काठमाडौं – निजी क्षेत्रको हवाई सेवा कम्पनी यती एअरलाइन्सले आन्तरिक वायुसेवामा पहिलो पटक ईलेक्ट्रोनिक ब्यागेज ट्याग प्रयोगमा ल्याएको छ ।


ADVERTISEMENT


शुक्रबारदेखि यती एअरलाईन्समार्फत काठमाडौंबाट यात्रा गर्ने यात्रुहरुको लगेज तथा सरसामानमा इलेक्ट्रोनिक ट्याग रहनेछ ।


ADVERTISEMENT

# # #


अन्तर्राष्ट्रिय उडान सेवाहरुले यसको प्रयोग पहिलेदेखि गर्दै आए पनि आन्तरिक वायु सेवामा आफूहरुले पहिलो पटक यसको प्रयोग सुरु गरेको यती एयरलाइन्सले जनाएको छ । पहिलो लकडाउन पश्चात् इलेक्ट्रोनिक बोर्डिङ पासको शुरुआत गरेको यतीले अहिले ब्यागेज ट्यागलाई पनि अटोमेटिक सिस्टममा लगेको हो ।

आफूहरु यात्रु तथा यात्रुको सरसामानको सुरक्षामा सधैं संवेदनशील रहेको बताउँदै कम्पनीले आफ्नो सुरक्षात्मक प्रणालीमा आधुनिक प्रविधिको उच्चतम प्रयोग गर्दै चुस्त बनाउने क्रम जारी राख्ने बताएको छ ।

ईलेक्ट्रोनिक ब्यागेज ट्याग प्रयोगले अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको सुरक्षात्मक प्रणालीअनुरुप वायुयान सञ्चालनमा मद्दत पुग्ने यती एअरलाईन्सका प्रमुख सुरक्षा अधिकृत तथा प्रवक्ता सुदर्शन बर्तौलाले बताए ।

उनले यसमा आवश्यक संशोधन तथा परिमार्जन पश्चात् यती एअरलाईन्स तथा तारा एअरका सम्पूर्ण उडान हुने क्षेत्रमा प्रयोग गरिने बताए । यसको प्रयोगले यात्रु तथा सरसामानको रिकन्सिलियसन (मेलमिलाप) गर्न अझ सहज हुने तथा सरसामान हराउने तथा छुट्ने समस्या कम गर्न मद्दत पुग्ने बर्तौलाले बताए ।

इलेक्ट्रोनिक ट्यागमा गन्तव्य स्थान, फ्लाइट नं, ट्याग नं, यात्रुको नाम तथा बारकोड उल्लेख हुनेछ । यात्रु चेकईन गर्दा यात्रुको बोर्डिङ पाससंगै सामानको ट्याग पनि कम्प्युटर प्रणालीबाट प्रिन्ट भएर आउने छ । बारकोड रिडरमार्फत चेक गरेर मात्र वायुयानमा लोड गर्दा अतिरिक्त सामान वायुयानमा नगई चेक इन गरेका सामान मात्र गन्तब्यमा पुग्ने हुँदा यात्रु सुरक्षामा मद्दत पुग्ने एअरलाईन्सको भनाई छ ।