काठमाडौँ– सुनचाँदी बजारमा साताको अन्तिम कारोबारका दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९१ हजार ९०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९१ हजार ७०० रुपैँयमा मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला २०० रुपैँयाले बढेको हो ।


ADVERTISEMENT


नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ४०० रुपैँया छ जसको मूल्य बिहीबार प्रतितोला ९१ हजार २०० रुपैँया तोकिएको थियो ।


ADVERTISEMENT

# # #


त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच रुपैँयाले घटेर एक हजार २२५ रुपैँया तोकिएको महासङ्घले जनाएको छ । साताको पहिलो दिन आइतबार प्रतितोला ९३ हजार ७०० रुपैँयामा कारोबार भएको छापावाल सुन अन्तिम दिन शुक्रबारसम्म आइपुग्दा प्रतितोला एक हजार ८०० ले घटेर ९१ हजार ९०० रुपैँया पुगेको छ । सार्वजनिक तथ्याङ्कानुसार गत आइतबारका तुलनामा सोमबार प्रतितोला २०० रुपैँयाले बढेको सुनको मूल्य त्यसपछिका दिनमा लगातार घटेको देखिन्छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीका मूल्यमा हुने उतारचडावका आधारमा यहाँ आइतबारदेखि शुक्रबारसम्म प्रत्येक दिन सुन तथा चाँदीका मूल्य तोक्ने गरेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७९५ डलर आसपासमा कारोबार भइरहेको छ ।