काठमाडौँ – राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल शीघ्र सञ्चालनमा आउने भएको छ ।


ADVERTISEMENT


संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले करिब निर्माण सम्पन्न रहेको उक्त विमानस्थल आगामी तीन महिना भित्र उद्घाटन गरिने बताए । नेपाल नागरिक उड्डयन प्राधिकरणको २३औँ वार्षिकोत्सबको आज यहाँ उद्घाटन गर्दै मन्त्री आलेले गौतमबुद्ध विमानस्थलमा छिट्टै ‘क्यालिब्रेसन फ्लाइट’ गरेर व्यावसायिक उडान सञ्चालन गरिने उल्लेख गरे । उनले भने, “अब हामी भैरहवा विमानस्थल उद्घाटनको सङ्घारमा छौँ । हवाई रुटका सम्बन्धमा भारतसँग हालै नयाँ दिल्लीमा त्यहाँको एभिएसन मिनिस्टरसँग कुराकानी भएको छ । कागजात ल्याउनुस् हामी सकारात्मक छौँ भन्नुभएको छ, चाँडै यो प्रक्रिया टुङ्गिने अपेक्षा गरिएको छ ।”


ADVERTISEMENT

# # #


गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको निर्माण कार्य ९८.७६ प्रतिशत सम्पन्न भई रनबे लाइट, यान्त्रिक अवतरण प्रणाली, सञ्चार उड्डयन सहायक उपकरणहरु, ब्यागेज ह्याण्डलिङग सिस्टम, एक्सरे आदि उपकरण जडान कार्य सम्पन्न भइसकेको प्राधिकरणले जनाएको छ ।

पर्यटनमन्त्री आलेले छिटो ‘विजनेश प्लान’ ल्याएर कम्तीमा १४ वटा जहाज खरिद प्रक्रिया अघि बढाउन नेपाल वायुसेवा निगम नेतृत्वलाई निर्देशन दिइसकिएको बताए । “मैले धेरै अगाडि पनि भनेको थिए । प्राधिकरणले भटाभट विमानस्थल बनाउँदै जान्छ, तपाईं (वायुसेवा निगम) अन्य कम्पनीका नयाँ जहाज गनेर बस्नुस् । भएका जहाज मर्मत गरेर उडाउनुस् भनिरहेको छु”, मन्त्री आलेले भने ।

मन्त्री आलेले युरोपका आकाशमा नेपाली जहाज उडाउने वातावरण सिर्जना गर्न युरोपेली युनियनको कालोसूचीबाट हट्ने गरी काम गर्न प्राधिकरणलाई निर्देशन दिए । प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले गौतमबुद्ध विमानस्थलमा जनवरी २०२२ भित्र क्यालिब्रेसन उडान गर्ने तयारी भइरहेको जानकारी दिए । “क्यालिब्रेसन फ्लाइटको तयारी भइरहेको छ, केही हाम्रै कारणले रोकिएको थियो, फिडर जडानको काम भइसकेको छ । उडान अनुमति पाएको एरो थाईका प्राविधिकले निरीक्षण गरेर गइसकेकोले जनवरीभित्रै परीक्षण उडान हुन्छ ।”

पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको निर्माण कार्य ९८ प्रतिशत सम्पन्न भएको छ । अबको आठ महिनाभित्रै पोखरा विमानस्थल पनि उद्घाटन गरिने योजना छ । निजगढ अन्तरराष्ट्रिय विमानस्थलको गुरुयोजना तयारीको ८० प्रतिशत कार्य सम्पन्न भएको छ । विमानस्थल क्षेत्रमा रहेका रुख विरुवाको गणना गर्ने कार्य प्रदेश वन डिभिजन कार्यालयबाट भइरहेको प्राधिकरणले जनाएको छ ।

पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले प्राधिकरणले उठाएका गम्भीर चासोका विषयलाई व्यावहारिक ढङ्गले सम्बोधन गर्न मन्त्रालयले समन्वयकारी भूमिका खेल्ने बताए । प्राधिकरणसम्बन्धी संसद्मा विचाराधिन दुई विधेयक उपर कर्मचारीका सरोकारका विषयलाई पनि समेटेर प्रगतिमूलक ढङ्गले अघि बढाइने सचिव न्यौपानेको भनाइ छ । प्राधिकरण विभाजन गरेर नियामक र सेवा प्रदायकको रुपमा स्थापित गर्नेगरी विधेयक राष्ट्रियसभाबाट पारित भई प्रतिनिधिसभामा पेश गर्ने चरणमा रहेको छ ।

नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले निगम र प्राधिकरणको समन्वय र सहकार्यबाट निगमको साख अभिवृद्धिका लागि भइरहेका पछिल्ला प्रगतिको सराहना गरे । प्राधिकरण कर्मचारी युनियनका प्रतिनिधि लक्ष्मणकुमार गिरीले कर्मचारीको मर्का र गुनासोलाई सम्बोधन गरेर मात्रै विधेयक अघि बढाइनुपर्ने धारणा राखे ।

हवाई यात्रु बढे

कोभिड–१९ महामारीका विशेषगरी पर्यटन र हवाई क्षेत्र बढी प्रभावित बन्यो । महामारीकै बीच पनि हवाई उडान गर्ने यात्रुको सङ्ख्या उल्लेख्य मात्रामा वृद्धि भएको छ ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमार्फत अन्तरराष्ट्रिय उडानतर्फ कूल ११ लाख पाँच जहार १५९ यात्रु आवागमन गरेकोमा सन् २०२१ को नोभेम्बर सम्ममा यो सङ्ख्या १२ लाख ८० हजार २१२ रहेको छ । जसअनुसार गत वर्षको सोही अवधिको तुलनमा यात्रु सङ्ख्या करिब १९ प्रतिशतले वृद्धि भएको प्राधिकरणको प्रगति विवरणमा उल्लेख छ ।

त्यसैगरी आन्तरिक उडानतर्फ सन् २०२० मा १४ लाख ५७ हजार ५३९ यात्रुहरुको आवागमन भएकोमा सन् २०२१ को नोभेम्बर सम्ममा यो सङ्ख्या ३१ लाख १६ हजार ६७५ रहेको छ । जुन गत वर्षको सोही अवधिको तुलनमा ११३ प्रतिशतले वृद्धि भएको देखिन्छ । यसबाट हवाई क्षेत्रले विस्तारै पुनरुत्थानको चरणमा रहेको प्राधिकरणको निष्कर्ष छ । रासस