काठमाडौँ – नेपाली काँग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले काँग्रेसलाई नयाँ यात्रामा अगाडि बढाएर आधुनिक काँग्रेस बनाउन लाग्ने बताएका छन् ।


ADVERTISEMENT


निर्वाचित भएपछि पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै महामन्त्री शर्माले काँग्रेस रुपान्तरणको यात्रा सुरु भएको बताए । उनले भने, ‘शहिदहरुलाई सम्झिएर मैँले शपथ लिनुपर्छ कि काँग्रेस जसरी हिजो चलेको थियो, अब त्यसरी चल्दैन । काँग्रेस रुपान्तरित भएर जान्छ । ७० वर्षको एउटा काल खण्ड गुज्रिएर नवीन यात्रासँगै अब आधुनिक काँग्रेस बन्नेछ ।’


ADVERTISEMENT

# # #


पार्टीको प्रवक्ताको जिम्मेवारीपछि पार्टीको महामन्त्रीको जिम्मेवारी निर्वाह गर्दैगर्दा गौरवान्वित महसुस गर्नुका साथै आफ्नो जिम्मेजारीप्रति गम्भीर रहेको बताए । उनले महामन्त्रीमा निर्वाचित अर्का युवा नेता गगन कुमार थापासँग सहकार्य गर्दै जनअपेक्षा अनुसार काम गर्ने बताए ।

‘अब प्रतिस्पर्धा सकिएको छ । यससँगै अब काममा प्रतिस्पर्धा सुरु भएको छ ।’ उनले भने, ‘तत्कालीन समयमा विपीलाइ राखिएको सुन्दरीजल जेल पुगेर गत भदौ २४ गते महामन्त्रीमा मैँले उम्मेदवारी घोषणा गरेको थिएँ । आजै त्यहाँ पुगेर त्यहाँको माटोलाई ढोगेर आफ्नो जिम्मेवारीलाई आत्मसाथ गर्न गइरहेको छु ।’

उनले बद्लिएको काँग्रेस र बलियो काँग्रेस बनाउने आकांक्षाको जित भएको बताए । उनले काँग्रेसलाई रुपान्तरण गर्दै आगामी निर्वाचनमा पहिलो पार्टी बनाउन लाग्ने बताए ।