काठमाण्डौं-गाउँगाउँमा चुनावको चहलपहल बढिरहेको छ । उम्मेदवार घरदैलोमा व्यस्त छन् । तर, बाजुराको लेकाली क्षेत्रमा बसोबास गर्ने भोटे समुदायलाई बेंसी झर्ने हतारो छ । गाउँमा चिसो बढेपछि यी मतदाता परिवारसहित धमाधम औल झर्दै छन् । उनीहरू मतदानबाट समेत वञ्चित हुने भएका छन् ।


ADVERTISEMENT


हिउँदका ६ महिना औल र बाँकी ६ महिना घरमा बिताउने भोटे जनजाति परम्परागत जीवनशैलीमै छन् । शैक्षिक चेतनामा समेत यो समुदाय निकै पछाडि छ । पछिल्ला संवैधानिक प्रावधान तथा स्थानीय तहका हकअधिकारबारे समेत उनीहरू अनभिज्ञ नै छन् । मताधिकारको महत्त्व थाहा नभएको पाण्डुसेनकी पेमा थापाले बताइन् । ‘हाम्रो जिन्दगी भेडाच्यांग्रा पाल्नमै ठिक्क छ,’ पेमाले भनिन्, ‘भोट खसाल्न गाउँमै बस्दा भेडाच्यांग्रा भोकले मर्ने अवस्था आउँछ ।’


ADVERTISEMENT

# # #


पढेलेखेकाको संख्या अत्यन्तै न्यून भएकाले आफ्नो समुदायलाई मताधिकारको महत्त्व बुझाउन कठिन भएको भोटे जनजाति सेवा समिति अध्यक्ष बुद्धिसिंह बोगटी भोटे बताउँछन् । चिसो मौसममा उनीहरू जिल्लाका बेंसी क्षेत्र र अछामतिर सर्छन् । हिउँदका ६ महिना बेंसीमा बिताएर चैतवैशाखतिर मात्रै उनीहरू घर फर्कन्छन् ।