नारायण ढुङ्गाना, काठमाडौँ – चिसो मौसम शुरु भएसँगै सडकमा पुगेका असहाय मानिसको कष्टकर जीवनलाई मध्यनगर गरी यसपटक पनि मुलुकभर नै वेसहाराको राष्ट्रिय उद्धार अभियान शुरु हुँदैछ । नेपाललाई नै वेसहारा सडकमानव मुक्त बनाउने अभियान थालेको मानवसेवा आश्रमले गत वर्ष झैँ यसपाली पनि मेची–महाकाली सडक उद्धार अभियान चलाउन लागेको हो । त्यसको आवश्यक तयारी पूरा भएको छ ।


ADVERTISEMENT


शनिबार अभियानको पुर्वसन्ध्यामा कैलालीमा रात्रीकालिन सडक सेवा (उद्धार अभियान) चलाइने र आइतबारदेखि पश्चिम नेपालको महाकाली पुलबाट उद्धार अभियानको थालनी हुने आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी दिए । गत वर्ष भने प्रधानमन्त्री निवासमा शुभारम्भ गरिएको अभियान पूर्वको मेचीपुलबाट प्रारम्भ गरिएको थियो । “अघिल्लो पटकको यात्रामा हामी आफैँले सडकआश्रितको उद्धार गर्यौँ, जसले गर्दा जानकार हुनुपर्ने स्थानीय निकायलाई सडक मानवको अवस्थाबारे बुझाउन सकेनौँ, यसपटक स्थानीय जनप्रतिनिधि र प्रहरीसँग समन्वय गरेर उद्धार गरिनेछ”, अधिकारीले उद्देश्यबारे प्रष्ट्याए।


ADVERTISEMENT

# # #


गत वर्ष तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीबाट राष्ट्रिय अभियानको शुभारम्भ गरिएको थियो । गत वर्ष पनि यही चिसो मौसममा गरिएको अभियानका क्रममा सडकपेटीमा दयनीय जीवन व्यातित गरिरहेका ७५८ ले आश्रय पाएका थिए । यसपटक भने विगतको जस्तो ठूलो समस्या नभएको अभियानकर्मीको भनाइ छ ।

“गत वर्ष समाजमा कम चेतना थियो, त्यसैले सडकमा धेरै सहाराविहिन हुनुहुन्थ्यो”, अभियन्ता मनोज घिमिरेले भने, “अहिले चेतना पनि बढेको, स्थानीय तहसँगको समन्वय भएको र आश्रमले पनि नियमित उद्दार र संरक्षण अभियान चलाउँदै आएको छ, त्यसैले विगतको जस्तो धेरै समस्या नहोला भन्ने छ ।” भेटिएकालाई भने आश्रमका सेवा केन्द्रमा राखिने छ । हाल नेपालको सातै प्रदेशका विभिन्न जिल्ला २५ सेवा केन्द्रमार्फत वेसहारालाई संरक्षण दिँदै आइएको छ ।

मुख्यतः अहिले मौसम चिसो बन्दै गएको छ । सामान्य मानिसको समेत जनजीवन प्रभावित भएका बेला भोकै÷नाङ्गै सडकमा बस्नेहरूका जनजीवन कति दयनीय होला सोच्न समेत सकिँदैन । चिसोका कारण कतिपयको अकालमै मृत्यु हुने गरेको छ । नेपाल प्रहरीका अनुसार अहिले सडकपेटीमा वेवारिसे मानिसको मृत्यु भएका घटना बढ्न थालिसकेको छ ।

यसअघि २०७७ पौष ९ गतेदेखि माघ १६ गतेसम्म मानवसेवा आश्रमले पूर्वको मेचीदेखि पश्चिमको महाकालीसम्मका सडकमा रहेका सहयोगापेक्षी (बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रुपमा कमजोर) भएकाहरूका उद्धार गरेको थियो । यसपाली अभियानका क्रमा सडकपेटी र सार्वजनिक स्थलमा रहेका कष्टपूर्ण जीवनयापन गर्न बाध्य भएका सहयोगापेक्षी व्यक्तिको अवस्था अध्ययन तथा उद्धारसँगै भजन सन्ध्या आयोजना गर्ने र वार्षिक विवरणसमेत प्रस्तुत गर्दै जाने कार्यक्रम रहेको जनाइएको छ ।

आश्रम परोपकारी व्यक्तिले विवाह वर्षगाँठ, जन्मदिन, ब्रतबन्ध, पुजापाठ वा पितृ स्मरणको कार्यक्रम एवं स्वेच्छिक सहयोगबाट सञ्चालन भइरहेको संस्था हो । पछिल्ला समयमा भने सरकारी निकायको समन्वय बढ्दो छ, तर पर्याप्त छैन । आश्रममा भार पनि बढिरहेका जनाइएको छ । प्राप्त विवरण अनुसार व्यवस्थापनमा ४० प्रतिशत सरकारी सहयोग प्राप्त भए पनि अझै ६० प्रतिशत खर्चको जोहो गर्न समस्या छ ।

आश्रम विगत १० वर्षदेखि जसका कोही छैनन्, जसको केही छैन, उनैको सेवामा समर्पित भन्ने आदर्शलाई आत्मसाथ गरेर सडकमानवहरूको उद्धार, उपचार, परामर्श र संरक्षण गर्दै आइरहेको छ । विसं २०८२ सम्ममा मुलुकलाई नै सहयोगापेक्षी सडकमानव मुक्त बनाउने उसको योजना छ । विसं २०६९ सालमा हेटौडाबाट उक्त अभियान शुरु भएको थियो । आश्रमका २५ शाखामा हाल एक हजार ५६७ वेसहाराहरू आश्रित छन् । हालसम्म उसले २ हजार ४६२ लाई पारिवारिक पुनर्मिलन गराइसकेको छ छ । कष्टकर अवस्थामा पुगेको ६५० जनाको आश्रममा निधन भएको छ । यस्तै विभिन्न कारणले सडकमा पुगेका २ हजार ८० जनालाई समुदायमा नै फर्काइएको अभियन्ता घिमिरेले जानकारी दिए । रासस