सृजना मगर, काठमाडौँ– आज डिसेम्बर १ अर्थात्, विश्व एड्स दिवस । सन् १९८१ मा पहिलो पटक एचआईभी संक्रमित रिपोर्ट पहिचान भएपश्चात् यस दिनलाई प्रत्येक वर्ष एचआईभी एड्ससम्बन्धि जनचेतना जगाउने उद्देश्यले अन्तर्राष्ट्रिय रुपमै एड्स दिवसको रुपमा मनाइन्छ ।


ADVERTISEMENT


राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको अनुसार, एचआईभी एड्ससम्बन्धि विश्वको आँकडा हेर्ने हो भने सन् २०२० को अन्त्यसम्म ७ करोड ९३ लाख व्यक्तिहरु एचआइभीबाट संक्रमित भइसकेका छन्, र यसै संक्रमणका कारण हालसम्म ३ करोड ६३ लाख जनसंख्याले मृत्युवरण गरिसकेका छन् ।


ADVERTISEMENT

# # #


सन् २०२० को अन्त्यसम्म संसारमा ३ करोड ७७ लाख र सन् २०२० मा १५ लाख नयाँ संक्रमितहरु थपिएको अनुमान गरिएको छ । यद्यपि विगतका आँकडा एवम् अनुमानलाई यस संख्यासंग दाँज्ने हो भने यो सन् २०१० को तुलनामा यो संख्या ३१ प्रतिशतले घटेको छ । जबकी त्यसबेला २१ लाख नयाँ संक्रमित संख्या रहेका थिए ।

यस्तै, सन् २०२० मा १ लाख ५० हजार बालबालिकामा नयाँ संक्रमण भएको अनुमान गरिएको छ । जुन सन् २०१० को तुलनामा ५३ प्रतिशतले घटेको छ । त्यसताका नयाँ संक्रमित बालबालिकाको संख्या ३ लाख २० हजार रहेको अनुमान थियो ।

यसैगरि, सन् २०२० मा करीब ६ लाख ८० हजार व्यक्तिहरुको एड्सको कारणले मृत्यु भएको पनि केन्द्रको अनुमान छ । जबकी सन् २०१० मा १३ लाख व्यक्तिहरुको एड्सको कारण मृत्यु भएको अनुमान गरिएको थियो । जुन हालको तुलनामा ४८ प्रतिशतले बढी हो ।

सन् २०२० सम्म कुल एचआइभी संक्रमित २३ करोड ७७ लाखमध्ये ७३ प्रतिशत(२ करोड ७५ लाख) मात्र एन्टीरेट्रोभाइईरल (एआरभी) औषधि उपचारमा रहेका छन् ।

यसै डाटालाई नेपालको सन्दर्भमा हेर्ने हो भने,  सन् २०२० को अन्तसम्म नेपालमा कुल ३० हजार ३०० बिरामीमध्ये २० हजार ८ सय संक्रमितले उपचार पाइरहेको अवस्था छ । कोभिड–१९ महामारीको समयमा समेत एआरभी औषधि नियमित रुपमा बिरामीहरुलाई उपलब्ध गराएको दाबी गर्ने यस केन्द्रले बाँकी अन्यमा पनि जतिसक्दो चाँडो औषधि पहुँचको सेवा विस्तारित गर्ने पहल गरिरहेको जनाएको छ ।

केन्द्रका अनुसार, ती संक्रमितमध्ये वयस्क जनसंख्याको ०.१३ प्रतिशत संक्रमण (प्रिभ्यालेन्स दर) रहेको छ । यस्तै, नेपालमा पहिलेको तुलनमा एचआईभी संक्रमितको संख्या पनि घट्दै गएको देखिन्छ । सन् २०२० मा ७५४ नयाँ संक्रमित थपिएको अनुमान गरेको छ, जबकी सन् २०१० मा २ हजार ६१ नयाँ संक्रमणको अनुमान गरिएको छ । जुन अहिलेको भन्दा ६३ प्रतिशत बढी हो ।

यसरी वर्तमान अवस्था र विगतका एड्ससम्बन्धिका तथ्यांकहरुलाई केलाउने हो भने नेपाल र विश्वकै सन्दर्भमा विश्वमा एड्स संक्रमितको संख्या घट्दै गएको देखिन्छ । रोग पहिचानको लामो समय, उपचारको खोज तथा उचित जनचेतनाका कारण यस रोगको संक्रमित संख्या घट्दै गएको विज्ञहरुको भनाई छ । यसरी एड्स संक्रमित दर घट्ने क्रम विशेषगरी कन्डम प्रयोगको अवधारणा र प्रयोगकर्ताको कारण घटेको अन्तर्राष्ट्रिय तथ्यांकले दखाउँछ । जसअनुसार, सन् १९०० देखि २०१५ सम्ममा कन्डम प्रयोगकै कारण ११ करोड ७० लाख व्यक्तिहरु एचआइभी संक्रमित हुनबाट जोगिएका थिए ।

यसरी रोग पहिचानको लामो समय बितिसक्दा यसमाथि गरेको अध्ययन, खोज एवम् अनुसन्धानकोे सफलताका कारण सन् २०२० सम्म आइपुग्दा यो व्यवस्थापन गर्न सकिने दिर्घ रोगको रुपमा स्थापित हुन पुगेको छ । यसैअनुरुप सन् २०३० सम्म एड्सको महामारीलाई अन्त्य गर्ने अन्र्तराष्ट्रिय रणनीति रहेको केन्द्रले जनाएको छ । जसअनुसार, ९५ः९५ः९५ रणनीति अर्थात्, ९५ प्रतिशत एचआईभी संक्रमितहरुले आफ्नो संक्रमण अवस्थाबारे थाहा पाउने, तीमध्ये ९५ प्रतिशतको एआरभी औषधी उपचारमा पहुँच हुने र ती औषधी खानेमध्ये ९५ प्रतिशतको शरीरमा भाइरसको भार (भाइरल लोड) न्यून भएको अवस्था रहने भनिएको छ ।

जसअनुरुप सन् २०२६ सम्ममै एचआईभीको आमाबाट बच्चमा हुने संक्रमणको उन्मुलन गर्दै २०३० सम्ममा मृत्यु र भेदभावलाई अन्त्य गर्ने योजना रहेको छ । जसकारण आजको यस दिनलाई विशेष रुपमा ‘इन्ड इन्क्वालिटिज, इन्ड एड्स’, अर्थात्, ‘असमानता हटाऔँ, एड्स अन्त्य गरौँ’ भन्ने मुल नाराका साथ विश्वभर मनाइँदै छ । जसमा नेपालले पनि अन्र्राष्ट्रिय यस लक्ष्य प्राप्तिका लागि हातेमालो गर्दै यसैमा आधारित भई एचआइभीको जाँच र उपचारको रणनीतिमा आधारित भएर एचआइभी तथा एड्ससम्बन्धि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

यद्यपि अझैपनि नेपालजस्तो पूर्वीय देशहरुमा संक्रमितमाथि गरिने भेदभाव र दुर्व्यवहार यस रोग रोकथाम र उन्मुलनको मुख्य चुनौती बन्न पुगेको छ । जसले अझैपनि एड्स संक्रमितहरु खुलेर बाहिर आउन सक्ने वातावरण छैन । तसर्थ यसै चुनौतीले विश्वकै रणनीतिमाथि पनि ठुलो प्रश्नचिञ्ह खडा गरेको छ, सन् २०३० सम्ममा के विश्व साँच्चै नयाँ एड्स संक्रमित रहित बन्ला त? त्यो भने हेर्न बाँकी नै छ ।