काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले आज अपरान्ह बोलाएको सर्वदलीय बैठक प्रमुख विपक्षी नेकपा एमालले बहिष्कार गर्ने भएको छ । यसअघि पनि प्रधानमन्त्रीले बोलाएको बैठकमा सहभागी नभएको एमालेले आज अपरान्ह ४ बजे बोलाइएको बैठक पनि बहिष्कार गर्ने भएको हो ।


ADVERTISEMENT


संसदमा जारी अवरोध र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे छलफल गर्न प्रधानमन्त्रीले सर्वदलीय बैठक आह्वान गरेका हुन् । यो बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए ।


ADVERTISEMENT

# # #


तर माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीलाई पनि बोलाएकोले आफूहरू सहभागी नहुने एमालेका नेताहरूले बताएका छन् । एमालेका प्रमुख सचेतक विशाल भट्टराईले समस्या सरकार, एमाले र सभामुखबीच रहेकोले सर्वदलीय बैठकमा आफूहरू साक्षी बस्न सहभागी नहुने प्रष्ट पारे ।

संसदको गतिरोध हटाउने हो भने सभामुख अग्नि सापकोटाले एमालेसँग कुरा गर्नुपर्ने उनले बताए । ‘संसदको गतिरोध हटाउने हो भने सभामुखले एमालेसँग छलफल गर्नुपर्छ । उहाँहरू (सत्ता गठबन्धन)को बैठकमा एमाले साक्षी बस्न जाँदैन’, भट्टराईले भने । आफूले कारबाही गरेका माधवकुमार नेपालसहितका सांसदलाई मान्यता दिएको भन्दै निर्वाचन आयोग र सभामुख सापकोटासँग एमाले रुष्ट छ ।

सचेतक भट्टराईले एमसीसीबारे एमालेसँग कुरा गर्नुभन्दा पहिले सत्तागठबन्धन एकमत भएर आउनुपर्ने आफूहरूको प्रष्ट धारणा रहेको पनि बताए । ‘एमसीसीको कुरा हो भने पहिले उहाँहरूले नै समान धारणा बनाएर आउनुपर्‍यो अनि एमालेले आफ्नो धारणा बनाउँछ’, भट्टराईले भने, ‘उहाँहरूमै कुरा मिलेको छैन । कसैले आजको आजै पास गरौँ भनिरहनुभएको छ, कसैले हुँदै हुँदैन भनिरहनुभएको छ ।’