काठमाडौँ – महालेखापरीक्षको कार्यालयको नयाँ भवन उद्घाटन भएको छ । बिहीबार एक कार्यक्रमकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्मित भवनको उद्घाटन गरेकी हुन् ।


ADVERTISEMENT


विसं २०७२ को भूकम्पले बबरमहलस्थित भवनमा क्षति पुगेर प्रयोग गर्न नसकिने भएपछि अनामनगरमा नयाँ भवन निर्माण गरिएको हो ।महालेखाले २०७३ साउन ३१ गते लुम्बिनी÷गौरी पार्वती शान्ति जेभीलाई भवन निर्माणको जिम्मा दिएको थियो ।


ADVERTISEMENT

# # #


सुरुमा सो भवन निर्माणका लागि रु ७८ करोड २० लाख ६६ हजार लागत अनुमान गरिएको थियो । निर्माण व्यवसायीसँग सुरुमा रु ६१ करोड २७ लाख १७ हजारमा भवन निर्माणको सम्झौता भएको महालेखापरीक्षक दङ्गालले जानकारी दिए ।

कोभिड–१९ लगायतका कारणले समयमा काम गर्न नसकिएपछि ठेकेदारलाई भेरियसनवापत सुरु ठेक्का रकमको ६.६६ प्रतिशत थप गरिएको थियो । त्यस आधारमा भवनको कूल लागत रु ७३ करोड नौ लाख ४३ हजार पुगेको छ । सुरुमा भवन निर्माणका लागि निर्माण व्यवसायीसँग सम्झौता गरिँदा २०७६ भदौ २० गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तोकिएको समयमा निर्माण सम्पन्न नभएपछि चारपटक म्याद थप गरिएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारी बिहीबार अनामनगरस्थित महालेखा परीक्षकको नवनिर्मित कार्यालय भवन उदघाटन गर्दैै । तस्बिर : रासस

भवनमा बेसमेन्टसहित १० तला छन् भने अण्डरग्राउन्ड दुई तलाको छ । जसलाई सवारीसाधनको पार्किङका लागि प्रयोग गरिनेछ । सो पार्किङमा ५० चारपाङ्ग्रे सवारीसाधन र २४० दुईपाङ्ग्रे सवारीसाधन अट्ने क्षमता छ । भवनको भुइँतलामा रिसेप्सन, पुस्तकालय, सोधपुछ कक्ष र चमेनागृह छ । दोस्रो तलामा महालेखा परीक्षकको कार्यकक्ष, ७५ कर्मचारी अट्ने क्षमताको बैठक कक्ष र विशिष्ट व्यक्ति भेटघाट कक्ष छ । अन्य तलामा कार्यालयका विभिन्न विभाग रहनेछन् ।

कार्यालयमा एक महालेखापरीक्षक, चार उपमहालेखापरीक्षक, १८ नायब महालेखापरीक्षकसहित ६४३ जनाको दरबन्दी छ । नवनिर्मित भवनमा कूल ५०० कर्मचारीले काम गर्न सक्नेछन् । बबरमहलको भवन क्षतिग्रस्त भएपछि केही कोठामात्रै प्रयोग गरेर पुल्चोक, ताहाचल, अनामनगर र डिल्लीबजारमा भवन भाडामा लिई कार्यालय सञ्चालन गरिएको थियो ।

सो भवन निर्माणमा परम्परागत र आधुनिक ढाँचाको प्रयोग गरिएको छ । वास्तुसमेत मिलाइएको छ भने आँखीझ्याल टायलको प्रयोग गरिएको छ । भवनको आँगनमा चाणक्यको अथ अर्थानुशासनम् भन्ने पदावली पनि लेखिएको छ । यस्तै भवनमा २०० जना अट्ने क्षमताको सभाकक्ष छ भने खुला कार्यकक्षको अवधारण अवलम्बन गरिएको छ । लेखापरीक्षणका फाइल व्यवस्थापनका लागि एकीकृत कक्षको व्यवस्थापन गरिएको उपमहालेखापरीक्षक रामप्रसाद डोटेलले जानकारी दिए।

महालेखा परीक्षकको नवनिर्मित कार्यालय भवन उदघाटन पछि भवनबाट काठमाडौँको दृश्यावलोकन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी । तस्बिर : रासस