काठमाडौं –  नेपाली कांग्रेसको १४ औँ महाधिवेशन नजिकिएसँगै नेताहरुको सक्रियता बढेको छ । वडा अधिवेशनदेखि प्रदेश तहसम्मको प्रदेश सकिएपछि केन्द्रीय महाधिवेशनको लागि नेताहरुको सक्रियता बढेको हो।


ADVERTISEMENT


सतहमा देखिएअनुसार नेतृत्व हत्याउन कांग्रेसका विभिन्न समूह लागिपरेका छन् । सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल तथा महामन्त्री शशांक कोइराला, उपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री प्रकाशमान सिंह, शेखर कोइराला र सुजाता कोइरालालगायतका समूह पार्टी सभापतिको लागि आआफ्नो ठाउँबाट लागिपरेका हुन् । स्वतन्त्र रुपमा कल्याण गुरुङले समेत सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।


ADVERTISEMENT

# # #


उपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री प्रकाशमान सिंहले कांग्रेस सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । यसैबीच वर्तमान सभापति एवं प्रधानमन्त्री देउवाले पार्टी सभापतिमा पुनः एकपटक दोहोरिने चाहना व्यक्त गरिसकेका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले मुखै फोडेर पार्टी सभापतिको उम्मेदवार बन्छु भन्न सकेका छैनन् । उनले आफू पार्टीको नेतृत्वको लागि इच्छुक बताइरहे पनि आफ्नो समूहको एक्लो उम्मेदवार भन्न नसकेका हुन्। त्यस्तै महामन्त्री शशांक कोइराला, डा शेखर कोइराला र सुजाता कोइरालाले पनि पार्टी सभापतिमा आकांक्षा देखाएका छन् । तर महाधिवेशनमा उम्मेदवारी दिने नै भनेर निश्चित गर्न सकेका छैनन् ।

जिल्ला र प्रदेश अधिवेशनको परिणामले पनि वरिष्ठ नेता पौडेल, महामन्त्री कोइरालालगायतले पार्टी सभापतिको लागि जोडबल गर्न नसकेको कांग्रेस नेताहरु बताउँछन् । पार्टीमा वर्तमान सभापति देउवाको विकल्प खोज्नुपर्नेमा पौडेल, कोइरालात्रय, सिंह र निधि सबै एकमत भए पनि उनीहरुले आफूहरुमध्ये साझा सभापति उम्मेदवार तय गर्न सकेका छैनन् । साझा सभापति उम्मेदवार निश्चित गर्न पटकपटक बैठक र छलफल गरे पनि उनीहरु निष्कर्षमा पुग्न सकेका छैनन् ।

सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसकेका सिंह, निधि र शशांक कोइरालाले धेरै समयअघिदेखि सहमतिमा साझा सभापति उम्मेदवार तय गर्न प्रयास गरे पनि त्यसले मूर्त रुप लिएको छैन । कांग्रेसका पुराना नेताहरु बीपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिको विरासतमा राजनीति गरिरहेका ती नेताका पुत्रहरु कांग्रेसलाई एकजुट बनाएर नेतृत्व गर्न आकांक्षी भए पनि कसले नेतृत्व गर्ने भन्नेमा मतैक्य हुन सकेका छैनन् । सबैले नेतृत्वमा आफूलाई सहयोग गर्न आग्रह गरिरहेको कांग्रेस नेताहरु बताउँछन्। उनीहरुका अनुसार कोही त्याग गर्न वा नेतृत्वमा एकजनामात्रै हुने भए पनि पार्टीलाई सामूहिक नेतृत्वमार्फत अघि बढाउन इच्छुक छैनन् । गणेशमान पुत्र प्रकाशमानले त स्पष्ट भने, ‘सभापतिबाहेक अरु पदमा सम्झौता गर्न सकिन्छ ।’

पार्टीको संस्थापन पक्षबाट देउवा नै एकमात्र सभापतिका उम्मेदवार देखिन्छन् । तर संस्थापनइतर पक्षमा शीर्ष नेता जति सभापतिका आकांक्षी भएकाले उनीहरुलाई साझा सभापति उम्मेदवार तय गर्न हम्मेहम्मे भइरहेको छ। उनीहरु निरन्तर प्रयासमा जुटेका छन् । सोमबारसमेत वरिष्ठ नेता पौडेल निवास बोहराटारमा संस्थापनइतरका नेताहरुको बैठक बसेको थियो। तर कुनै सहमति हुनसकेन। बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री कोइराला, पूर्वमहामन्त्री सिंह र केन्द्रीय सदस्य शेखर कोइराला सहभागी थिए । उनीहरु सभापतिका आकांक्षीमध्येबाट एकजनालाई मात्र उम्मेदवार बनाउन सहमत भए पनि कसलाई उम्मेदवार बनाउने भन्ने टुंगोमा पुग्न सकेका छैनन् ।

आज पुनः संस्थापनइतरका नेताहरु बैठक गर्दैछन् । दिउँसो १ बजे उनीहरु नेता सिंहको चाक्सीबारीस्थित निवासमा बैठक बस्ने भएका हुन् । बैठकमा आफू पक्षीय केन्द्रीय सदस्यलाई समेत आमन्त्रण गरिएको नेता सिंहका प्रेस संयोजक युपी लामिछानेले जानकारी दिए ।
उनले संस्थापनइतर पक्षबाट सभापतिको साझा उम्मेदवार तय गर्ने प्रयासको लागि बैठक बस्न लागेको बताए ।