै अ्िरल्झएका पौडेलले राष्ट्रिय राजनीतिक व्यक्तित्व निर्माण गर्ने सकेनन् । विपी, किसुनजी र गिरिजाबाबुपछि खासमा पौडेलले नै कांग्रेस हाँक्नुपर्ने हो, तर झिना मसिना स्वार्थ र साँघुरो घेरामा रमाएकाले उनले सबैलाई समेटने खालको व्यक्तित्व निर्माण नै गर्न सकेनन् ।

गोविन्दराज जोशीजस्ता आफ्नै जिल्लाका नेतालाई समेत रिझाउन नसकेर झगडा गरिरहने पौडेलले आसन्न संकट र चुनौतीबाट पार्टी र मुलुकलाई समेत बचाउँदै अघि बढाउनसक्ने क्षमता देखाएनन् । न त उनको आफ्नै कुनै गुट बन्यो, न उनी कुनै गुटमा अट्न सके । पौडेल ठिंग उभिएको एउटा भिमकाय व्यक्ति त हुन्, तर उनका पछाडि लाग्नेहरु धेरै कम छन् । यसो भनौं, पौडेललाई सभापति नचाहनेहरुको संख्या पार्टीमा ठूलो छ ।

यस्तो परिस्थितिमा घुमीफिरी नेपाली कांग्रेसमा फेरी पनि सभापति हुने भनेको देउवा नै हो । नेपाली समाज सत्ता र शक्तिकै पछि दगुर्छ । प्रधानमन्त्री वरिपरी अनेक स्वार्थले पार्टीको तप्का झुम्मिएकै छ । सुजाता कोइरालाजस्ता कोइराला परिवारकै हस्तीहरु देउवाको पक्षमा लागिसकेका छन् । विश्वप्रकाश शर्मा पनि उतै छन् । मिनेन्द्र रिजालदेखि बालकृष्ण खाँडसम्म देउवाकै पक्षमा छन् । डा. नारायण खडकाले परराष्ट्र मन्त्रीका रुपमा देउवाको पक्षमै अन्तर्राष्ट्रिय माहौल बनाउन माथापिच्ची गरिरहकै छन् । शक्ति केन्द्रहरुलाई पनि देउवाजस्ता उदार र लचिलो नेताबाट काम लिन सकिने विश्वास छ ।

देउवा महाधिवेशन प्रतिनिधि मात्र हैन, सभापति दोहोरिए पनि आम जनतालाई भने यो कागलाई बेल पाके बराबर हो । नयाँ नेतृत्व र नयाँ विचारबिना सम्पन्न हुने महाधिवेशन फगत एउटा औपचारिक, प्राविधिक र आवधिक कर्मकाण्डबाहेक केही हुनेछैन । कांग्रेस पहिला जस्तो थियो, त्यस्तै हुनेछ, महाधिवेशनपछि पनि । न त यसमा नयाँ उर्जा भरिनेछ, न यो आसन्न सँकट समाधान गर्ने हिसाबले रुपान्तरित हुनेछ ।

एमालेबाट झन के आश गर्ने ?

नेकपा (एमाले)को केही दिनमै हुन लागेको दशौं महाधिवेशनबाट त झन के आशा गर्नु ? अध्यक्षमा केपी ओलीले नै निरन्तरता पाउने छन् भने नवौं महाधिवेशनले पारित गरेका विचार र सिद्धान्तकै निरन्तरताबाहेक नयाँ केही आउनेवाला छैन । अध्यक्ष ओली र उनका बफादारहरुको एकल हैकममा चलिरहेको एमालेको यो महाधिवेशन ‘ओलीको गुटगत भेला’ न हो ।

अध्यक्ष ओलीलाई चुनौती दिनसक्ने पक्ष माधव नेपालको नेतृत्वमा नेकपा (एस) बनाएर पार्टीबाट अलग भइसकेको छ । पार्टीभित्रै रहेर ओलीका निर्णयमाथि असन्तुष्टी जनाइरहेका घनश्याम भुषाल र भीम रावलहरुको समूह चाहिँ निरिह र लाचार देखिन्छ । भनेपछि ओलीकै हालीमुहाली हुने नै भो ।

ओली कस्ता नेता हुन् भने उनी अहिले हरेक मोर्चामा हारेका छन् । मुलुकका सबै कम्युनिष्ट घटकहरुलाई मिलाएर ‘कम्युनिष्ट केन्द्र’ निर्माण गर्न उनी असफल भए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पार्टी एकिकीकरण गरे पनि नेकपा (नेकपा)को अस्तित्व जोगाउन ओली असफल भए, जसले उनको ओज र शक्ति ह्वात्तै घटयो ।

कम्युनिष्ट पार्टीले दुई तिहाइ बहुमतका साथ सरकार बनायो । तर, सरकारका प्रधानमन्त्री र एकिकृत पार्टीका अध्यक्षका नाताले ओलीले दुई तिहाई बहुमतको सरकार जोगाउन सकेनन् । अनि फुट र विभाजनपछि पनि संसदमा ठूलो दलको रुपमा रहेको एमालेलाई पनि एकढिक्का राख्न सकेनन् । माधव नेपालको समूहलाई पार्टीभित्रै सम्हालेर राख्न उनी असफल भए ।

ओलीले संघीय सरकार मात्र हैन, प्रदेश सरकारहरु पनि बचाउन सकेनन् । स्थानीय सरकारमा ओली गुटको पत्तासाफ भयो । आफ्ना केही बफादारहरुको झुण्ड अघिपछि लगाएर ओली यतिबेला आगामी चुनावमा दुई तिहाईको दुन्दुभी फुकीरहेका छन् । एमालेको महाधिवेशनको तामझाम भव्य छ । तर, यही भव्यता न त एमालेको संगठनमा छ, न विचारमा । जुन गैंडाको सिङ छैन, उसैको नाम ‘एमाले’ झैं भएको छ ।

महाधिवेशनमा पनि ओलीको ‘हुकुम’मा आधारित टिके प्रथा हावी हुनेछ । ओलीका अति बफादार ईश्वर पोखरेल, विष्णु पौडेल, प्रदीप ज्ञवाली, विष्णु रिमालदेखि महेश बस्नेत र गोकुल बास्कोटासम्मका नेताहरु नै फेरि पनि नेतृत्वमा आउने हो । बालकोट नै एमाले हो ।

माओवादी केन्द्र छाडेर आएका रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, मणि थापा र लेखराज भट्टजस्ता नेताहरुको अहिले एमालेमा बेहाल छ । बादललाई वरिष्ठ उपाध्यक्षसमेत नपाउने परिस्थिति बनिसकेको छ । ओलीले ईश्वर पोखरेल, विष्णु पौडेल, शंकर पोखरेललाई च्याप्नेछन् ।

१० बुँदे सम्झौताको रटान लगाइरहेका घनश्याम भुषालदेखि भीम रावलहरु त ओलीका लागि झड्केला सन्तान सरह नै भइहाले । विचरा भीम रावल ! वरिष्ठ उपाध्यक्षको च्याँखे थाप्दै सभापतिमै उठ्ने घोषणा गरेका छन् ।

ओलीका अनन्य पात्र महेश बस्नेतले सचिवमा उठने दुन्दुभी फुकीसकेका छन् । ओलीको कृपाबाट महेश नै सचिव नहोलान् भन्न सकिन्न । यही पदका दाबेदार मणि थापा, टोपबहादुर रायमाझीजस्ता पूर्व माकेका नेता पाखा पर्नेछन् ।

अझ, ओलीकै निकट मानिने भानुभक्त ढकाल, लालबाबु पण्डित, शेरधन राई, कृष्ण गोपाल श्रेष्ठहरुको पनि यसपाली हालत खराब हुँदैछ । एमालेको दशौं महाधिवेशनबाट मुलतः ओली सर्वसत्तावाद नै अघि बढनेछ । एमालेबाट नयाँ कुनै आशलाग्दो योजना अघि सारिनेछैन । ओलीको दबदबा सहन नसक्नेहरु कोही माधव नेपालतिर, कोही प्रचण्डतिर लाग्नेछन् ।

प्रचण्डको अवसरवाद उस्तै

माओवादी केन्द्र (माके)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अवसरवादी रवैया चाहिँ कायमै रहनेछ । माकेको न त तत्काल महाधिवेशन हुनेछ, त न कसैले प्रचण्डको विकल्प खोज्नेछ । चीनमा सि चिन फीङ झैं माकेमा प्रचण्ड पनि आजीवन अध्यक्ष हुन् ।

राष्ट्रिय राजनीतिमा प्रचण्डको भूमिका यतिबेला शक्तिहरुबीच फुटाऊ र लाभ लेऊमै सीमित छ । सग्लो एमाले फुटाउन उनी सफल भइहाले । अब कांग्रेसभित्र पनि खेल्न खोज्दैछन् । हालै रामचन्द्र पौडेलको संयोजकत्वमा गठन भएको उच्चस्तरीय राजनीतिक समन्वय समिति प्रधानमन्त्री देउवालाई काम गर्न नदिने चलखेलकै एक कडी हो र यसमा प्रचण्डको रणनीतिक स्वार्थ छ भन्ने जगजाहेर भइसकेको छ ।

प्रचण्ड सकेसम्म आगामी चुनावमा कांग्रेस र नेकपा (एस)सँग गठबन्धन गरेर अहिलेभन्दा ज्यादा शक्ति संचय गर्न चाहन्छन् । एमालेलाई भित्तैमा पुर्याउने, माधव नेपाललाई साइजमा राख्ने, कांग्रेससँग मिलेर अर्को पटक पनि सरकारमा सयर गर्ने प्रचण्डको दाउ छ ।

हुन त प्रचण्डको दाउ भनेको संविधान संशोधन गरेर कार्यकारी राष्ट्रपति नै हुने हो । तर, जनस्तरमा उनको त्यो हदसम्मको लोकप्रियता देखिँदैन । अतः उनी भारत, अमेरिका आदि शक्ति राष्ट्रलाई रिझाएर त्यसखालको परिस्थिति मुलुकमा सिर्जना गर्न चाहन्छन् ।

प्रत्यक्ष निर्वाचित कार्यकारी मुलुकमा आवश्यक छ । स्थिरताका लागि यो अचुक उपाय हो । प्रचण्डको जोडबल पनि यसैमा छ । तर, प्रचण्डको समस्या भनेको उनी लोकप्रिय छैनन् । आफ्नै निर्वाचन क्षेत्र जोगाउन उनलाई हम्मेहम्मे छ । किर्तिपुरमा त उनी हारेकै हुन् । मधेशमा पनि हारीसकेका उनलाई कसोकसो जिताइयो ।

अब उनको आँखा चितवनमा परेको छ, जहाँ मतपत्र च्यातचुत पारेर भए पनि छोरीले झैं चुनाव जित्नसकिने माहौल बनाउन सकिन्छ । तर, एमालेले चितवनमै महाधिवेशन आयोजना गरिदिएर प्रचण्डको उछित्तो काढदैछ । त्यहाँ प्रचण्डलाई बदनाम गर्न ओलीले कुनै कसर बाँकी राख्ने छैनन् ।


ADVERTISEMENT

#
#


यही बुझेर अचेल प्रचण्ड बारम्बार चितवन पुगिरहेका छन् । आफुलाई सिध्याउन एमालेले चितवनमै महाधिवेशन आयोजना गरेको भन्दै रुन्चे बोली पनि बोलीरहेकै छन् । चितवनमै एमालेले डेरा जमाएपछि प्रचण्डको तनाव अचेल बढदै गएको छ, जुन उनको बोलीमै झल्किन्छ।

प्रतिकृया

प्रतिकृया