काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको स्थानीय तहको अधिवेशन शनिबार देशभर एकसाथ शुरु भएको छ । केही स्थानीय तहबाहेक अधिकांशमा एकसाथ अधिवेशन शुरु भएको हो ।


ADVERTISEMENT


माओवादीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले अधिकांश स्थानमा उद्घाटनसत्र सम्पन्न गरेर नेतृत्व चयनको प्रक्रिया चलिरहेकोे जानकारी दिए । उनका अनुसार धेरैजसो जिल्लाका पालिकामा सर्वसम्मत तरिकाले नेतृत्व चयन भएको छ भने केही स्थानीय तहमा निर्वाचनमार्फत नयाँ नेतृत्व चयनको प्रक्रिया अगाडि बढेको छ । श्रेष्ठले आइतबारसम्ममा सबै पालिकाको नेतृत्व चयन भइसक्ने बताए।


ADVERTISEMENT

# # #


माओवादीले सकेसम्म सहमतिमा नेतृत्व चयन गर्न आग्रह गरेकोमा धेरैजसो पालिकामा सोही विधिबाटै नेतृत्व चयन भएका छन् भने केहीमा निर्वाचन पनि भएका छन् । पार्टीलाई सांगठनिकरूपमा स्पष्ट बनाउने र विधिमा सञ्चालन गर्ने उद्देश्यका साथ माओेवादीले यसपटक केन्द्रीय, प्रदेश र स्थानीय तहसम्म निर्वाचन समिति नै गठन गरेर नयाँ नेतृत्व चयन गर्ने व्यवस्था गरेको छ ।

माओवादीले ७ सय ५३ वटा स्थानीय तहका अलावा सम्पर्क समन्वय समिति र विशेष समितिसमेत गरी कुल ७ सय ७६ वटा पालिकास्तरीय सम्मेलनको आयोजना गरेको हो । शनिबार सम्पन्न भएको सम्मेलनले प्रदेश सम्मेलनका लागि प्रतिनिधिसमेत चयन गरेको छ । माओवादीले यही मंसिर २५ गतेका लागि प्रदेश सम्मेलनको आयोजना गरेको छ । माओवादीले आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने तय गरेको छ ।

माओवादीले यसअघि मसिर ४ गते सबै वडाको सम्मेलन गरी नयाँ नेतृत्वसमेत चयन भइसकेको बताएको छ । माओवादीले वडा सम्मेलन, पालिका सम्मेलन, प्रदेश सम्मेलन गरेर राष्ट्रिय सम्मेलनमा केन्द्रित हुने गरी नीति र विधि तय गरेको प्रमुख श्रेष्ठले जानकारी दिए ।

वडा सम्मेलनमा निर्वाचित भएका प्रतिनिधिले विधानमा भएको व्यवस्थानुसार ३५ प्रतिशत महिला, २० प्रतिशत युवा, १५ प्रतिशत दलित र पाँच प्रतिशत मुस्लिमको प्रतिनिधित्व सुनिश्चित हुने गरी नेतृत्व चयन गर्नेछ । वडाबाट निर्वाचित भएका प्रतिनिधिका आधारमा गाउँपालिकामा १ सय ५० जनाका दरले सहभागी हुनेछन् । यस्तै, नगरमा २ सय, उपमहानगरमा ३ सय र महानगरमा ४ सय प्रतिनिधिको उपस्थितिमा अधिवेशन हुनेछ ।