काठमाडौँ – कृषि रुपान्तरणका लागि समावेशी मूल्य श्रृंखला (भिटा) परियोजनाको लागि नेपाल सरकार र कृषि विकास बैंक लिमिटेडबीच सम्झौता भएको छ ।


ADVERTISEMENT


कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (आईएफएडी)को ऋण सहयोगमा अर्थ मन्त्रालय मार्फत कृषि विकास बैंक लिमिटेडद्वारा संचालन हुने भिटाका लागि मंगलबार ८ करोड ३३ लाख ५ हजार अमेरिकी डलरबराबरको सहायक ऋण सम्झौता भएको हो ।


ADVERTISEMENT

# # #


उक्त कार्यक्रममा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले र नेपाल सरकारको तर्फबाट सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका निमित्त प्रमुख ढाकाराम तिवारीले हस्ताक्षर गरेका छन् । यस परियोजनाबाट ६ वर्ष अवधिभित्र १ लाख २५ हजार कृषकहरु लाभान्वित हुने अनुमान गरिएको छ।

कृषि मूल्य श्रृंखलाको विकास र विस्तारका लागि कार्य गर्ने यस परियोजनाले कृषकहरुलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्नुका साथै हेफर इन्टरनेसनल संस्थासंग सहकार्य गर्दै कृषकहरुको क्षमता अभिवद्धि गर्ने कार्य समेत गर्ने लक्ष्य राखिएको छ । ३० वर्ष अवधिको लागि कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (आईएफएडी)को सहयोगमा नेपाल सरकार, अर्थ मन्त्रालय मार्फत कृषि विकास बैंकलाई प्राप्त यस ऋण रकम बैंकले नेपाल सरकारबाट ५ प्रतिशत व्याजदरमा पाप्त गर्ने छ ।

कृषि विकास बैंकले निकै लामो अन्तराल पपछि यस किसिमको सहुलियत ऋण सहयोग प्राप्त गर्न सफल भएको हो । बैंकिंग बजारमा देखिएको तरलता अभावलाई कम गर्न नेपाल सरकारको यस किसिमको कार्यक्रमले टेवा पुग्ने बैँकले जनाएको छ ।

उक्त सम्झौता कार्यक्रममा बैंकको तर्फबाट प्रमुख कर्जा अधिकृत प्रताप सुवेदी, विभागिय प्रमुख विना शर्मा, बैंकका प्रवक्ता तथा कम्पनी सचिव हिमलाल पौडेलको उपस्थिति थियो । नेपाल सरकारको तर्फबाट उपसचिव विमला अधिकारी तथा लेखा अधिकृत बुद्धराम मल्ल आलेसमेत उपस्थित थिए ।