काठमाडौं – भारतीय महावाणिज्य दूतावास, विरगंजद्वारा ‘आजादीको अमृत महोत्सव (भारत ७५) को अवसरमा ‘लोकतंत्रको विशेष संदर्भमा शासनमा संविधानको  प्रासंगिकता’ विषयमा प्यानल छलफल सम्पन्न भएको छ ।  कार्यक्रम नोभेम्बर २६, २०२१ मा क्लार्क्स रिसोर्ट्स, वीरगन्जमा आयोजना सम्पन्न भएको हो ।


ADVERTISEMENT


प्यानलमा  सामाजिक कार्यकर्ता एवं व्याख्याता  मोनिका सिंह, साहु बिचार मञ्चका अध्यक्ष सुरेश कुमार,  ठाकुर राम बहुमुखी क्याम्पस, वीरगन्जकी अर्थशास्त्र व्याख्याता लक्ष्मी कर्ण,   उच्च अदालत, हेटौंडाका अधिवक्ता, रामेश्वर सेढाई, वीरगन्ज कलेजका प्रधानाध्यापक विनोद गुप्ता, जिल्ला अदालत वीरगन्जका अधिवक्ता  पन्नालाल गुप्ता,  प्रोफेसर अनिल कुमार सिन्हा, प्रतीक प्रकाशन समुहका अध्यक्ष जगदीश शर्मा भारतीय कन्सुल जनरल नितेश कुमार एवं  वीरगन्जका नागरिक समाजका चुनिंदा सदस्यहरु र वाणिज्य दूतावासका अधिकृत तथा अन्य सदस्यहरुको उपस्थिति रहेको थियो ।


ADVERTISEMENT

# # #


प्यानलका सदस्यहरूले संविधानका विशेषताहरू  तटस्थता, समावेशिता, परिमार्जनशीलता, प्रगतिशीलता, शक्ति पृथकीकरण, सरकारको कर्तव्य र नागरिकको मौलिक अधिकारको संरक्षणको प्रत्याभूति लगायत विषयमा प्रकाश पारेका थिए।

सन् १२१५ को म्याग्नाकार्टादेखि सन् २०१५ को नेपालको संविधानसम्मको संविधानको इतिहासलाई प्रतिबिम्बित गर्दै लोकतन्त्रको सफलताको लागि संविधान महत्वपूर्ण औजार भएको विवेचना गरिएको थियो । बलियो लोकतन्त्रको संविधानले यसका तीन खम्बा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकामा नियन्त्रण र सन्तुलन राख्ने र यसले लोकतन्त्रको फलिफाप र सफलता सुनिश्चित गर्ने प्यानलका सदस्यहरूले धारणा राखे ।

भारतको संविधानमा जोड दिँदै, प्यानलका सदस्यहरूले नेपालले पनि यसबाट केही प्राबधानहरू  समावेशीता, प्रगतिशीलता, जनताको मौलिक अधिकारको सम्मान र न्यायपालिकाको सर्वोच्चता इत्यादि अंगिकार गर्न सक्ने सुझाव दिए ।

कन्सुल जनरल नितेश कुमारले  यस विषयमा विभिन्न र जानकारीमूलक बिचारका लागि सहभागीहरूलाई धन्यवाद दिए । उनले संविधानले प्रदान गरेको अधिकारको संरक्षणका साथै नागरिकले कर्तव्यको पालना गर्दै यसमा व्यवस्था गरिएका उचित बन्देजको कदर गर्नुपर्ने बताए ।

कार्यक्रमको संचालन कन्सुल आईसीएस  श. भु. कुमारद्वारा गरिएको थियो भने प्यानललाई धन्यवाद ज्ञापन  कन्सुल पीसीएस शैलेन्द्र कुमारले  गरेका थिए।