काठमाडौं – नेपाली कांग्रेसको १२ औँ महाधिवेशन सकिएको ३ साता पनि बित्न नपाउँदै पार्टीमा फेरि गुटबन्दी शुरु भएको छ।


ADVERTISEMENT


महाधिवेशनपछि कांग्रेस एकढिक्का हुने र गुटका भेला नहुने पार्टीका पदाधिकारीले भनेका वाक्य टुंगीन नपाउँदै आज (बुधबार) डा शेखर कोइराला गुटको बैठक बसेको छ । राजधानीको एउटा होटलमा बसेको बैठकमा महाधिवेशनमा जितेका र हारेका नेताहरूको उपस्थिति थियो ।


ADVERTISEMENT

# # #


कोइराला पक्षबाट महामन्त्रीमा सर्वाधिक मत ल्याएर निर्वाचित गगनकुमार थापा र उपसभापतिमा विजयी धनराज गुरुङ पनि बैठकमा सहभागी भए । यसैगरि उपाध्यक्ष र महामन्त्रीमा पराजित उम्मेदवार डा चन्द्र भण्डारी र डा मीनेन्द्र रिजाल पनि सहभागी थिए ।

पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्यमा कोइराला पक्षका नेतालाई छाडेर मनोनयन गरेपछि आफ्नो समूहलाई बाइपास गरिएको भन्दै कोइराला समूह असन्तुष्ट छ । देउवाले अहिलेसम्म दुई पटक गरेर १३ जना केन्द्रीय सदस्य मनोनीत गरिसक्दा कोइराला समूहका एक जना पनि परेका छैनन् ।

पहिलो पटक वरिष्ठ नेता रामचन्द्र पौडेलसहित विमलेन्द्र निधि, विजयकुमार गच्छदार, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा प्रकाशशरण महत, डा। नारायण खड्का, सुजाता कोइराला, उमा रेग्मी र मीनबहादुर विश्वकर्मालाई देउवाले केन्द्रीय सदस्य मनोनीत गरेका थिए ।

त्यसको भोलिपल्टै जीवनबहादुर शाही, प्रदीप पौडेल र कल्याणकुमार गुरुङलाई पनि देउवाले केन्द्रीय सदस्य मनोनीत गरेका थिए । पार्टी सभापतिले मनोनीत गर्ने ३३ जनामध्ये अझै २० जना मनोनीत गर्न बाँकी छ ।

पदाधिकारीमा पराजित नेताहरूलाई देउवाले समेट्दा आफ्नो समूहलाई पन्छाएको कोइराला पक्षको आरोप छ । पछिल्लो समय सभापति देउवाले राष्ट्रियसभा सदस्यको उम्मेदवार तय गर्दा पनि कोइराला समूहसँग छलफल गरेका थिएनन् ।

पछिल्लो समयको गतिविधिले सभापति देउवा आफूविरोधी समूहलाई पेलेरै अघि बढ्ने संकेत देखिएकोले उनीमाथि दबाब बढाउने कसरतमा कोइराला समूह पुगेको छ ।

आजको बैठकमा डा कोइरालाले सभापतिको ‘लाइक’ र डिस्लाइक’ का आधारमा व्यक्ति छनोट गरिए दुर्घटना हुने चेतावनीसमेत दिए।

सभापतिले केन्द्रीय सदस्यमा मनोनयन गरेका नेता योग्य र सक्षम भए पनि कुन मापदण्डका आधारमा छानिएको हो भन्नेमा आफूहरूले जवाफ खोजिरहेको उनको भनाइ थियो।

‘पार्टीमा सभापतिज्यूले केही साथीहरूलाई केन्द्रीय सदस्यमा नियुक्त गर्नुभएको छ। सबै योग्य र सक्षम हुनुहुन्छ,’ भेलामा उनले भने, ‘तर के मापदण्ड बनाएर यो काम गर्नुभएको होरु हामी जान्न चाहन्छौं ।’

महामन्त्री थापाले आउने चुनावमा कांग्रेसको एक्लै बहुमत ल्याउनुपर्छ भन्ने सभापतिले पार्टीभित्रको ४० प्रतिशत शक्तिलाई उपेक्षा गरेको आरोप लगाए । उनले आगामी चुनावमा कांग्रेसले वडादेखि केन्द्रसम्म एक्लै चुनाव लडेर बहुमत ल्याउनुपर्छ भन्ने आफ्नो समूहको धारणा रहेको समेत बताए ।

महामन्त्री थापाले विधि र विवेकको परीक्षामा समेत सभापति देउवा कमजोर देखिएको आरोप लगाए । पार्टीभित्र गुटबन्दी नगर्ने र भागबन्डाको पक्षमा नजाने अडानमा रहेका कोइराला समूहका नेताहरू नै छुट्टै बैठक गर्दै घुमाउरो तरिकाले भागबन्डा हुनुपर्ने मागमा उत्रिएको आजको गुट भेला ले देखाउँछ।

कोइराला समूहले मंगलबार पनि आफूनिकट नेताहरूको भेला गरेको थियो । यता देउवा समूहका एक नेताले सभापतिको बचाउ गरेका छन्।

कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री महेन्द्र यादवले सभापति देउवाले गुटगत आधारमा काम नगरेको दाबी गरेका छन्। रिपोर्टर्स क्लबमा भएको एक कार्यक्रममा उनले पार्टीभित्र गुटगत किचलो गर्न नहुने धारणा व्यक्त गरे । डा कोइरालाले बोलाएको बैठकको कुनै आवश्यकता नभएको उनको टिप्पणी थियो ।