मेखबहादुर थापा : अध्यक्ष, मर्चेन्ट बैंकर्स संघ


ADVERTISEMENT


अहिले क्यापिटल मार्केटको अवस्था कस्तो छ र यसलाई कस्तो कुराले असर पुर्याउँछ ?


ADVERTISEMENT

# # #


अहिले समग्र पूँजी बजारको अवस्था हेर्ने हो भने अभिभावकत्व नभएको अवस्था छ । धितोपत्र बोर्डमा र स्टक एक्स्चेन्ज सबैतिर नेतृत्व नभएको अवस्था हो । त्यसले गर्दा धेरै किसिमका कामहरु रोकिएको अवस्था  छ । तैपनि, रोक्न नमिल्ने कतिपय कामहरु चरिहेका  छन् । नयाँ खालका कामहरु भने अघि बढ्न सकिरहेको छैन ।

क्यापिटल मार्केटलाई धेरै कुराले असर गर्छ । यसमा सरकारको नीति मुख्य रहन्छ । त्यसैगरी नियमनकारी निकायको व्यवस्थापन र उसले लिने सोच र दिशानिर्देशले पनि यसलाई प्रभाव पारेको हुन्छ । जुन अहिलेको अवस्थामा जसको अहिले कमी महसुस भएको छ । त्यसबाहेको देशको आर्थिक अवस्था, तरलताको स्थिति र ब्याजदरको अवस्थाले पनि यसमा प्रभाव पारेको हुन्छ । यस्ता विषयमा  नियमनकारी निकाय मौन भएको देखिएको छ । यसले अहिले देशको पूँजी बजार कतातिर ढल्कँदै छ भन्ने प्रश्न पनि खडा भएको छ ।

यसका अतिरिक्त लगानी कर्ताको सहभागिता र जनचेतानाको स्तरले पनि पूँजी बजारलाई प्रभाव पारेको हुन्छ । जनचेतानाको स्तर अहिले ठिकै देखिएको छ ।

धेरैभन्दा धेरै आम नागरिकलाई सेयर बजारमा लगानी गर्ने वातावरण बनाउन क्यापिटल मार्केटले कस्तो भूमिका निभाउनु पर्छ ?

यसमा जनचेतना अभिवृद्धि भन्ने कुरा एकदमै महत्वपूर्ण छ । पूँजी बजारको तरिका प्राविधिक पाटो भएकाले आम मान्छेले सजिलै बुझिहाल्न अप्ठेरो छ । बुझाउन लागे पनि बुझ्न नचाहने अवस्था पनि छ । यसकारण जनचेतना जगाउने कुरामा क्यापिटल मार्केटले काम गर्नुपर्ने देखिएको छ । यसमा सबै पक्ष मिलेर गर्न सके राम्रो हुन्छ । डिपीबाटचाँहि हामी केहि हदसम्म कुरा बुझाउन सफल पनि भयौं । डिपीबाट बैंकहरुले पनि सुविधा दिएर यसमा काम गरे । यो राम्रो कुरा पनि हो । यसले आईपीओमा धेरै ग्राहकहरुलाई जोड्न मद्दत गरेको छ ।

आईपीओमा जोडिएका धेरै ग्राहकहरुले अझै पनि सेयर बजारलाई राम्ररी बुझिसकेका छन् भन्ने लागेको छैन । उहाँहरुलाई यसबारेमा जानकारी दिन संस्थागत र संगठित रुपमा पहल गर्न जरुरी छ । आ-आफ्नो क्षेत्रबाट सबैले गरिरहनुभएको पनि छ ।

मर्चेन्ट बैंकर्स संघले पनि नाफिससँग मिलेर  एक दुई चरण पूँजी बजारलाई बुझाउने काम  गरेकाे छ । यसलाई अझ प्रभावकारी बनाउन मर्चेन्ट बैंकर्स संघले प्रदेश स्तरीय जनचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । म त्यस संस्थाको अध्यक्ष पनि भएकाले मैँले निभाउनुपर्ने भूमिका धेरै छ । १०-१५ दिनभित्र नै हामी कुनै न कुनै प्रदेशमा यो कार्यक्रम गरिहाल्ने तयारीमा छौं । विस्तारै सातै प्रदेशमा गएर पूँजी बजारसम्बन्धी जनचेतना जगाउनुपर्छ भन्ने लागेको छ । त्यसका अतिरिक्त कलेजहरुमा र विभिन्न स्थानमा पनि यस्ताखाले कार्यक्रम चलाउन आवश्यक छ । वेभसाइट र सामाजिक सञ्जालमा पनि यस्ता क्याम्पेनहरु चलाउने काम  हामीले गरिरहेका छौं । यसलाई अझै प्रभावकारी बनाउनुपर्छ भन्नेमा मेरो जोड छ ।

क्यापिटल मार्केटमा जनचासो र आकर्षण बढाउन के गर्नुपर्ला ?

पूँजी बजारमा आम सर्वसाधारण जोडिन आवश्यक छ । हामी बचतभन्दा माथि उठ्न नसकेको कारण पनि जोडिन आवश्यक छ । बचत नै गर्ने बानी पनि हाम्रोमा कमजोर छ । हामी खर्च  बढी गर्छौं । विभिन्न डाटाहरुले खर्च बढी गर्ने गरेको देखाएको छ । यदि बचत छ भने पनि लगानी गर्ने हाम्रो प्रवृत्ति छैन । बचत गर्ने बानीको विकास र बचतलाई लगानी गर्न पूँजी बजारमा जोडिन एकदमै जरुरी हुन्छ ।

पूँजी बजारमा जोडिँदा कसरी जोडिने भन्ने कुरा बचतको रकम, आयआर्जनको अवस्था, कति समय रोकिएर बस्न सक्ने र कति रकमलाई जोखिम लिनसक्ने भन्ने कुरामा भर पर्ने कुरा हो । बचत आयआर्जन राम्रो छ भने सेकेण्डरी मार्केटमा काम गर्दा राम्रो हुन्छ । सीमित रकम छ भने आईपीओमा जोडिनु राम्रो हुन्छ । जसमा कम जोखिम हुन्छ । अथवा म्युचल फन्डमा लगानी गर्दा राम्रो हुन्छ । म्युचल फन्डमा पनि हाम्रोमा हजार रुपैयाँबाट लगानी गर्न सकिने व्यवस्था छ । यसलाई क्रमिकरुपमा बढाउन सकिन्छ । हाम्रोमा अहिले सातवर्षको अवधिमा १७ प्रतिशत रिटर्न दिनसक्ने म्युचल फन्ड बनिसकेको छ । वार्षिक १७ प्रतिशत रिटर्न भनेको राम्रो रिटर्न हो । बैंकको ब्याज एकदमै बढेको बेला पनि १२-१३ प्रतिशतमा समेटिने हुन्छ ।

म्युचल फन्डमा जोडिएर पनि विस्तारै लागानीलाई बढाउन सकिने भएकोले पूँजी बजारलाई बुझ्न खोज्नुपर्दछ । थोरै लागानीलाई बढाउँदै जाँदा पनि यसले आर्थिक वृद्धि हुन्छ । जसले ठूलो गर्जो टार्न सर्वसाधारणलाई मद्दत गर्छ । आईपीओबाट एक्का-दुई सेयर पर्दा पनि एकदुई लाखसम्म सजिलै कमाएको हामी देखिरहेका छौं । यसले पनि आर्थिक समस्यालाई हल गरेको छ । यी कुरा सम्झाउन सकेको खण्डमा आकर्षण बढ्दै जान्छ । सुरुवातमै धेरै पैसा  ल्याएर सेकेण्डरी मार्केटमा लगानी गर्न उक्साउन पनि हुँदैन । यस्तो गर्दा अप्ठेरो अवस्था सिर्जना हुनसक्छ । यसका स्टेपहरु सिक्न, सिकाउन आवश्यक छ ।  त्यसैगरी यसको बानी पार्न आवश्यक छ । त्यसले आकर्षण बढ्छ भन्ने मलाई लाग्छ ।

सेकेण्डरी मार्केटमा काम गर्न चाहने हो भने लगानी पनि अलिकति चाहिन्छ । होल्ड गर्न सक्ने क्षमता पनि चाहिन्छ । जोखिम पनि मोल्न सक्नुपर्छ । त्यसको लागि सर्वसाधारणलाई यसका बारेमा जानकारी दिनु एकदमै जरुरी कुरा हो । जनचेतना जागेका निश्चय नै बजारमा आकर्षण बढ्नेछ । कतिपय व्यवसाय गरिहेकाहरुले पनि यो कुरा  बुझेका छैनन् । विभिन्न समितिहरुमा व्यवसाय गरिरहेकाहरुले सेयर बजारमा नजोडिएका व्यवसायीलाई जोड्न पहल गर्नुपर्छ भनेर म आफ्नो धारणा राखिरहेको हुन्छु ।

उद्योगीहरु  पैसा चाहिएपछि लोन लिन बैंक धाइरहेको देख्न सकिन्छ । अरु विकल्प छनोट नगर्ने बानी परेको छ । पूँजी बजारबाट  लगानीको रकम लिन सकिन्छ भन्ने व्यवसायीहरुको दिमागमा परिसकेको छैन । म बानी पार्न जरुरी रहेको देखिरहेको छु । पूँजी बजारलाई  लगानीयोग्य रकम उठाउन मिल्ने माध्यम बनाउनुपर्छ ।  यो कुरा उहाँहरुलाई जानकारी दिन र बुझाउन आवश्यक भएको छ ।

नयाँ कम्पनीहरुले  प्राइभेट कम्पनी बनाउनुभन्दा पब्लिक कम्पनी बनाउन पहल गर्नुपर्छ । सर्वसाधारणको लगानी भएको कम्पनीको फाइदा  धेरै छ । ट्याक्स छुटका कुराहरु  यसमा जोडिएर आउँछन् । पब्लिक कम्पनीलाई विज्ञापनको पनि जरुरी हुँदैन । कुनै कुरा खरिद गर्नुपर्दा  सर्वसाधारणले आफ्नै कम्पनीको सामान खरिद गर्छन् । यसका  फाइदाहरुको जति व्याख्या गरे पनि  कम नै हुन्छ । फाइदाका कुरा हामीले उद्योगीहरुलई बुझाउन सकिरहेका छैनौं । ‘फाइदा  कमाऊ र फाइदा अरुलाई पनि देऊ’ भन्ने कुरा सोचेर व्यवसाय गर्ने हो भने त्यसले सर्वसाधारणलाई आकर्षित गर्छ ।

अर्थतन्त्र चलायमान भए-नभएको अवस्थामा कस्तो छ यसको अवस्था ?

पूँजी बजारका हिसाबमा अर्थतन्त्र चलायमान नै छ भन्नुपर्छ । यसलाई निर्धारण  दुई कुराले गरिन्छ । प्राथमिक बजारमा हाल आईपीओहरु रोकिएको छ । धितोपत्र बोर्डमा अध्यक्ष नहुँदा आईपीओहरु रोकिएका हुन् । आईपीओहरु रोकिएका भए पनि विस्तारै जारी गर्ने भन्ने देखिन्छ ।

कुनै पनि कम्पनीको एकखाले नीति रहेको हुन्छ । बजारबाट कहिले पैसा ल्याउने, कहिले पठाउने र कहिले आईपीओ जारी गर्ने भन्ने हुन्छ ।  यी कुरा सरकार परिवर्तन भयो वा नियमनकारी निकायमा मान्छे भएनन् भनेर रोक्नु हुँदैन । आईपीओ जारी गर्ने भनेको पूँजी बजारको सामान्य कुरा हो । यति सामान्य कुरा पनि रोकिने ठप्प हुने स्थिति सरकारले कहिले पनि सिर्जना गर्न हुँदैन । यसलाई मिडियाहरुले पनि उठाइरहेका छन् ।

त्यसकारण आईपीओचाँहि अब विस्तारै नरोक्ने भन्ने कुरा आएको छ । त्यसो हुँदाहुँदै पनि आईपीओ ढिला हुने पनि हामीले देखिरहेका छौं । यसका विषयमा राम्रो व्यवस्थापन भइसकेको देखिएको छैन । यसकारण प्राथमिक बजार धिमा गतिमा नै भए पनि चलायमान नै छ । प्राथमिक बजार रोकिएर ठप्प भएको त होइन तर देशकै गतिअनुसार धिमा हिसाबले चलेको भनौं ।

दोस्रो बजारमा भने खास कुनै असर छैन । यो चलिरहेको पनि छ । दोस्रो बजारमा मुद्राको स्थिति, विदेशी मुद्रा संचिती र त्यसको अवस्था, तरलताको अवस्थाहरुले मुख्य भूमिका खेलिरहेको हुने हुँदा यो चलि नै रहेको छ । सरकारमा मान्छे नहुने वा नियमनकारी निकायमा पद खाली हुनुले यसलाई खास असर गर्दैन । तसर्थ पूँजी बजारको अहिलेको अवस्थामा चलायमान नै छ भन्न सकिन्छ ।

सेकेण्डरी मार्केटमा लगानी गर्न उद्योगीहरु पनि डराएका हुन् कि यसलाई कसरी लिनुहुन्छ ?

सेकेण्डरी मार्केटमा लगानी गर्ने कुरामा सबैका आफ्नै धारणा हुने गर्दछन् । सेकेण्डरी मार्केटमा लगानी गर्न यहाँ जोखिम हुन्छ, म जोखिम मोल्न तयार छु भन्ने धारणा त लिनैपर्ने हुन्छ । जोखिमसहित म लगानी गर्छु भन्ने सोच त हुनै पर्दछ । अर्को कुरा ट्रेडरको रुपमा जाने हो कि इन्भेष्टरको रुपमा जाने हो त्यसमा पक्का हुनुपर्दछ । ट्रेडरको रुपमा जाने हो भने कति प्रतिशत फाइदा चाहिने हो त्यो पहिले नै निर्क्यौल गर्नुपर्ने हुन्छ । मार्केटमा बिग्रने कारण भनेको लोभ र डर हो । बजार बढेको देखेर लोभ गरिराखेर नबेच्ने हो भने बिग्रन सक्छ । कुनै लक्ष्य राखिएको प्रतिशत नाफा भएपछि बेचदिनु राम्रो हुन्छ ।

घाटा भएको खण्डमा पनि अब बढ्छ कि भनेर कुरिरहनु पनि हुँदैन । भोलि बजार घटेर तल पुग्न पनि सक्छ । तसर्थ बजार घटिहँदा पनि बेच्नु राम्रो हुन्छ । जसमा कति प्रतिशतसम्म घाटा पर्खने भन्ने कुरा हुन्छ । ३४ सयमा पुगेको मार्केट पनि २४ सयमा  झरेको पनि देखिएको  छ । त्यसैले ट्रेडरले कति घाटा र कति नाफा लिने हो त्यो कुरा पहिले नै निर्क्यौल गरेको राम्रो मानिन्छ ।

यदि इन्भेष्टरको रुपमा जाने हो भने फन्डामेन्टल निरिक्षण गर्नुपर्ने हुन्छ । कुन कारणले बजार घटिरहेको छ, कुन कारणले बढिरहेको छ भन्ने कुरालाई ध्यानमा राख्नुपर्ने हुन्छ । यदि कुनै बैंकको सेयर किन्ने हो भने कति बिन्दुमा आएपछि किन्ने हो त्यो कुरा धारणा बनाउनुपर्छ । अब कति वर्ष चुपचाप बस्ने हो भन्ने पनि निर्धारण गर्नुपर्ने हुन्छ । ट्रेडरको तुलनामा इन्भेष्टरले नै राम्रो जित पाएको पनि हामीले देखेका छौं ।

ट्रेडरमाचाँहि हरेक दिनको बजारको अवस्था जानकारी हुनुपर्दछ । यसमा बढी जोखिम पनि छ । बजारको राम्रो ज्ञान छ भने ट्रेडरले पनि राम्रो आयआर्जन गर्न सक्छ । बजारका हरेक गतिविधिलाई ट्रेडरले नजरअन्दाज गरेको हुनुपर्छ । सर्ट टर्ममा लगानी र फाइदा खोज्नुपर्ने भएकाले ट्रेडरले बजारका हरेक कुरामा विचार गर्नुपर्दछ ।

इन्भेष्टरको रुपमा जानेले सबै कुरा पहिले नै विचार गरेर लामो समय बस्ने गरी कुनै कम्पनीको बारेमा अध्ययन विश्लेषण गरेर लगानी लगाउनु  राम्रो हुन्छ । यी र यस्ता कारणले यो कम्पनी राम्रो छ । यसले ग्रोथ गर्न सक्ने आधार यस्ता रहन सक्छन् भनी केलाएर लगानी गर्नु पर्दछ । साथीभाइको लहलहैमा लागेर लगानी गर्ने भन्ने कुरा पनि होइन । साथीभाइले कमाएको कुरा गर्छन् गुमाएको कुरा गर्दैनन् । त्यसैले धेरै कुरा सोचेर लगानी गर्नुपर्दछ । सबैको कुरा सुन्ने र आफ्नो निर्णय गर्नु नै बुद्धिमानी हो । अर्को महत्वपूर्ण कुरा बजारको अवस्थाबाट आत्तिनुहुन्न ।

दोस्रो बजारमा दैनिक कुनै कम्पनीको भ्यालु घट्ने र कुनैको बढ्ने भइरहेको हुन्छ, यो कसरी हुन्छ ?

दोस्रो बजारको सुन्दरतम पक्ष नै यही हो । हामी बजारमा धेरै खरिदकर्ता र विक्रेता हुनुपर्छ भनिराखेका छौं । धेरै खरिदकर्ता र विक्रेता हुँदा सबैको आआफ्नो खाले सोचाई हुन्छ । सबैको आआफ्नो खाले दृष्टिकोण हुन्छ । एकै चीजलाई कसैले बढी मूल्य तिरिरहेको हुन्छ भने कसैले कम तिरिरहेको हुन्छ । यो दृष्टिकोणमा भर पर्ने कुरा हो । बजारमा कारोबार समय, परिस्थिति र व्यक्ति अनुसार फरक परिरहेको हुन्छ । यो व्यापारको सामान्य नियम हो । हामी यस्तो अवस्था सेयर बजारमा मात्र नभएर अन्त पनि देख्न सक्छौं ।  पसल अनुसार  आलुको मूल्य फरक परे जस्तै कुरा पूँजीबजारमा पनि रहेको छ । आलुको मूल्यमा सरसफाइ, प्रस्तुतीकरण, क्वालिटी फरक भएकोले यस्तो भएको हुनसक्ने भए पनि मूल्य त फरक परिरहेको हुन्छ । सेयर बजारको पनि यही कुरा हो ।

अहिलेसम्म डिम्याट खाता पनि नखोलेका मानिसहरु  बजारमा आउने कसरी हो प्राथमिक कुराहरु नै प्रकाश पारिदिनुहोस् न ? 

पहिलो भनेको डिम्याट खाता खोल्ने हो । खाता खोल्न अहिले त्यति गाह्रो छैन । अनलाइनबाट पनि खाता खोल्न सकिन्छ । बजारको बारेमा पनि थोरै आइडिया लिनु राम्रो हुन्छ । सेयरका बारे, आईपीओका बारे, अप्लाई गर्ने तरिकाबारे र बेच्नेबेला कसरी गर्ने हो यस्ता आइडियाहरु लिनुपर्छ । यो आधारभूत कुरा हो ।

तपाईं भर्खरै बजारमा आउनुभएको हो भने आईपीओ वा म्युचल फन्डमा लगानी गर्नुहोस् । आईपीओ भर्न अहिले सजिलो छ । बैंक खातासँग डिम्याट खाताको लिंक भएको कारण यसमा झन्झट छैन । आईपीओ भर्न मेरो सेयर एपबाट सकिन्छ । म्युचल फन्ड किन्न चाहने हो भने अनलाइनबाट नै ओपन्डेड म्युचल फन्ड किन्न सकिन्छ । हाम्रै क्यपिटलको वेबसाइडमा गएर हेर्दा पनि सबै कुरा जानकारी लिन सकिन्छ । त्यसमा बताए अनुसार गर्दै गए पनि हुन्छ । यसमा तपाईंले नियमित बानी पार्नु पर्छ । लगानी गर्दा नियमित भइयो भने त्यसले फाइदा गर्छ । बीचमा छाड्नु हुँदैन ।

सेकेन्डरी मार्केटमा काम गर्ने हो भने ब्रोकर एकाउन्ट पनि खोल्नुपर्दछ । यसपछि सेकेन्डरी मार्केटमा वाइसेल गर्न सकिन्छ । सानो लागनीबाट बढाउँदै जाने तरिका यही नै हो । ठूला लगानी गर्नेहरुले भने क्यापिटलमा सम्पर्क गर्दा पनि हुन्छ । जसमा तपाईंका इच्छाअनुसारको सेवा दिने काम हुन्छ । सेयर बजारको जानकारी नभएका समय पनि नभएका ठूलो लगानी गर्न चाहने ग्राहकहरुले ‘पोर्टफोलीओ म्यामेजमेन्ट’मा पैसा लगानी गर्दा राम्रो हुन्छ । लगानी गरेपछि त्यसको नाफा भयो कि भएन । के हुँदैछ भनी घरमै बसेर जानकारी लिन सकिन्छ ।

सेयर मार्केटले विकास र समृद्धिको नारालाई कसरी अघि बढाउन सक्छ ?

विकास र समृद्धिका कुरालाई आवश्यक पर्ने कुरा नै पूँजी हो । नेपालमा पूँजीगत खर्च जुटाउन नै सरकारलाई हम्मेहम्मे परेको अवस्था छ । यसकारण पूँजी जुटाउने एउटा महत्वपूर्ण बजारका रुपमा पूँजीबजारलाई बुझ्नुपर्ने हुन्छ । पूँजीबजारबाट पूँजी जुटेको हामीले देखिरहेका पनि छौं । आईपीओबाट नै धेरै कम्पनीहरुले अरबौं रकम उठाएर लगानी गर्न सक्षम भएका छन् । यसले देश विकास भएको छ । लगानीकर्ता पनि आकर्षित भइरहेको अवस्था छ ।

लगानी गरेको रकमको राम्रो व्यवस्थापन गरेर कम्पनीहरु चलिरहेका छन् । सरकारले यसलाई व्यवस्थित गरिदियो भने लगानीयोग्य रकम नपाएर हामी भौंतारिनु पर्दैन । देश विकास र आर्थिक समृद्धिको लागि पूँजी चाहिने हुँदा सेयर मार्केटबाट प्रशस्त पूँजी संकलन हुन्छ । यसले देश विकास र समृद्धिमा टेवा पुगिरहेको छ । नेपालमा नै भएको आन्तरिक पूँजीलाई संकलन गर्न नसकेर देशले वैदेशिक रोजगार र वैदेशिक सहायता खोजिरहेको अवस्थामा आन्तरिक पूँजी परिचालन गरेर देशलाई विकास गर्ने महत्वपूर्ण कोशेढुंगाको रुपमा यसलाई बुझ्नुपर्ने हुन्छ ।

देश विकास र समृद्धि साँच्चै चाहने हो भने आन्तरिक पूँजीको परिचालन गर्नैपर्दछ । त्यो पूँजीबजारमा टिकेको हुन्छ । पूँजीको परिचालनबाट नै विश्वमा विकसित देश बनेका छन् । नेपालले पनि शेयर मार्केटको माध्यमबाट आन्तरिक पूँजी परिचालन गर्दै समृद्धिको लक्ष्य हासिल गर्न सक्छ ।

नियमनकारी निकायलाई के भन्न चाहनुहुन्छ ?

पूँजी बजारमा सेकेन्डरी मार्केट भाइब्रेन्ट हुनुपर्दछ । राज्यका विभिन्न तप्कामा बसेका मान्छेले सेकेन्डरी बजारलाई अनुत्पादक भयो भनेर आरोप लगाउने गर्दछन् । यसो गर्नु हुँदैन । प्राइमरी मार्केटलाई अनुत्पादक नभन्ने भएपछि सेकेन्डरी मार्केटलाई अनुत्पादक भन्न मिल्दैन । सेकेन्डरी मार्केट भनेको प्राइमरी मार्केटकै ‘वाइप्रडक्ट’ हो । कुनै कम्पनीले कसैलाई कम्पनीको हिस्सा दिन्छ तर त्यो किनबेच नहुने हो भने त्यसमा कसैले लगनी गर्छ ? अवश्य पनि गर्दैन । बेच्न चाहेको मान्छेको तरलता प्रवाह गर्ने काम सेकेन्डरी मार्केटले गर्दछ । तसर्थ यो ‘वाइप्रडक्ट’ हो अनुत्पादक होइन ।

यसभित्र हुनसक्ने नराम्रा गतिविधिलाई राज्यले हेर्नुपर्दछ । आरोप लगाउने काम गर्नुहुँदैन । नियमन गर्ने काम गर्नु पर्छ । रुख नै काट्न पर्छ भन्ने गर्नु हुँदैन । सफ्टवेयरलाई सुधार गर्ने नियम बनाउने सकारात्मक बाटोमा नियमनकारी निकायले काम गर्नु पर्छ । नियमनकारी निकायले समयमा निर्णय दिने र समाधान दिने काम गरिरहेका छैन । यो विचारणीय कुरा हो । हाम्रो भोगाइ अनुसार नेप्से र सीडीएस पूर्वाधारमा बेजोड हुनुपर्छ त्यो भइराखेको छैन । यो दुखको कुरा हो ।

नियमनकारी निकाय बलिया भए मात्र लगानीकर्ताको आकर्षण बढ्छ । विदेशी लगानीकर्ता पनि हामीकँहा आकर्षित हुनुपर्छ । नेपालले मात्र सबै कुरा गर्न सक्छ भन्ने कुरा पनि होइन । यसलाई महत्व दिनुपर्छ । अर्को कुरा मार्केटको दबाब अनुसारकै नियम बन्ने भएको हुँदा मार्केटले पहिले लिड गर्न  जरुरी छ । मार्केट बाहिर जान लागेको बेला रेगुलेटरले हात उठाउनु हुँदैन । नियम छैन भने त्यतिबेला नियम बनाउनुपर्छ । धितोपत्र बोर्ड र अर्थमन्त्रालयले पनि यसमा विचार गर्नुपर्छ ।

नीति नियम आइसकेपछि बलियो भएर पालना पनि गराउनुपर्छ । त्यसै छाडिदिनु उचित हुँदैन । दूरसञ्चार कम्पनीहरु आईपीओमा जानैपर्ने भन्ने नियम आएको धेरै भयो । तर, कुनै कम्पनी जानै चाहेका छैनन् । नियम नमाने पनि यस्ता कुरामा छुट भइरहेको देखिएको छ । नियमहरु बनिरहेका छन् । त्यसलाई त्यसै छाडिएको छ । यसमा रेगुलेट भयो भने राम्रो हुन्छ । पूँजी बजारको विकास समग्र अर्थतन्त्रको विकास भएको हुँदा राज्यले यसमा ध्यान दिन आवश्यक छ ।