काठमाडौं – नेकपा मा‌ओवादी केन्द्रमा महासचिव पदमा कसको पल्ला भारी होला भनी चर्चा सुरु भएको छ  । काठमाडौंमा जारी महाधिवेशनमा सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदनमाथिको छलफलका लागि मंगलबार दिनभरको समय तय गरिएको थियो । २५ समूहमा विभाजित भएका प्रतिनिधिले प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि बहस गरेका छन् । अब टोली नेताले आफ्नो समूहमा प्राप्त सुझावलाई भोलि मध्याह्न १२ बजेपछि प्रस्तुत गर्ने छन् र त्यसको निचोडको आधारमा प्रतिवेदनलाई परिमार्जन गर्दै पास गरिने छ ।


ADVERTISEMENT


प्रतिवेदनको काम सकिएपछि अब अर्को महत्वपूर्ण विषयमा बन्दसत्र प्रवेश गर्छ । यसैपटकदेखि बहुपदीय अवधारणामा गएको माओवादी केन्द्रले १५ जना पदाधिकारी चयन गर्नु पर्नेछ छ भने केन्द्रीय समिति चयन गर्नुपर्नेछ । माओवादीको २९९ सदस्यीय केन्द्रीय समितिमा १५ प्रतिशत दलित, ३५ प्रतिशत महिला, ५ प्रतिशत मुस्लिम समुदाय, २० प्रतिशत ४० वर्ष मुनिका युवाहरु समावेश गर्ने भनिएको छ ।  त्यसको क्लस्टर अनुसार प्रतिनिधित्व हुने गरी अध्ययन गर्न देव गुरुङको नेतृत्वमा कार्यदल गठन गरिएको छ ।


ADVERTISEMENT

# # #


माओवादीको शीर्ष नतृत्वले पूराना वा संसदवादी दलहरुजस्तो आफूहरुमा पदको भागवण्डा नहुने र त्यसका लागि नकुद्ने औपचारिक रुपमा बताउँदै आएका छन् तर आन्तरिक रुपमा भने पदाधिकारी र केन्द्रीय नेतृत्वमा पुग्न लविङ गरिरहेका छन् । वामपन्थी पार्टीमा बहुपदीय प्रणाली हुँदा पनि महासचिवलाई शक्तिशाली मानिन्छ र आगामी समयका लागि पार्टी नेतृत्वको एक खालको उत्तराधिकारी । त्यसैले माओवादी केन्द्रमा अध्यक्ष प्रचण्डले कसलाई आफ्नो उत्तराधिकारी बनाउँछन् भन्ने विषय पनि महत्वपूर्ण रहेको छ ।

तीन दशकदेखि पार्टी नेतृत्वमा रहिरहेको भन्दै प्रचण्डको आलोचना भइरहँदा उनले अब पाँच वर्षपछि हुने महाधिवेशनमा फेरि दाबी नगर्न सक्ने सम्भावना पनि बलियो रहेको तर्क गरिएको छ ।  हुन त प्रचण्डले नै यसपछि आफूले नेतृत्व हस्तान्तरण गर्ने खालको अभिव्यक्ति दिइसकेकाले महासचिव को हुने भन्ने विषय नेता कार्यकर्तामाझ जति चासोको विषय बनेको छ त्यो भन्दा धरै पेचिलो प्रचण्डलाई रहेको छ ।

आफ्ना दुई खास सहयोगी र विश्वासपात्र जनार्दश शर्मा र वर्षमान पुन मध्ये कसलाई वा त्यसबाहेक पम्फा भुसाल वा अन्य कसैलाई भन्ने निर्णय प्रचण्डले गर्नुपर्ने भएको छ । दुबैलाई मिलाएर लैजाने चुनौतीको व्यवस्थापन प्रचण्डले कसरी गर्लान् भन्ने चासो व्याप्त रहँदा पुनले चीनबाटै प्रचण्डमाथि दबाब बढाएका छन् । उपचारका क्रममा रहेर महाधिवेशनमा सहभागी हुन नपाएका पुनले चीनका शक्तिशाली नेतालाई भेटेर प्रचण्डमाथि दबाब बढाएको कतिपयले अनुमान गरेका छन् ।

यता जनार्दन प्रचण्डमाथि दबाब दिन सक्ने क्षमता राख्छन् । महासचिवमा कुरा मिलेन भने चुनावमै जानु पर्नेमा उनको जोड रहेको स्रोतको दाबी छ । तर, अध्यक्ष प्रचण्डले भने जारी महाधिवेशनबाट आफू अध्यक्ष र अन्य केन्द्रीय सदस्यमात्र चयन गर्ने तयारी गरेका छन् । पछि केन्द्रीय समितिबाट पोलिटव्युरो र स्थायी कमिटी र पदाधिकारी तोक्ने तयारी उनको छ । यसअघि हेटौंडामा सम्पन्न ७ औं महाधिवेशनमा पनि यस्तै गरिएको थियो ।

त्यसो गर्न सकिएको खण्डमा जनार्दनलाई मन्त्रीको जिम्मेवारी निरन्तर दिएर अन्यत्रै व्यवस्थापन गर्ने र पुनलाई महासचिवको जिम्मेवारी दिन सक्ने सम्भाना रहेको पुन पक्षका नेताहरुको तर्क छ । तर जनार्दनलाई पनि टाढा पार्न प्रचण्डले चाहेका छैनन् । त्यसैले दुई मध्ये एक छान्नु भन्दा तेस्रो पक्षमा उनी जान सक्ने सम्भावना पनि बलियो रहेको माओवादीका एक स्थायी समिति सदस्यले बताए ।