काठमाडौँ – गृह मन्त्रालयमा सोमबार स्थानीय तह निर्वाचन पूर्वका सुरक्षा सरोकारका विषय र निर्वाचन सुरक्षाका लागि आवश्यक पर्ने स्रोत साधनको आकलन तथा व्यवस्थापनबारे छलफल भएको छ ।
सोमबार गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा विभिन्न मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुख लगायतबीच छलफल भएको हो । गृह मन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार बैठकमा आसन्न राष्ट्रिय सभा निर्वाचन र आउँदै गरेको स्थानीय तहको निर्वाचनमा सुरक्षा सरोकार र आवश्यक पर्ने स्रोत साधनबारे छलफल भएको हो ।
‘आसन्न राष्ट्रिय सभाको निर्वाचनमा गरिने सुरक्षा व्यवस्था र आउँदै गरेको स्थानीय तहको निर्वाचन सुरक्षाका लागि आवश्यक पर्ने स्रोत साधनको आकलन तथा व्यवस्थापनबारे छलफल भयो,’ प्रवक्ता कोइरालाले भने
बैठकमा स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन एकै पटक गर्ने कि दुई पटक गरेर गर्ने भन्ने विषयमा कुराकानी भएको थियो । गृहमन्त्रीले र सुरक्षा निकायका प्रमुखहरूले निर्वाचनमा मतदाता र मत पेटिकाको सुरक्षाबारे धारणा राखे । अर्थसचिव मरासीनीले निर्वाचनका लागि आवश्यक पर्ने बजेट र सरकारसँग रहेको बजेटबारे जानकारी गराएका थिए । संघीय मामलामन्त्री श्रेष्ठ र सचिव अधिकारीले निर्वाचनका लागि आवश्यक पर्ने कर्मचारी र मन्त्रालयका तर्फबाट उपलब्ध गराउन सकिने कर्मचारीबारे बताए ।
गृहमन्त्री खाणले आइतबार आउँदो माघ १२ गते हुने राष्ट्रिय सभाका १९ पदको निर्वाचनमा सुरक्षाबारे सुरक्षा समितिको बैठकमा छलफल गरेका थिए । आज आउँदै गरेको स्थानीय तहको निर्वाचनबारे सरोकारवाला मन्त्रालयसँग छलफल गरेका हुन् ।