काठमाडौं – राष्ट्रिय बाघ सर्वेक्षण २०७८ अन्तर्गत चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्सको पहिलो ब्लकमा बाघ सर्वेक्षण सम्पन्न भएको छ । पहिलो ब्लकअन्तर्गत त्रिवेणी, चोरमारा, नवलपुर हुँदै कसरा, सौराहा र बरण्डाभार क्षेत्रमा गत मंसिर १९ गतेदेखि क्यामेरा राखेर सर्वेक्षण गरिएको थियो ।


ADVERTISEMENT


चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार ती क्षेत्रमा राखिएका क्यामेरा झिक्ने काम सकिएको छ । उनले भने, ‘पहिलो व्लकका क्यामेरा झिक्ने काम सम्पन्न भएको छ । दोस्रो ब्लकमा क्यामेरा राख्न सुरु गरिएको छ ।’ आज दिनभरमा दोस्रो ब्लकमा क्यामेरा राख्ने कामसमेत सम्पन्न हुने उनले जानकारी दिए । पहिलो ब्लकमा राखिएका क्यामेरा २१ दिनपछि झिकिएको हो । यस व्लकलाई २८० ग्रिडमा विभाजन गरी ५६० क्यामेरा प्रयोग गरिएको थियो । पहिलो ब्लकमा सर्वेक्षणका लागि १०० जनशक्ति परिचालन गरिएको थियो । पहिलो ब्लकमा सर्वेक्षणका लागि १३ स्थानमा क्याम्प खडा गरिएको जनाउँदै उनले प्रत्येक क्याम्पमा छदेखि आठ जनासम्म गणक तथा प्राविधिक परिचालन गरिएको जानकारी दिए ।


ADVERTISEMENT

# # #


दोस्रो ब्लकअन्तर्गत सौराहादेखि पूर्वचितवनको पूर्वी भाग, माडीको पूर्वी भाग, ठोरी हुँदै शिकारीबाससम्म सर्वेक्षणको सुरु गरिने उनले बताए । उनका अनुसार यस ब्लकलाई २९० ग्रिडमा विभाजन गरी सर्वेक्षण गरिँदै छ । यहाँ करिब ५८० स्वचालित क्यामेरा प्रयोग गरिने निकुञ्जले जनाएको छ । निकुञ्जले यस वर्ष क्यामेरा ट्रयापिङको विधिबाट सर्वेक्षण गरिरहेको छ । निकुञ्जले प्रत्येक चार वर्ग किलोमिटर क्षेत्रफललाई एउटा ग्रिड मानेर एउटा ग्रिडमा एक जोडी क्यामेरा जडान गर्ने गर्दछ । निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बाघ सर्वेक्षणका लागि क्याम्प निर्माण गर्दा निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको गणको नजिकै पारिएको छ । दोस्रो ब्लकमा पनि सरदर २२ दिन बाघ सर्वेक्षण गरिने उनले जानकारी दिए ।

दोस्रो ब्लकमा काम सकिएलगत्तै तेस्रो ब्लकमा काम सुरु गरिने छ । तेस्रो ब्लकअन्तर्गत पर्साको बाँकी भाग र रौतहटसम्मको वन क्षेत्रमा क्यामेरा राखिने छ । सोही जनशक्ति तेस्रो ब्लकमा समेत परिचालन गरिने छ । चितवन राष्ट्रिय निकुञ्जका केही कर्मचारी घट्ने छन् भने पर्साका थपिने निकुञ्जले जनाएको छ । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जको कम्प्लेक्समा काम सक्नका लागि करिब तीन महिना लाग्ने छ । बाघ सर्वेक्षणमा क्यामेरा ट्रयाप, रेञ्ज फाइन्डर, जिपिएस, रेकर्ड फर्मलगायतका सामग्री प्रयोग हुने तिवारीले बताए ।

अहिले क्यामेराले संकलन गरेका फोटो ल्यापटप र कम्युटरमा जम्मा गर्ने काम भइरहेको छ । तीनवटै ब्लकमा सर्वेक्षणको काम सकिएलगत्तै क्यामेराबाट खिचिएका फोटो एकै ठाउँमा जम्मा गरी विज्ञसहितका टोलीले सफ्टवेयरको माध्यमबाट अन्तिम नतिजा निकाल्ने उनले जानकारी दिए ।

बाघ सर्वेक्षणको कामअन्तर्गत बर्दिया र बाँके ब्लकमा गत मंसिर २९ गतेबाट काम थालिएको छ भने शुक्लाफाँटा र लालझाडी क्षेत्रमा यहाँको दोस्रो ब्लकको काम सकिएपछि यही क्यामेरा प्रयोग गरेर सर्वेक्षण थालिने जनाइएको छ ।

नेपालमा हरेका चाररपाँच वर्षको अन्तरमा बाघ गणना गर्ने गरिन्छ । अहिले निकुञ्ज र वन क्षेत्रमा बाघको चहलपहल बढी देखिएसँगै यो सर्वेक्षणसँगै बाघको संख्या बढेको तथ्यांक आउने विज्ञको अनुमान छ । निकुञ्जमा घुम्न आएका पर्यटक र संरक्षणकर्मीले बाघ देखेको जनाउँदै आएका छन् । रासस