गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र नेपालका लागि फ्रान्सका राजदूत ग्रिल्स ब्रोबाओबीच बिहीबार भेटवार्ता भएको छ । मुख्यमन्त्री कार्यालयमा भएको भेटमा द्विपक्षीय सम्बन्ध र सहयोगका बारेमा छलफल भएको थियो ।


ADVERTISEMENT


भेटघाटमा मुख्यमन्त्री पोखरेलले फ्रान्सले नेपालका लागि गर्दै आएको खाद्य सहयोग, पेट्रोलियम पदार्थ अन्वेषण, खानेपानी वितरणलगायत परियोजनाको स्मरण गर्दै आगामी दिनमा समेत सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गरे। उनले सन् १९४९ मा द्विपक्षीय सम्बन्ध स्थापित भएदेखि नै दुई मुलुकबीचको सम्बन्ध झनै प्रगाढ बन्दै गएको बताए।


ADVERTISEMENT

# # #


नेपालबाट हाते कागजका साथै हस्तकलाका सामग्री, गार्मेन्ट ऊनका सामग्री तथा चाँदीका गरगहना निर्यात हुँदै आएको बताउँदै मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेशको विकासको आधार पर्यटन नै रहेको र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पनि निर्माणको अन्तिम चरणमा पुगेकाले फ्रान्सबाट थप पर्यटक नेपाल आउने विश्वास व्यक्त गरे । पर्यटन प्रवर्धन, जलविद्युत्लगायत क्षेत्रको विकासका लागि विदेशी लगानी आवश्यक रहेकाले फ्रान्सले वातावरण हेरेर लगानी गर्न पनि उनले आग्रह गरे ।

नेपालका लागि फ्रान्सका राजदूत ग्रिल्स ब्रोबाओले नेपालीको बहुपक्षीय विकासका लागि सहयोग गर्न फ्रान्स तयार रहेको बताए। फ्रान्सेली नागरिक मौरिस हर्जोगले अन्नपूर्ण आरोहण गरेर कीर्तिमान रचेको स्मरण गर्दै उनले गण्डकी र आसपासको क्षेत्रको पर्यटन प्रवर्धननका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

भेटमा प्रदेशका प्रमुख सचिव रवीलाल पन्थ र प्रदेश नीति तथा योजना आयोग उपाध्यक्ष डा रघुराज काफ्लेले द्विपक्षीय हितलगायत विषयमा आफ्ना धारणा राखेका थिए । रासस