काठमाडौँ – नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महतले सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवामा सबैलाई मिलाएर लैजाने क्षमता रहेको बताएका छन् ।


ADVERTISEMENT


सभापतिमा निर्वाचित देउवालाई शुभकामना प्रदान गर्न बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा बोल्दै नेता महतले सबैलाई मिलाएर लैजाने खुबी भएकै कारण देउवा दोस्रो पटक निर्वाचित भएको बताए ।


ADVERTISEMENT

# # #


१४औँ महाधिवेशनमा महामन्त्रीका उम्मेदवार समेत रहेका उनले भने, ‘‘उहाँलाई जसरी समग्र पार्टी पक्तिले समर्थन गर्यो, त्यसबाट पनि के जाहेर हुन्छ भने उहाँ सबै नेताहरुलाई जोड्न सक्नुहुन्छ । कसैलाई पनि असुरक्षाको अनुभूति हुँदैन भन्ने विश्वासले नै उहाँले समर्थन पाउनु भयो ।’ नेता महतले मूल अर्जुनदृष्टि आगामी निर्वाचन भएकाले अब त्यसतर्फ अघि बढ्ने बताए ।

महतले भने, ‘उहाँको दोस्रो कार्यकाल हामी बलियो टिमवर्क गरेर पार्टीलाई आधुनिक, विस्तारित, सुदृढ, जनताकेन्द्रित, देशको स्वार्थ र आवश्यकताकेन्द्रित एउटा गतिशील पार्टी निर्माण गर्छौं ।’

दोस्रो चरणको मतदानमा ४ हजार ६२३ मत खसेकामा देउवाले २७३३ मत प्राप्त गरेका थिए भने निकटतम प्रतिद्वन्द्वी कोइरालाले १८५५ मत प्राप्त गरेका थिए । ३५ मत भने बदर भएको थियो ।

यसअघि २०७२ सालमा भएको तेह्रौँ महाधिवेशनमा तत्कालीन पार्टी उपसभापति रामचन्द्र पौडेललाई हराएर देउवा कांग्रेसको पार्टी सभापतिमा निर्वाचित भएका थिए ।