नाकको सुख्खापन व्यक्तिमा प्रायजसो: देखापरिरहने समस्यामध्ये एक हो । प्रतिकूल वातावरणीय अवस्थाको समयमा देखिने यो समस्याबाट धेरैजना पीडित भएको देखिन्छ । यसै सन्दर्भमा नाक, कान तथा घाँटी विशेषज्ञ प्रा.डा. अनिल कुमार झासँग हिमालयपोष्टले गरेको कुराकानीको अंश :


ADVERTISEMENT


नाक सुख्खा हुने र चिलाउने किन हुन्छ ?


ADVERTISEMENT

# # #


नाकको सुख्खापनलाई केहि प्रतिकूल वातावरणीय अवस्थाको समयमा देखिने सामान्य लक्षणका रुपमा बुझ्नुपर्ने हुन्छ ।  मौसमको प्रतिकुलता, सुख्खा मौसम हुँदा र कम आद्रताजस्ता प्रतिकूल सबैखाले वातावरणीय अवस्थाका कारण नाक सुख्खा हुने, चिलाउने तथा पोल्ने हुन्छ । यसबाहेक केहि औषधिहरुको सेवनका कारण पनि व्यक्तिमा यस्तो समस्या साइड इफेक्टको रुपमा पनि देखा पर्ने देखिएको छ ।

यसैगरी धुलो धुवाँका कारण पनि व्यक्तिको नाक सुख्खा हुन पुग्छ भने, कतिपय व्यक्तिको बाफ लिने बानीले पनि यस्ता समस्या निम्त्याउन सहयोग पुगेको देखिन आएको छ । यस्तै साबुनको प्रयोग, पानीका कारण(विशेषगरी पौडी खेल्दा) र कतिपय व्यक्तिले प्रयोग गर्ने नाक स्प्रेले पनि व्यक्तिमा यस्तो समस्या निम्त्याउने देखिएको छ । यसका अतिरिक्त  आफ्नो काम उचित रुपमा गर्न नाकलाई निश्चित स्तरको आद्रता आवश्यक पर्दछ । तसर्थ यस्ता विविध कारणले नाकको मोस्चराइजर (ओसिलो) रहने ग्रन्थीलाई असर पार्दछ । जसकारण पनि नाक सुख्खा हुने हुन्छ । यसर्थ  नाक सुख्खा हुने समस्या व्यक्तिमा विशेषगरी एलर्जीको रुपमा देखा परेको छ भन्दा फरक पर्दैन  ।

यस्तो हुँदा देखिने समस्याहरु वा लक्षणहरु के-के हुन् ?

नाकको सुख्खापन भएका व्यक्तिमा  देखिने लक्षहरुमा रक्तश्राव, सुघ्ने शक्तिमा कमी, हाछ्युँ आउने, आँसु बग्ने, नाक बन्द हुने वा नाकबाट पातलो सिंगान बगिरहने, नाक रातो भई तात्तिने र सुन्निने हुन्छन् ।

कसरी समाधान गर्न सकिन्छ ?

एलर्जी भनेको कुनै रोग होइन । कुनै एलर्जी शरीरको सम्पर्कमा आउने बित्तिकै त्यसले आफ्नो प्रभाव स्वरुप विभिन्न लक्षणहरु देखाउन थाल्दछ । तसर्थ यस्ता समस्या देखा नपरोस् भन्नका लागि सर्वप्रथम त व्यक्तिले आफूलाई के–कारणले यस्तो समस्या देखापर्यो भनेर त्यसको कारण पत्ता लगाउनु पर्दछ ।  कारण पहिचान गरी त्यस कारणबाट टाढा रहनु वा सो चीजको उचित व्यवस्थापन गर्नु नै यस समस्याबाट बच्ने उत्तम उपाय हो । अर्थात्, यदि व्यक्तिमा अत्याधिक धुलो–धुवाँको कारण यस्ता समस्या देखिएको हो भने, व्यक्तिले मास्कको प्रयोग गरेर पनि उक्त समस्याबाट टाढा रहन सक्छ ।

यस्ताखाले बिरामीले अस्पताल जानु पर्छ कि पर्दैन ?

यस किसिमको लक्षण सहित देखिएको नाकको सुख्खापनलाई चिकित्सा क्षेत्रमा गम्भीर समस्याको रुपमा लिइने हुनाले यसको उपचार भने समयमै गर्नुपर्दछ । यस्तै कतिपयलाई दैनिक जीवनमा आवश्यक पर्ने घाम, हावा तथा पानीबाट पनि यस्ता समस्या देखिने हुँदा त्यस्ता समूहलाई पनि उपचार आवश्यक पर्दछ । तसर्थ त्यस्ता व्यक्तिले तुरुन्त चिकित्सकको परामर्श लिनुपर्दछ ।

(प्रा.डा. झा नेपाल मेडिकल कलेज, अत्तरखेलमा कार्यरत छन् ।)