काठमाडौं – माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि मंगलबार उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । निर्वाचन आयोगका अनुसार सम्बन्धित प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ताका लागि बिहान १० बजेदेखि ३ बजे सम्मको समय तोकिएको छ ।


ADVERTISEMENT


पुस २१ गते उम्मेदवारीमा दाबी विरोधको उजुरी दिने, २२ र २३ गते उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने, २४ गते उम्मेदवारले नाम फिर्ता लिने र २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ । सोही दिन उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने छ । आगामी माघ १२ गते तोकिएको मतदान केन्द्रमा बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुने आयोगले जनाएको छ ।


ADVERTISEMENT

# # #


आगामी फागुनमा रिक्त हुने २० राष्ट्रिय सभा सदस्यमध्ये १९ पदका लागि निर्वाचन हुँदैछ । नेकपा (एमाले)का आठ, नेकपा (एकीकृत समाजवादी)का चार, नेकपा (माओवादी केन्द्र)का चार र नेपाली कांग्रेसका तीन राष्ट्रियसभा सदस्यको पदावधि सकिँदैछ । सदस्यको पदावधि समाप्त हुन ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ । उक्त निर्वाचनमा नौ राजनीतक दलले सबै प्रदेशमा र तीन दलले प्रदेश विशेषमा मात्र भाग लिनेछन् ।

आयोगका अनुसार, नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, नेपाल लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल परिवार दलले सबै प्रदेशमा भाग लिनेछन् । लोकतान्त्रिक समाजवादी पार्टी प्रदेश नं दुई र सुदूर पश्चिम प्रदेश, नेपाल मजदुर किसान पार्टीले वाग्मती र ऐतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपालले प्रदेश नं २ मा मात्र भाग लिने जानकारी दिइएको छ ।

निर्वाचनका लागि यसअघि नै निर्वाचन अधिकृतको नियुक्ति तथा मतदानस्थल र मतदान केन्द्र तोकिसकिएको छ । निर्वाचनका लागि प्रदेशसभा सदस्य तथा पालिका प्रमुख र उपप्रमुख गरी दुई हजार २५ मतदाता कायम छन् । निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र पालिका प्रमुख तथा उपप्रमुखको मतभार १८ हुनेछ । निर्वाचनमा स्थानीय तहका एक हजार ४९३ र प्रदेशसभाका ५३२ मतदाता रहनेछन् । निर्वाचनबाट सात महिला, तीन दलित, दुई अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र सात अन्य समूहका उम्मेदवार निर्वाचित हुनेछन् ।

प्रबुद्ध वर्गको प्रतिनिधित्व रहने ५९ सदस्यीय राष्ट्रिय सभाका एक तिहाइ सदस्य प्रत्येकको दुई वर्षमा पदावधि समाप्त हुने संवैधानिक व्यवस्था छ । राष्ट्रिय सभा सदस्यको पदावधि ६ वर्ष भए पनि पहिलोपटक गोलाप्रथाद्वारा कार्यकाल निर्धारण गरिएको थियो । निर्वाचन चिह्न प्रदान भएसँगै निर्वाचन आचारसंहिता सबैका लागि लागू गराउने आयोगले योजना बनाएको छ ।