काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशनमा उप-सभापति पदमा निर्वाचन हारेकी नेतृ सुजाता कोइरालाले हारलाई सहर्ष स्वीकार गर्दै राजनीतिक रुपमा आफूले जितेको बताएकी छन्  । कोइरालाले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै अमूल्य मतको सँधै सम्मान गर्नेसमेत उल्लेख गरेकी छन् ।


ADVERTISEMENT


साथै कोइरालाले आफूले उठाउँदै आएको लैङ्गिगलगायत सबै किसिमका अससमानताको विरुद्ध अविचलित रही लडिरहने प्रण पनि व्यक्त गरेकी छन् ।


ADVERTISEMENT

# # #


आफ्नो उम्मेदवारीले महिलालाई भविष्यमा कांग्रेसको नेतृत्वमा पुग्ने ढाेका खुलेको भन्दै कोइरालाले लेखेकी छन्, ‘भाेलि कांग्रेसकाे नेतृत्वमा महिला पुग्ने ढाेका खुलेकाे छ।’

यस्तो छ कोइरालाको पोष्ट: 

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा म र मेरो टिमलाई अमूल्य मत दिने सबैमा हृदयदेखि धन्यवाद दिन्छु । तपाईंहरुले दिनुभएको अमूल्य मतको सँधै सम्मान गर्नेछु । मैले उठाउँदै आएको लैङ्गिगलगायत सबै किसिमका अससमानताको विरुद्ध अविचलित रही लडिरहने प्रण गर्दछु ।
मैले यो महाधिवेशनबाट आफूलाई विजयी ठानेको छु । कांग्रेस पार्टी र राज्यको हरेक निकायमा महिलाको समान सहभागिताका लागि मैले उठाएको मुद्दाले राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रसम्म स्थान पाएको छ । देशको कुनाकाप्चाबाट महाधिवेशनमा सहभागी भएका पार्टीका साथीहरु विशेषगरी महिलाहरुको मुहारमा आशा र उत्साह देखेको छु । यसले मलाई अझै हौसला थपेको छ ।

मैले उपसभापति जस्तो महत्वपूर्ण पदमा मत माग्दै गर्दा हजारौं महिलाहरुमा जुन हौसला देखें त्यसले निकट भविष्यमा महिला कांग्रेसको नेतृत्वमा आउनसक्ने मार्ग कोरिएको छ । यो मेरा लागि राजनीतिक जीत हो । म भविष्यमा आफूले उठाएको मुद्दामा प्रतिवद्ध भई समानताको यो संघर्षमा अविचलित रही बढिरहने प्रण गर्दछु ।

गिरिजाप्रसाद कोइरालाको सहमति, सहकार्य र एकताको आदर्शबाट सँधै प्रेरित छु । पार्टीभित्र र सिंगो देशमा सहमति, सहकार्य र एकताको खाँचो छ । म सबैलाई महाधिवेशनपछि एकढिक्का हुन अपिल गर्दछु । नेपाली कांग्रेस एकढिक्का भएमात्र लोकतन्त्र बलियो हुन्छ । मेरो अबको भूमिका कांग्रेसलाई एकतावद्ध बनाउन पनि हुनेछ ।

अन्तमाः उपसभापतिमा विजयी पूर्णबहादुर खड्का र धनराज गुरुङलाई हार्दिक बधाई दिँदै सफल कार्यकालको कामना गर्दछु । धन्यवाद
सुजाता कोइराला