काठमाडौँ– अर्थमन्त्री जनार्दन शर्माले विद्युत बिक्रीभन्दा खपत गर्नुपर्ने नीति लिनुपर्ने बताएका छन् । बुधबार नेपाल उद्योग वाणिज्य महासंघले गरेको नव उत्थान सम्मेलनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले विद्युत बिक्री गरेर व्यापार घाटा कम नहुने बताउँदै यसका लागि खपततर्फ पनि ध्यान दिनुपर्ने सुझाव दिएका हुन् ।
विद्युत खपत गरी वस्तु उत्पादन र रोजगारी सृष्टि गरेर मात्र व्यापार घाटा कम गर्न सकिने उनको भनाई छ । यसका साथै विद्युत महशुल घटाएर उत्पादन गर्ने उद्योगहरूलाई उपलब्ध गराउनुपर्ने उनको तर्क छ ।
विद्युत बिक्रीप्रति प्राधिकरण चिन्ता रहेको बताउँदै उनले भने, ‘विद्युत बिक्रीबाट अर्थतन्त्र बलियो हुदैँन । बरु बिक्रीभन्दा पनि उत्पादनशील उद्योगहरूलाई सहुलियतमा विद्युत उपलब्ध गराएर खपत बढाउनुपर्छ ’ अघि बोल्दै उनले भने, ‘विद्युत उद्योगलाई नदिने अनि खेर फाल्ने किसिमको नीतिलाई सरकारले सच्याउँछ । एकातिर विद्युत खेर गइरहेको छ, अर्कोतिर उद्योगले चलाउन पाएको छैन । यसले गर्दा रोजगारी सृष्टि हुन पाएको छैन ।’
नीति परिमार्जन गर्ने बारे मन्त्रालय र सम्बन्धित निकायसँग छलफल भइरहेको जनाकारी दिदैँ उनले यसलाई आगामी आर्थिक वर्षमा समेत समेटिने जनाए ।
उहाँले कुन उद्योगलाई कहाँ कति विद्युत उपलब्ध गराउनुपर्ने हो त्यसको यथेष्ट तथ्याङ्क बनाएर विद्युत उपलब्ध गराउनुपर्ने बताउनुभयो । विशेषगरी उत्पादन गरेर निर्यात गर्न सक्ने किसिमको उद्योगलाई प्राथमिकतामा राखेर विद्युत सहुलियतमा उपलब्ध गराउनुपर्नेमा जोड दिदैँ उनले यसबाट मुलुकलाई उत्पादनुमुखी अर्थतन्त्र निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
यस्तै निजी क्षेत्रले मुलुकको ग्राहस्थ उत्पादनमा ठूलो योगदान गरिरहेको स्मरण गर्दै मन्त्री शर्माले निजी क्षेत्रकै सुझावअनुसार आगामी नीति तय गरिने पनि बताए ।