मतदानको दिन नजिकिँदै जाँदा उम्मेदवार लक्षित विस्फोटका घटना हुन थालेका छन् । प्रदेश ४ का केही स्थानमा चुनावी प्रचार आक्रामक छ । यसले प्रतिस्पर्धी उम्मेदवारबीचकै तीक्तता पनि चुलिँदै गएको छ । अहिलेसम्मका घटनामा चुनाव बहिष्कार गर्ने नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा कार्यकर्ताको संलग्नता रहेको प्रहरीले जनाएको छ । उक्त पार्टीसम्बद्ध रहेको आरोपमा प्रदेश ४ का विभिन्न जिल्लाबाट हालसम्म ३५ जना पक्राउ परेका छन् भने केहीको गतिविधि निगरानीमा रहेको प्रहरी अधिकारीहरूले बताएका छन् ।


ADVERTISEMENT


गोरखा २ का प्रतिनिधिसभाका लागि वाम गठबन्धनका उम्मेदवार नारायणकाजी श्रेष्ठलाई लक्षित गरेर बिहीबार विस्फोट भएको थियो । गोरखा नगरपालिका १० को सिर्दीखोला क्षेत्रमा भएको विस्फोटका क्रममा श्रेष्ठको गाडी अगाडि बढिसकेकाले ठूलो क्षति हुन पाएन । बुधबार वामपन्थी गठबन्धनको देशव्यापी चुनावी सभा गोरखाबाटै सुरु भएको थियो । त्यही क्षेत्रमा विस्फोट भएको हो । बिहीबारै बागलुङको गलकोटमा पनि सानो विस्फोट भएको थियो । फोहोर फाल्ने ठाउँमा भएको विस्फोटको ठूलो आवाज आए पनि कुनै प्रकारको क्षति भएन ।


ADVERTISEMENT

# # #


यहाँ पनि बिहीबार वाम गठबन्धनको चुनावी सभा भएको थियो । विस्फोट सभा हुनु केही घण्टा पहिले भएको थियो । गत साता गोरखाको भीमसेन गाउँपालिकाको धावामा माओवादी कार्यकर्ता गुणप्रसाद खनालको मोटरसाइकलमा राखेको झोलामा एउटा पेस्तोल र गोली फेला गरेको थियो । उक्त घटनापछि प्रहरीले अन्य जिल्लाबाट गोरखा प्रवेश हुने सबै सडक मार्गमा सवारी र यात्रु चेकजाँच सुरु गरेको छ ।

पहिलो चरणमा चुनाव हुने प्रदेश ४ का ६ वटा जिल्लामध्ये गोरखा, लमजुङ, म्याग्दी र बागलुङलाई सुरक्षा निकायले संवेदनशील सूचीमा राखेको छ । ती जिल्लामा ठूला नेताहरूसमेत उम्मेदवार रहेकाले सुरक्षा चुनौती बढी छ । ‘केही जिल्लालाई संवेदनशील ठानिएको छ,’ प्रदेश ४ का प्रहरी प्रमुख एआईजी कमलसिंह बमले भने, ‘जिल्ला सुरक्षा समितिले उम्मेदवारको सुरक्षा चुनौती मूल्यांकन गरेर त्यहीअनुसार सुरक्षा योजना बनाएको छ ।’

उनका अनुसार चुनावी प्रक्रियालाई बिथोल्न सक्ने र शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिने काम भइरहेको छ । प्रदेश ४ मा ३५ जनालाई नियन्त्रणमा लिएर कारबाही चलाइएको उनले जानकारी दिए । पक्राउ पर्ने र अवरोध पुर्‍याउन खोज्नेहरू हालसम्म विप्लव समूहकै रहेको उनले बताए । विशेषगरी ठूला नेता भएको स्थानलाई लक्षित गर्न खोजेको प्रहरीको मूल्यांकन छ । सुरक्षाका लागि उम्मेवारहरूले प्रहरीमा विशेष निवेदन पनि दिन थालेका छन् । सुरक्षा समितिले मूल्यांकन गरेर आवश्यक स्थानमा थप सुरक्षाकर्मी पठाउने गरिएको एआईजी बमले बताए ।

प्रदेश ४ मा केही ‘हेभिवेट’ नेताहरू प्रतिस्पर्धामा छन् । गोरखा २ मा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई कांग्रेसको समर्थनमा नयाँ शक्तिबाट र वाम गठबन्धनबाट पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ उम्मेदवार छन् । दुवैको चुनावी प्रचार आक्रामक छ । दुवै पक्ष जसरी पनि जित्ने होडमा रहेकाले त्यहाँ थप सुरक्षा संवेदनशीलता मूल्यांकन गरेर प्रहरीले जनशक्ति परिचालन अन्तभन्दा गोरखा २ मा बढी गरेको छ । त्यस्तै लमजुङमा वाम गठबन्धनका तर्फबाट पूर्वमन्त्रीहरू देव गुरुङ प्रतिनिधिसभा र पृथ्वीसुब्बा गुरुङ प्रदेशसभामा उम्मेदवार छन् ।

कांग्रेसका केन्द्रीय नेता दिलबहादुर घर्ती पनि प्रतिस्पर्धामा छन् । त्यस्तै बागलुङ १ मा कांग्रेसबाट सहकारी राज्यमन्त्री चम्पा खड्का उम्मेदवार छिन् । बागलुङ २ मा वाम गठबन्धनका देवेन्द्र पौडेल छन् । म्याग्दीमा केन्द्रीयस्तरका ठूला नेता छैनन् । तर, अप्ठ्यारो भूगोल, जनमोर्चा, मसालसम्बद्ध दलका कार्यकर्ताको प्रभाव क्षेत्र भएकाले विगतका निर्वाचनका घटनालाई ध्यानमा राख्दै सुरक्षा संवेदनशीलता यहाँ पनि रहेको प्रहरीको मूल्यांकन छ ।