काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सरकारले स्वदेशमै रोजगारीको वातावरण निर्माण गर्न लागेको बताएका छन् ।


ADVERTISEMENT


न्यूज लाइन्स् मिडिया प्रालिको छैटौँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित ‘वार्षिकोत्सव एवं सम्मान’ कार्यक्रममा उनले स्वदेशमै रोजगारीको वातावरण निर्माण गर्न वर्तमान सरकार लागेको बताएका हुन् । “समृद्ध नेपाल निर्माणका लागि सरकार लागेको छ, सरकार बेरोजगार युवालाई स्वदेशमै रोजगारी प्रदान गर्नका लागि वातावरण निर्माण गर्दैछ”, उनले भने ।


ADVERTISEMENT

# # #


मन्त्री श्रेष्ठले नेपालको अर्थतन्त्रमा वैदेशिक रोजगारको महत्वपूर्ण भूमिका रहेको बताउँदै विदेश जाने युवाका लागि तालिम प्रदान गर्न सरकारले सातै प्रदेशमा तालिम केन्द्र निर्माण गर्न लागेको बताए । सामाजिक सुरक्षा कोषलाई सरकारले कडाइका साथ लागू गर्न खोजेको उनको भनाइ थियो ।

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले लोकतन्त्रको मेरुदण्डका रूपमा नेपाली पत्रकारिता क्षेत्र अगाडि बढेको भन्दै सत्य, तथ्य र विश्वसनीय समाचार सम्प्रेषण गर्नुपर्ने बताए । पूर्वमन्त्री केसीले अनलाइन पत्रकारिताले जनतालाई तत्काल सुसूचित गर्ने कार्य गरेको बताउँदै आवाजविहीनहरूका आवाज बन्न अनलाइनलाई आग्रहसमेत गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य देवेन्द्र प्रधानले नेपाली अनलाइनले सत्य, तथ्य र निष्पक्ष भएर समाचार सम्प्रेषण गर्नुपर्ने बताए । नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–४ का सभापति एवं समाजसेवी रामप्रसाद न्यौपानेले अनलाइन मिडियाले समाजमा भएका कमजोरीलाई कुनै लोभ र लालचमा नपरी औँल्याउनुपर्ने बताए ।

ट्रेकिङ एजेन्सिज् एशोसिएशन अफ नेपाल ९टान०का अध्यक्ष खुमबहादुर सुवेदीले कोरोनाले थला परेको नेपालको पर्यटन क्षेत्रलाई पुनःउत्थान गर्नका लागि सञ्चारकर्मीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे । कोरोना भ्याक्सिन लगाएका पर्यटकलाई नेपालमा निर्वाध हिँड्ने वातावरण निर्माण गर्नुपर्ने उनको भनाइ थियो । न्यूज लाइन्स मिडियाका प्रधानसम्पादक राजु भट्टले पत्रकारिताको भावना र मर्मअनुसार आफ्नो मिडियाले सत्य, तथ्य र विश्वसनीय समाचार सम्प्रेषण गर्दै आएको बताए ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) कतारका अध्यक्ष मोहम्मद मुसलमान, सार्थक नेपाल अभियानका अध्यक्ष भरत गौतम, नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेश सदस्य भक्त श्रेष्ठ, पत्रकार सरोज ओझालगायतले अनुशासित र मर्यादित ढङ्गले पत्रकारिता गर्न आग्रह गरे ।

न्यूज लाइन्स मिडियाकी प्रबन्ध निर्देशक रीता ढकालले समृद्ध नेपाल निर्माणका लागि सकारात्मक समाचार सम्प्रेषणलाई न्यूज लाइन्स मिडियाले सधैँ अग्रभागमा बसेर कलम चलाउने बताए । कार्यक्रममा समाजमा विशेष योगदान पुर्याउने रामप्रसाद न्यौपाने, शिवहरि गिरी, नीरज सिटौला, पुष्कल मल्ल, अनिल पोखरेल, शिवलोचन पराजुली, महेशजङ्ग कुँवर, भीमसुब्बा गुरुङ, तुलसा कोइराला, भक्तबहादुर (बिबी) कार्की, नवीना खड्का, भुषण महर्जन र रमेश पौडेललाई सम्मान गरिएको थियो । रासस