हरिकृष्ण खतिवडा ‘अपरुष’ 


ADVERTISEMENT


नेपाली राजनीतिमा व्यक्तिगत हिसाबले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सफल राजनीतिज्ञका रुपमा रहेका छन् भन्दा फरक नपर्ला । अहिलेको नेपालको राजनीति एक हिसाबले प्रचण्डकै पेरिफेरिमा घुमिरहेको पनि सत्य नै हो । प्रचण्डलाई नेपाली राजनीतिमा व्यक्तिगतरुपमा लाभ भए पनि प्रचण्डको राजनीतिले राष्ट्रलाई भने खासै लाभ भएको देखिएको छैन ।


ADVERTISEMENT

# # #


हुन त नेपाली राजनीतिमा राष्ट्रका लागि लाभ हुने काम गरेका राजनीतिज्ञहरु कमै मात्रामा देखिएका छन् । यहाँकै माटो त्यस्तो पो हो कि ? जुन जोगी आए पनि कानै चिरेका त हुन् नि भने जस्तो भएको छ । कान नचिरेका पनि जोगी हुन्छन् भन्ने कुरा हामीले बिर्सिएका छौं जस्तो लाग्न थालेको छ । जोगी कानै चिरेका मात्र हुँदैनन् भन्ने हेक्का जबसम्म हामी राख्दैनौं नेपाली राजनीतिले कोल्टे फेर्दैन ।

माओवादी केन्द्रको आठौं महाधिवेशन जारी रहँदा प्रचण्डको नेतृत्वमा रहेको पार्टीले नेतृत्व परिवर्तनको आवाजसमेत उठाउन सकिरहेको छैन । प्रचण्डको नेतृत्वमा रहेको माओवादी टुक्रिएर धुजाधुजा नै भएको छ । पार्टीलाई म हाँक्न सक्छु भनेर जजसले प्रचण्डको अगाडि चुनौती दिए तिनीहरुलाई उनले बर्बरिकको जीवन बाँच्न विवश बनाइदिएका छन् । नामै लिएर भन्नुपर्दा बाबुराम भट्टराई र मोहन वैद्य यसका ज्वलन्त उदाहरण हुन् । अब पनि प्रचण्डको माओवादी केन्द्र (जसलाई दाहाल कम्पनी प्राइभेट लिमिडेटको नामले पनि पुकार्न सकिन्छ) त्यसमा उनको अभिप्राय र मतको कसैले खण्डन गर्छ र उनको नेतृत्वलाई कसैले चुनौती दिन्छ भने उसको हालत बर्बरिककै हुने हो ।

प्रचण्डको दाहाल कम्पनीमा फरक मत राख्न र फरक हुन निषेध नै छ भने पनि फरक पर्दैन । प्रचण्डले जे भन्छन् र जे गर्छन् त्यो नै पार्टीको नीति हो । कांग्रेससँग गठबन्धन गरे पनि एमालेसँग एकीकरण गरे पनि त्यहाँ यसो गर्न हुँदैन भनेर बोल्ने साहस कसैले गर्छ भने, याद राख तँलाई पनि बाबुराम वा वैद्यको नियति बनाइदिउँला भन्ने अघोषित शब्दको त्रास भोग्नै पर्ने हुन्छ । यस्तो अवस्थामा माआवदीका नेताहरु प्रचण्डका विरुद्ध बोल्ने साहस किन गरुन् ? पार्टी चोइटिएर बिरालोको पित्त जत्रो हुँदा पनि नेताहरु चित्त बुझाइरहेका छन् ।

रामबहादुर थापा बादलहरुको एउटा टिम थियो जो प्रचण्डलाई सच्चिएर हिँड्न दाबाब दिन्थ्यो उनीहरु यिनीसँग सिँगौरी खेल्न सकिने रहेनछ भन्दै सिंग नै भाँचेर ठुटे हुनुभन्दा तिखे हुनु नै बुद्धिमानी हो भन्दै एमालेमा विलीन भइदिए । तीखा सिंग भएकाहरु जुध्दा सिंग भाँचिने डर बर्करार रहने भए पनि कुनै समयमा सिंग नभाँचिएर थोरै रगत मात्र बग्न पनि सक्छ जो कालान्तरमा पाप्रा बस्दै आएर घाउ निको हुन पनि सक्थ्यो । यसलाई बादल र प्रचण्डले बिचार नै गरेनन् ।

घाउ नै नलगेपछि उपचार गर्न पनि नपर्ने र आलो घाउ कसले स्याहार्न सक्छ भन्दै दुवै जुध्न पनि चाहेनन् होला ! खैर, प्रचण्डका दाउपेचमा पार्टीका कुनै पनि नेताले कुनै पनि समय कोपभाजनको सिकार हुनैपर्दछ । यसलाई हेक्का राखेर पनि होला काँधमा गोली बोकेर राजतन्त्रकै खिलाफ ज्यानको बाजी थापेका कमरेडहरु अब करियर दाउमा लगाउन हुन्न भन्ने मनस्थितिमा रहेका छन् । कमरेडहरुलाई अब बुढो पनि हुन लागियो भन्ने पनि होला । बुढेसकालमा पनि के विद्रोह गर्नु ! बल पनि सकियो  भन्ने लाग्नु पनि स्वाभाविकै हो ।

प्रचण्डको एक खाले नीति पनि हुनुपर्दछ कि उनी जुन पार्टीमा रहन्छन् त्यसलाई टुक्राएरै छाड्छन् । भर्खरै मात्र वाम एकता भनिएको नेकपा पार्टी टुक्रियो । प्रचण्ड त आफ्नो समूहका सारथी लिएर बाहिरिए नै । साथै एकता अघिको नेकपा एमालेलाई पनि झट्का दिन पछि परेनन् । यसले बाम एकता तुहियो । एमालेका अध्यक्ष ओलीका कमीकमजोरीको कारण पनि होला अब नेपालमा बाम एकता असम्भव नै रहेको छ । हुन त नेपाली राजनीतिमा गठबन्धन वा एकता सत्ताको लालसाले निम्तने एक किसिमको घृणित खेल बाहेक केहि पनि भएको छैन । यसै सन्दर्भलाई लिएर सत्ताकै लागि फेरि अर्कोपटक कम्युनिष्ट पार्टीहरु एक भए भने त्यसलाई आकस्मिक मान्नुपर्ने पनि देखिन्न । आश्चर्य मानेर ताली पिट्नु पनि जायज छैन ।

नेपालमा राजनैतिक पार्टीहरुको मिलन र बिछोड सत्ता लालसाको लागि गरिएको एक खाले घिनौना सम्झौता बाहेक केहि पनि होइन  । ओलीसँग तत्कालको लागि प्रचण्डको मन कुँडिनु भनेको सम्झौता अनुसार प्रधानमन्त्री नपाएकाले हो । प्रधानमन्त्री पद समयमै प्रचण्डलाई ओलीले हस्तान्तरण गरिदिएको भए दुईदुई पटक संसद विघटन हुनै सक्तैनथ्यो । अमीलो मन बनाएका प्रचण्डले पनि शक्तिसंघर्ष गर्दैनथे । यसका अनेकन पाटा होलान् । खैर, यसको चर्चा छोडौं ।


ADVERTISEMENT

#
#


माओवादीले महाधिवेशनलाई नेताभन्दा नीतिमा बल दिने बताइरहेको पनि छ । अवश्य पनि राजनैतिक पार्टीलाई राम्रोसँग चलाउन नीतिको आवश्यकता पर्दछ । नीतिविनाको राजनैतिक पार्टी अंगभंग भएको सिपाही जस्तै हो । तर, नेताको विकल्प छनोट पनि एकदमै महत्वपूर्ण कुरा हो । नेतृत्व नै पार्टीका यावत् कुरामा हाबी हुने हुँदा सबल नेतृत्व आवश्यक छ । हुन त माओवादी पार्टीमा अहिलेको अवस्थामा प्रचण्डको विकल्प नखोजिएको पनि होला । अथवा भनौं खोज्ने विकल्प नै दिइएन कि ? माओवादीमा  विकल्प र फरक मत राख्नेहरुलाई महाभारतका पात्र शक्तिशाली लडाकु बर्बरिकको युद्ध अघि नै भिक्षा मागेर टाउको छिनालिए जस्तै हुने सम्भावना रहेकोले यो प्रश्न नउठेको पनि हुनसक्छ ।

प्रतिकृया

प्रतिकृया